साप्ताहिक संवाददाता
धुर्मुस–सुन्तली फाउन्डेसनको संयोजनमा जनस्तरबाट निर्माण हुने ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण अभियानका लागि खेलकुद समिति गठन गरिएको छ । तेक्वान्दो खेलाडी दीपक विष्टको संयोजनमा उक्त १३ सदस्य समिति गठन गरिएको हो भने चार जना सदस्य तथा खेलकुदसँग सम्बन्धित संघसंस्थाका अध्यक्षहरू पदेन सल्लाहकार रहने गरी सल्लाहकार समितिसमेत गठन भएको छ ।
सल्लाहकारमा कीर्तिमानी धावक बैकुण्ठ मानन्धर, नेपाली फुटबलका पूर्वकप्तान राजु शाक्य, नेपाल क्रिकेट संघका पूर्वसिईओ भावना घिमिरे एवं राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक जगत टमाटा छन् । त्यसका साथै यो अभियानको सद्भावना दूत राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का तथा राष्ट्रिय खेलाडी सन्दिप लामिछाने छानिएका छन् । देशैभरि रङ्गशाला निर्माणको अभियान चलिरहेका बेला खेलाडीहरूको समेत उपस्थिति रहने गरी उक्त समिति गठन गरिएको बताइएको छ । समितिमा देशका चर्चित तथा अनुभवी खेलाडी तथा संघसंस्थाहरूलाई समावेश गरिएको संयोजक विष्टले जानकारी दिएका छन् ।
खेलकुद समितिमा हरि खड्का (फुटबल), संगीना वैद्य (तेक्वान्दो), भरत शाह (भलिबल), विनोद दास (क्रिकेट), गौरिका सिंह (पौडी), दीपक श्रेष्ठ (कराँते), रुबिना क्षेक्री (त्रिकेट), सरस्वती चौधरी (भलिबल), दीपक महर्जन (बक्सिङ), महेश्वर महर्जन (बडी विल्डिङ), सावित्री भण्डारी ‘साम्बा’ (फुटबल), अनिल गुरुङ (फुटबल) तथा छुम्बी लामा आदिको सहभागिता रहेको संयोजक विष्टले बताएका छन् ।
‘धुर्मुस–सुन्तली आफ्नो कार्यक्षेत्र छोडेर हाम्रा लागि स्टेडियम र खेलकुद हव बनाउन लाग्नुभएको छ, हामीले पनि आफ्ना तर्फबाट केही गर्न सकिन्छ र गरौं भन्ने हेतुले समिति गठन गरेका हौं,’ संयोजक विष्टले भने, ‘यो समिति सक्रिय रूपमा विभिन्न अभियान चलाउँदै अघि बढ्नेछ, विभिन्न ठाउँबाट सबैले सहयोग र साथ दिनुहुनेछ भन्ने कुरामा आशावादी छौं ।’
रङ्गशाला निर्माणका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरबाटै अर्थ संकलन गर्नुपर्ने कप्तान पारस खड्काले बताए । ‘हाम्रै लागी चलिरहेको यो अभियानसँग जोडिन पाउँदा निकै खुसी छु,’ उनले भने, ‘मैले सुरुदेखि नै फाउन्डेसनलाई सहयोग गरिरहेको छु, अझ यो जिम्मेवारीले थप सहयोग गर्न र नेपाललाई विश्वमा चिनाउन मैले र हाम्रो पूरा टिमले सक्दो सहयोग गर्नेछ ।’