मिस नेपाल वर्ल्ड–२०१९ को उपाधि विजेता अनुष्का श्रेष्ठ काठमाडौंकी स्थानीय बासिन्दा हुन् । विगत पाँच वर्षदेखि अस्ट्रेलियामा बसोबास गर्दै आएकी अनुष्का मिस नेपालमा सहभागिता जनाउनकै लागि काठमाडौं आएकी थिइन् । ५ फिट ५ इन्च अग्ली २३ वर्षीया अनुष्काले मिस नेपालको उपाधिसँगै आगामी डिसेम्बरमा थाइल्यान्डमा आयोजना हुने मिस वर्ल्ड–२०१९ मा नेपालको प्रतिनिधित्व गर्ने अवसरसमेत पाएकी छिन् । प्रतियोगितामा उनले यमाहा मिस फेसिनाको उपाधिसमेत जितेकी थिइन् । ग्रान्ड फिनालेको केही दिनपछि अनुष्काले साप्ताहिकका कृष्ण भट्टराईसँग गरेको कुराकानी :
मिस वर्ल्ड नेपाल–२०१९ को उपाधिलाई कसरी इन्जोय गरिरहनुभएको छ ?
असाध्यै खुसी छु । काँधमा ठूलो जिम्मेवारी आएको महसुस गरिरहेकी छु । नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा सशक्त ढंगले प्रतिनिधित्व गर्नुपर्ने महत्वपूर्ण जिम्मेवारी वहन गर्न आफूलाई तयार पार्दैछु ।
उपाधि प्राप्तिपछिका दिन कसरी बितिरहेका छन् ?
६ हप्ताको व्यस्त सेड्युल अत्यन्त हेक्टिक थियो । अस्ट्रेलियाबाट काठमाडौं आएपछि सोझै मिस नेपालको प्रशिक्षणमा सक्रिय भएकाले साथीभाइ, नाता–गोता कसैसँग भेट भएको थिएन । पछिल्ला दुई–चार दिन सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिन तथा भेटघाटमै बितिरहेको छ ।
अस्ट्रेलियाबाट जुन उद्देश्यले आउनुभएको थियो, त्यो त पूरा भयो नि, होइन ?
मेरा लागि त्यहाँको जागिरे जीवनलाई त्यागेर आफ्नो देश फर्किएर एउटा ठूलो प्रतियोगितामा सहभागिता जनाउने कदम नै ठूलो थियो । कुनै पनि प्रतियोगितामा सहभागिता जनाएपछि सफल हुने अपेक्षा हरेकको हुन्छ, मेरो पनि थियो । आफूले चिताएको कुरा पूरा भएकोमा अत्यन्त खुसी छु ।
प्रशिक्षणका क्रममा के कुरामा बढी ध्यान दिनुभएको थियो ?
म सधैं सिक्नका लागि तयार थिएँ । प्रशिक्षणको पहिलो दिन नै हामी सबैलाई आफूमा भएको इगो र एट्टिच्युट हटाउनु भनिएको थियो, मैले त्यही गरें । कामप्रतिको लगावलाई मूल मन्क्र बनाएकी थिएँ ।
त्यसत्रममा बिर्सनै नसक्ने गरी सिकेको कुरा के रह्यो ?
आँट....आँट भन्ने कुरा आफैंले गर्नुपर्ने रहेछ भन्ने सिकें । त्यसबाहेक सेल्फ म्यानेज्मेन्ट गर्नुपर्ने अर्को महत्वपूर्ण कुरा सिकें । तेस्रो कुरा समयलाई कसरी व्यवस्थापन गर्नुपर्ने रहेछ भन्ने जानें । हामीले २४ घण्टा भित्र के–के गर्न सक्ने रहेछौं भन्ने कुरा मलाई थाहा थिएन । हामीले चाह्यौं भने छोटो समयमै पनि धेरै काम गर्न सक्ने रहेछौं भन्ने कुरा यही प्रशिक्षणका क्रममा थाहा पाएँ । आफ्नो समयको सदुपयोग गर्न सके हरेक व्यक्ति हरेक क्षेत्रमा सफल हुन सक्छ भन्ने गुरुमन्त्र पनि सिकें ।
ग्रान्ड फिनालेको दिनको तयारी कस्तो थियो ?
आयोजक द हिडन ट्रेजरका सदस्य सुवर्ण क्षेत्रीले ग्रान्ड फिनालेको दिन बिहान हामी सबैलाई एउटा गुरुमन्त्र दिनुभएको थियो– ‘म यसलाई हराएर जित्छु भन्ने नसोच, केवल म जित्छु भन्ने मात्र सोच ।’ मैले त्यही कुरा मनमा लिएँ र त्यसैलाई मूलमन्त्र बनाएर ग्रान्ड फिनालेमा सहभागी भएँ । त्यही मन्त्रले पनि मलाई विजयी हुन सहयोग पुर्याएजस्तो लागिरहेको छ ।
मिस नेपाल वर्ल्डको उपाधिसँगै मिस वर्ल्ड–२०१९ को तयारी कहिलेदेखि थाल्दै हुनुहुन्छ ?
यसपटकको मिस वर्ल्ड–२०१९ डिसेम्बर ७ का दिन थाइल्यान्डमा हुँदैछ । मिस नेपाल वर्ल्डका रूपमा नेपालको प्रतिनिधित्व गर्दै त्यहाँ सहभागिता जनाउन सामान्य तयारी त प्रारम्भ गरिसकेकी छु । त्यसका लागि सर्वप्रथम अघिल्लो वर्षकी मिस वर्ल्ड नेपाल श्रृंखला खतिवडासँग धेरैभन्दा धेरै जानकारी लिइरहेकी छु । उहाँले मिस वर्ल्डको मुख्य प्रतिस्पर्धा ब्युटी विद द पर्पस हुनेछ भन्नुभएको छ । मैले उक्त प्रोजेक्टलाई उत्कृष्ट बनाउने विषयमा रिसर्च थालिसकेकी छु । त्यसबाहेक अर्को सातादेखि हिडन ट्रेजरले तालिका नै बनाएर हाम्रा लागि ग्रुमिङ क्लास सञ्चालन गर्दैछ । पहिरन, नृत्य तथा ट्यालेन्ट शोमा प्रस्तुत गरिने सामग्रीहरू त्यसपछि तयार पार्नेछु ।
ब्युटी विद द पर्पसका लागि के गर्ने योजना छ ?
म लामो समय विदेशमा बसेर स्वदेश फर्किएकी हुँ । अहिले पनि प्रत्येक वर्ष लाखौं युवा–युवतीहरू अध्ययनका लागि विदेश जानै पर्ने बाध्यता छ । धेरैभन्दा धेरै नेपाली विदेशमा रहँदा नेपालमा बस्ने नेपाली तथा विदेशमा बस्ने नेपालीहरूबीच एक प्रकारको दूरी बढेको अनुभव गर्दैछु । म आफ्नो प्रोजेक्टमार्फत विदेशमा बस्ने नेपालीको नेपालप्रतिको माया–प्रेमलाई झल्काउने मात्र छैन, अहिले बढिरहेको दुरीलाई घटाउने प्रयास समेत गर्नेछु ।
अस्ट्रेलियामै छँदा मिस नेपाल ओसियाना पनि जित्नुभएको रहेछ ?
हो, गत वर्षको डिसेम्बरमा अस्ट्रेलियामा सम्पन्न उक्त प्रतियोगितामा मैले सहभागिता जनाएर उपाधि नै जितेकी थिएँ । त्यही उपाधिले मलाई मिस नेपाल वर्ल्ड–२०१९ सम्म ल्याइपुर्याएको हो ।
मोडलिङमा रुचि नै नभएको व्यक्तिले पहिलो प्रयासमै कसरी सफलता पाउनुभयो ?
मैले भने नि, मेरो मेहनत र प्यासनले नै मलाई सफल बनाएको हो । मलाई त राम्रोसँग हिँड्न समेत आउँदैनथ्यो । मेरो घर परिवार तथा साथीभाइहरूले म हिँडेको बलिउडका अभिनेता सञ्जय दत्त हिँडेजस्तो लाग्छ भनेर जिस्क्याउनुहुन्थ्यो । यद्यपि, प्रशिक्षणले मेरो हिंडाइमा मात्र होइन, धेरै कुरामा सुधार ल्याइदियो । सिक्यो भने के हुँदो रहेनछ भन्ने कुराको ज्वलन्त उदाहरण म स्वयं हूँ । मिस नेपाल वर्ल्डको ग्रान्ड फिनालेमा मेरो क्याटवाक देखेर मेरै परिवारका सदस्यहरू दंग पर्नुभएको थियो ।
मिस नेपालको कार्यकालपछि पुनः अस्ट्रेलिया फर्कने कि नफर्कने ?
मैले स्नातक तहसम्मको अध्ययन मात्र पूरा गरेकी छु । एमबीए गर्नै बाँकी छ । मलाई अस्ट्रेलियाको शिक्षा मन पर्छ । त्यसैले अध्ययन पूरा गर्न मात्र भए पनि अस्ट्रेलिया फर्कन्छु ।
तपाईं कत्तिकी राम्री ?
मलाई देखेर मानिसहरू खुसी हुन्छन् जस्तो लाग्छ । अहिले तपाईं पनि मलाई हेरेर मुस्कुराइरहनुभएको छ । त्यसैले म राम्री नै छु जस्तो लाग्छ । वास्तवमा म बाहिरबाट हेर्दा राम्री छु भन्दा पनि म भित्रबाट आउने भाइब्स राम्रो छ ।
आफूमा सुधार गर्नुपर्ने कुरा के देख्नु हुन्छ ?
सुधार्नुपर्ने कुरा त धेरै छन् । पहिलो कुरा त म खुसी हुन सिक्दैछु । कुनै पनि काम गर्ने क्रममा अझ बढी गर्न सकिन्थ्यो कि भनेर पछुताउने बानी छ, त्यसलाई पनि सुधार्नुपर्नेछ ।
चलचित्रमा आउने सम्भावना कत्तिको छ ?
चलचित्रमा आउने सम्भावना छँदै छैन भन्दा फरक नपर्ला ।
के कुरामा रिस उठ्छ ?
मलाई बोली र व्यवहारमा तालमेल नहुने व्यक्तिहरूसँग रिस उठ्छ । त्यस्तो हुँदा कहिलेकाहीँ आफैंसँग पनि रिस उठ्छ । त्यसबाहेक समयको उचित व्यवस्थापन नगर्नेहरूसँग पनि रिस उठ्छ ।
अघिल्ला मिस नेपालमध्ये कोबाट बढी प्रभावित हुनुहुन्छ ?
प्रायः सबै मिस नेपालले आ–आफ्नो ठाउँबाट राम्रो गर्नु भएको छ । म चाहिँ मिस नेपाल–२०१८ श्रृंखला खतिवडाबाट अत्यन्त प्रभावित छु ।
अन्त्यमा, मिस वर्ल्ड–२०१९ मा तपाईंबाट कस्तो आशा गर्न सकिएला ?
आशामै त संसार टिकेका छ । आशा त गर्नैपर्यो नि । यद्यपि, म पुनः एकपटक के भन्छु भने म कसैलाई बिट गरेर जित्ने कुरामा भन्दा राम्रो पर्फमेन्स दिएर जित्ने कुरामा विश्वास गर्छु ।