साप्ताहिक संवाददाता
हामीले आफ्नो अधिकार र स्वतन्त्रतामा मात्र केन्द्रित हुनुको साटो यदि हामी आफ्नो कर्तव्य र जिम्मेवारीमा केन्द्रित भयौं भने हामीले यो विश्वलाई अझ राम्रो बनाउन सक्छौं, यो विषयमा तपाईंको विचार के छ ? भन्ने निर्णायक प्रश्नको सबैभन्दा उत्कृष्ट उत्तर दिएसँगै प्रतियोगी नम्बर–६ काठमाडौंकी २३ वर्षीया अनुष्का श्रेष्ठले नयाँ मिस नेपाल वर्ल्ड–२०१९ बन्ने गौरव प्राप्त गरिन् ।
मे ९ तारिख अर्थात् वैशाख २६ गते बिहीबार सिल्भर जुब्ली संस्करणको मिस नेपालको ग्रान्ड फिनालेमा गत वर्षकी विजेता श्रृङ्खला खतिवडाको उत्तराधिकारीका रूपमा मिस नेपाल वर्ल्ड–२०१९ छानिएकी अनुष्काले प्रतियोगितामा द काठमान्डु पोस्ट मिस इन्टिलेक्चुयल तथा यामाहा फेस अफ फासिनोको एवार्डसमेत आफ्नो नाममा सुरक्षित गरिन् । अनुष्का मिस नेपाल ओसियाना–२०१८ पनि हुन् ।
प्रतियोगितामा काठमाडौंकी २३ वर्षीया प्रदिप्ता अधिकारीले मिस नेपाल युनिभर्स–२०१९ को उपाधि जितेकी थिइन् । उनलाई मिस नेपाल युनिभर्स–२०१८ मनिता देवकोटाले ताज पहिर्याइदिएकी थिइन् । मिस नेपाल युनिभर्स–२०१९ को उपाधिसँगै प्रदिप्ता प्रतियोगितामा गोल्डस्टार मिस एथ्लिट तथा एनम्याग मिस ट्यालेन्ट अवार्ड विजेता पनि भइन् । मिस नेपाल अर्थ–२०१९ को उपाधि जित्न सफल भइन्— काठमाडौंकी २३ वर्षीया रिया बस्नेत । उनलाई गत वर्षकी मिस नेपाल अर्थ प्रिया सिग्देलले विजेताको ताज पहिर्याइदिएकी थिइन् । रिया बिआइपी मिस पपुलर च्वाइससमेत घोषित भएकी थिइन् ।
प्रतियोगितामा मिस नेपाल इन्टरनेसनल–२०१९ छानिइन्— भक्तपुरकी २३ वर्षीया मीरा कक्षपती । उनलाई गत वर्षकी मिस नेपाल इन्टरनेसनल रोनाली अमात्यले ताज पहिर्याइदिएकी थिइन् । मीराले लिभन मिस ब्युटीफुल हेयरको उपाधिसमेत प्राप्त गरिन् । यसैगरी काठमाडौंकी २१ वर्षीया रोज लामा मिस नेपाल सुप्रानेसनल–२०१९ की विजेता भइन् । उनले गत वर्षकी मिस नेपाल सुप्रानेसनल महिमा सिंहबाट विजेताको ताज पहिरिन् । रोजले क्रिएटिभ डी स्टुडियो मिस फोटोजेनिक तथा बर्जर मिस ग्ल्यामरको एवार्डमा पनि बाजी मारिन् । यी विजेताहरूले २०१९ को संस्करणको मिस युनिभर्स, मिस अर्थ, मिस इन्टरनेसनल तथा मिस सुप्रानेसनलमा नेपालको प्रतिनिधित्व गर्नेछन् ।
सन् १९९४ सेप्टेम्बर २० मा प्रज्ञा भवनको डबलीबाट प्रारम्भ भएको मिस नेपालले यो वर्ष अर्थात् सन् २०१९ मे ९ तारिखमा आइपुग्दा २५ वर्ष पूरा गरेको छ । मिस नेपाल आयोजनाको रजत जयन्ती वर्ष भएकाले यो वर्षको मिस नेपाल आयोजनाको तयारी, मेकिङ तथा प्रस्तुतीकरण विगतको तुलनामा केही फरक रह्यो ।
आयोजना स्थल
मिस नेपाल आयोजनाको रजत जयन्ती वर्ष भएकाले यो वर्षको मिस नेपाल बिलकुलै नयाँ ठाउँमा सञ्चालन गरियो । यसअघिका वर्षहरूमा काठमाडौंको कमलादीस्थित प्रज्ञा भवन, नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मलेन केन्द्र, सुन्धारास्थित आर्मी अफिसर्स क्लब तथा दरबारमार्गस्थित होटल डेला अन्नपूर्णको प्रांगण मिस नेपालका विभिन्न संस्करण सम्पन्न गरिएका थिए । यस पटकको ग्रान्ड फिनालेको गन्तव्य थियो— कीर्तिपुरस्थित ल्याबोरेटरी उच्च माध्यमिक विद्यालयको प्रांगण । विशेष निमन्त्रणा, मिडियाबाहेक यस पटकको ग्रान्ड फिनाले अवलोकनका लागि ३ हजार तथा २ हजारका दुई थरी प्रवेश शुल्क राखिएको थियो ।
हाइटेकको उपयोग
मिस नेपालको अघिल्लो संस्करणका तुलनामा यस पटकको संस्करणमा सञ्चार प्रविधिको व्यापक प्रयोग देख्न पाइयो । टिकटकै लागि मोबाइल बैंकिङ र ई–सेवाको प्रयोग गरियो भने लिभन मिस ब्युटिफुल हेयर–२०१९ छनौटका लागि लिभन लाइफ एपमार्फत भोटिङको व्यवस्था गरिएको थियो । बिआइपी मिस पपुलर च्वाइस–२०१९ छनौटका लागि बीआइपी मेसेजिङ एप मार्फत् भोटिङ गर्नुपर्ने व्यवस्था गरिएको थियो । यसैगरी बर्जर मिस ग्ल्यामर–२०१९ को छनौटमा फेसबुक पेजमार्फत लाइक, सेयर तथा कमेन्ट्सका आधारमा भोटिङ गर्ने व्यवस्था मिलाइएको थियो । यसैगरी फेस अफ फासिनो एवार्डको छनौटमा पनि फेसबुक पेज मार्फत् लाइक, शेयर तथा कमेन्ट्सका आधारमा भोटिङ गर्ने व्यवस्था गरिएको थियो ।
यसरी सञ्चालन भयो ग्रान्ड फिनाले
गत बिहीबार घडीको सुईले साँझ साढे ७ बजेको संकेत दिएसँगै कीर्तिपुरस्थित ल्याबोरेटरी उच्च माध्यमिक विद्यालयको प्रांगणमा सजाइएको मञ्चमाथिको मुख्य एलइडी ब्याकड्रपमा मिस नेपाल प्रतियोगिताको थालनी देखि हालसम्मको मुख्य अंशलाई समेटेर तयार पारिएको श्रव्य दृष्य प्रस्तुत भयो । त्यसलगत्तै वर्ष २०१८ सम्मका मिस नेपालहरू स्टेजमा देखा परे । जसमा पूर्व मिस नेपालहरू उषा खड्गी, माल्भिका सुब्बा, सुगरिका के.सी., जेनिशा मोक्तान, सदिक्षा श्रेष्ठ, मलिना जोशी, ईशानी श्रेष्ठ, इभाना मानन्धर, अश्मि श्रेष्ठ तथा श्रृङ्खला खतिवडा थिए ।
पहिलो चरणमा डिजाइनर सुष्मा सिंहले तयार पारेको सुनौलो रंगको वन् पिस नी लेन्थमा सजिएका मिस नेपाल–२०१९ का २५ जना प्रतिस्पर्धी मञ्चमा ६–६ जनाको सेटमा देखिए । एलइडी ब्याकड्रप दौडिएको आ–आफ्नो दृश्य तथा पृष्ठभूमिमा सुनिएको प्रि–रिकर्डेड परिचयात्मक कन्टेन्टसँगै सबै जना प्रतिस्पर्धीले आकर्षक हावभाव प्रस्तुत गरे । दोस्रो चरणमा सहभागिहरूले आफूलाई नटराज बुटिकले तयार पारेको सिंगल शेडका मनमोहक साडीमा प्रस्तुत गरे । त्यसपछि मिस नेपालको ग्रान्ड फिनाले पूर्व सञ्चालित विभिन्न प्रतिस्पर्धा तथा प्रि–जजिङको मूल्यांकनका आधारमा उत्कृष्ट १४ को घोषणा गरियो ।
उत्कृष्ट १४ मा सोफिया भुजेल, रोज लामा, रक्षा उप्रेती, शुभेच्छा अधिकारी, नितिका कर्माचार्य, जेनी महर्जन, शिवानी घिमिरे, प्रथा अधिकारी, अनुष्का श्रेष्ठ, प्रदिप्ता अधिकारी, निशा पाठक, मीरा कर्माचार्य, नेन्सी बोगटी तथा रिया बस्नेत परेका थिए । त्यसपछि उनीहरूसित पालैपालो मौखिक प्रश्नोत्तर राउन्ड सञ्चालन भयो ।
प्रतियोगिताको अन्तिम चरणमा उत्कृष्ट सात फाइनलिस्टको नाम घोषणा गरियो, जसमा टप सेभेन सुन्दरीहरू डिजाइनर मनिश राईले तयार पारेको सुन्दर तथा आकर्षक डिजाइनको इभिनिङ गाउनमा प्रस्तुत भए । कार्यक्रमको प्रमुख निर्णायक इला शर्माको निर्णायक प्रश्नको सामना गर्न चयन भएका सुन्दरीहरूमा अनुष्का श्रेष्ठ, रक्षा उप्रेती, रोज लामा, प्रदिप्ता अधिकारी, सोफिया भुजेल, रिया बस्नेत तथा मीरा कक्षपति रहे । हरेक सुन्दरीले पालैपालो निर्णायक प्रश्नको मौखिक उत्तर दिए । उनीहरूले दिएको उत्तरकै आधारमा अन्ततः मिस नेपाल–२०१९ को घोषणा गरियो ।
राति करिब पौने ११ सम्म चलेको यो प्रतियोगिताका उत्कृष्ट पाँच ताजधारीमध्ये अनुष्का, प्रदिप्ता र रोजले दुई–दुईवटा सब–टाइटल पनि प्राप्त गरे भने रिया र मीराले एक–एकवटा सबटाइटल आफ्नो नाममा सुरक्षित गरे । समग्रमा १२ वटा सबटाइटल रहेको फाइनलमा अन्य सब टाइटलमध्ये निशा पाठक मिस कन्फिडेन्ट, नितिका कर्माचार्य ब्युटि विथ पर्पस, न्यान्सी बोगटी मिस फ्रेन्डसिप तथा जेनी महर्जन मिस बेस्ट नेचुरल स्किन एवार्डको हकदार भए ।