साप्ताहिक संवाददाता
संसारभर मोडल, अभिनेतृ तथा अभिनेताका ठूला अनि आकर्षक तस्बिर म्यागजिन तथा साप्ताहिक पत्रपत्रिकाहरूका शोभा बनिरहेका हुन्छन् । पत्रपत्रिका र म्यागजिनमा छापिएका ठूला आकर्षक तस्बिर पाठकहरूको मनोरन्जनका प्रमुख खुराक त हुन् नै, साथै म्यागजिनका कभर तथा पत्रपत्रिकाका ब्लोअपमा छाउनेहरूले मोडलिङ, चलचित्र, विज्ञापन तथा म्युजिक भिडियोमा अवसर र चर्चा पनि उत्तिकै पाउँछन् ।
रजत वर्षमा प्रवेश गरेको नेपालकै पहिलो ‘इन्फोटेन्मेन्ट’ पत्रिका साप्ताहिक विगत २४ वर्षदेखि मोडल तथा अभिनेतृहरूका आकर्षक तस्बिर आफ्नो मध्यपृष्ठमार्फत पाठकहरूसमक्ष प्रस्तुत गर्दै आएको छ । सुन्दरीहरूसँग प्रतिस्पर्धा गर्दै थोरै सही केही आकर्षक अभिनेता, खेलाडी एवं मोडल पुरुषहरूले पनि साप्ताहिकको ब्लोअपमा स्थान पाउँछन् । त्यही कारण हो, विगत २४ वर्षदेखि नै ब्लोअप साप्ताहिकको प्रमुख आकर्षक रहँदैं आएको छ । साप्ताहिकले हरेक अंक आकर्षक र फरक तस्बिर प्रकाशन गर्ने प्रयास गर्दै आएको छ ।
फोटोग्राफी, मेकअप, पोज, लोकेसन, पहिरन, डिजाइन आदिका दृष्टिले अंकैपिच्छे नयाँ काम गर्ने हुटहुटीले नै हुनुपर्छ, बजारमा साप्ताहिकको ब्लोअपको फरक स्तरीयता, पहिचान एवं आकर्षण छ । पाठकहरूको मनोरन्जनको खुराक त एकातिर छ, अर्कातिर मनोरन्जनमा करिअर निर्माण गर्न चाहनेहरूका लागि पनि साप्ताहिकको मध्यपृष्ठ पहिलो खुड्किला बन्ने गरेको छ । सम्पादकीय टिमको छनौट तथा उत्कृष्ट फोटोग्राफरको लेन्सको कमालमा साप्ताहिकको हरेक अंकको ब्लोअप सुन्दर, आकर्षक एवं ग्ल्यामरस रूपमा प्रस्तुत हुँदै आएको छ । हामीले हरेक ब्लोअपमा पात्रहरूको छनौट, फोटोग्राफी, सुन्दरता तथा ग्ल्यामरलाई विशेष जोड दिँदै आएका छौं । त्यसैले साप्ताहिकका हरेक ब्लोअप सुन्दरी पाठकका लागि आकर्षणको केन्द्र बन्छन् ।
टप १२ ब्लोअप सुन्दरी छनौट
साप्ताहिकले आफ्नो वार्षिकोत्सव अंकमा वर्षभरिका १२ उत्कृष्ट ब्लोअप छान्ने प्रचलन छ । जुन प्रचलनलाई यस पटक पनि निरन्तरता दिइएको छ । साप्ताहिकले आफ्नो २४ औं वर्षमा ५० वटा ब्लोअप प्रकाशन गरेको थियो । जसमा फ्रेस मोडलदेखि स्थापित अभिनेत्रीसम्मले स्थान पाए । त्यसक्रममा सुन्दरीहरूलाई टक्कर दिदैं अभिनेता प्रदीप खड्काले एकल ब्लोअपमा स्थान बनाए भने अर्का चकलेटी अभिनेता अनमोल केसी प्रियंका एमभीसँगको संयुक्त ब्लोअपमा देखा परे । प्रदीपले १८ औं अंकमा ब्लोअपमा स्थान बनाएका थिए भने अनमोलले ३७ औं अंकको संयुक्त ब्लोअपमा स्थान पाए ।
यस्तै, अर्का अभिनेता गौरव पहाडी अभिनेत्री मेनुका प्रधानसँगको ब्लोअपमा प्रस्तुत भए ।
हास्यकलाकारहरू वुद्धि तामाङ र शिवशंकर रिजालले १५ औं अंकको गाईजात्रे पोष्टरमा अभिनेत्री दीपिका प्रसाईसँग ब्लोअप फोज दिए । यस क्रममा गत वर्ष ४२ वटा सिंगल तथा ९ वटा संयुत्त ब्लोअप प्रकाशन भएका थिए । वर्षभरिका ५० वटा ब्लोअपबाट साप्ताहिकको सम्पादकीय टिमको भोटिङका आधारमा उत्कृष्ट १२ ब्लोअप सुन्दरी छानिएको छ । उत्कृष्ट ब्लोअपमध्ये ११ वटा साप्ताहिकका फोटो पत्रकार महेश प्रधानले खिचेका हुन भने १ वटा फोटो ग्ल्यामरस फोटोग्राफर सुरज श्रेष्ठले खिचेका हुन् ।
श्रद्धा क्षेत्री
चलचित्र ‘हृदयभरि’बाट डेब्युको तयारीमा रहेकी सुन्दर मोडल श्रद्धा क्षेत्रीको ब्लोअप यस पटक पहिलो स्थानमा रहन सफल रह्यो । कोलकातामा बसेर मोडलिङमा सक्रिय श्रद्धाको स्थायी घर आरुबारी, काठमाडौं हो । उनको लेहेङगा सजिएको ब्लोअप साप्ताहिकको गत वर्षको १४ औं अंकमा छापिएको थियो । उक्त ब्लोअप दरबारमार्गको शेर्पा मलमा स्थित हेडलाइट स्पोर्टबारमा खिचिएको थियो । वुमन्स प्लानेट घण्टाघरको पहिरनमा खिचिएको उक्त ब्लोअपका लागि डी भान युनिसेक्स सलुन, दरबारमार्गको श्रृंगार थियो । १९ वर्षीया श्रद्धा ५ फिट ४ इन्च अग्ली छन् । मिडिया साइन्समा स्नातक गरिरहेकी श्रद्धाको रुचि गायन तथा अभिनयमा छ ।
साम्राज्ञी राज्यलक्ष्मी शाह
छोटो समयमै जबरजस्त स्डारडम हासिल गर्ने अभिनेत्री हुन्— साम्राज्ञी राज्यलक्ष्मी शाह । चलचित्र ‘ड्रिम्स’बाट ड्रिम गर्लका रूपमा रजतपटमा डेब्यु गरेकी साम्राज्ञी अहिलेकी महंगी अभिनेत्रीमध्ये एक हुन् । वीरगन्जमा जन्मिएकी २३ वर्षीया साम्राज्ञी ५ फिट ५ इन्च अग्ली छिन् । अहिलेकी व्यस्त अभिनेत्री साम्राज्ञीको सेक्सी फिगर तथा आकर्षक शारीरिक लुक विशेष चर्चाको विषय रहँदै आएको छ । ६ वटा चलचित्रमा अभिनय गरिसकेकी साम्राज्ञीको सम्पदा गार्डेन रिसोर्टमा खिचिएको ब्लोअप छनौटका क्रममा तेस्रो स्थानमा रहन सफल भयो ।
सारा शिर्पाइली
चलकेटी लुक्सकी धनी अभिनेत्री सारा शिर्पाइली त्यस्ती पात्र हुन्, जसको एक वर्षमा दुईवटा ब्लोअप प्रकाशित भएको थियो । उनको एउटा ब्लोअप स्पोर्टी लुकमा थियो भने अर्को ब्लोअपमा उनी पिंक कलरको पार्टी वेयरमा थिइन् । पार्टी वेयरमा खिचिएको फर्मल लुक्सको उनको ब्लोअप धेरैको ध्यान खिच्न सफल रह्यो । त्यही ब्लोअपका कारण उनी साप्ताहिकको उत्कृष्ट ब्लोअपको सूचीको दोस्रो स्थानमा आइन् । काठमाडौंमा जन्मिएर लन्डनमा पढे–बढेकी साराले चलचित्र ‘रुद्र’ बाट रजतपटमा डेब्यु गरेकी हुन् । त्यसपछि उनले पिजडा ब्याक अगेन तथा सुश्री सम्पत्तिमा अभिनय गरिन् । नृत्य एवं गायनमा रुचि राख्ने साराले केही म्युजिक भिडियोमा समेत अभिनय गरेकी छिन् ।
प्रिज्मा खतिवडा/प्रिन्सी खतिवडा
युवापुस्तामाझ छोटो सांगीतिक भिडियोका लागि चर्चित सोसल मिडिया टिकटकबाट चर्चामा बटुल्न सफल चाबहिल, काठमाडौंकी जुम्ल्याहा दिदीबहिनी प्रिज्मा र प्रिन्सी खतिवडाको संयुक्त ब्लोअप पाँचौं स्थानमा रहन सफल भयो । २१ वर्षीया यी दिदीबहिनीको संयुक्त टिकटक एकाउन्ट ट्विन्नी गर्ल्समा ५१ लाख बढी फ्लोअर्स छन् । साप्ताहिकमा फिचर स्टोरी र ब्लोअप प्रकाशित भएपछि अहिले उनीहरू टिकटकबाहेक अरुतिर पनि सेलिब्रेटीको छविमा छन् । खतिवडा दिदीबहिनी अहिले म्युजिक भिडियो तथा विज्ञापनहरूमा समेत व्यस्त हुन थालेका छन् । उनीहरूमध्ये जेठी प्रिज्मा होटल म्यानेजमेन्टमा ब्याचलर्स गर्दैछिन् भने कान्छी प्रिन्सी डिप्लोमा इन एयरपोर्ट ग्राउन्ड अप्रेसनकी विद्यार्थी हुन् ।
वर्षा शिवाकोटी
पछिल्लो पुस्ताकी चर्चित अभिनेत्री हुन्— वर्षा शिवाकोटी । चलचित्र ‘नाइँ नभन्नु ल–२’ बाट नेपाली सिने नगरीमा उदाएकी सीतापाइला, काठमाडौंकी वर्षाले अहिलेसम्म ८ वटा चलचित्रमा अभिनय गरिसकेकी छिन् । बीबीएसम्मको अध्ययन पूरा गरेकी ५ फिट ३ इन्च अग्ली वर्षा अभिनयसँगै सुन्दरताका कारण पनि सधैं चर्चामा रहन्छिन् । पिजे कलेक्सनको पहिरन तथा अम्बु रुचालको मेकअपमा खुलेकी वर्षाको ब्लोअप साप्ताहिकको वर्षको उत्कृष्ट ब्लोअपको चौथो स्थानमा पर्न सफल रह्यो । टाटेपाटे फूल टिसर्ट र हाफ जिन्स पाइन्टमा खिचिएको ठूलो तस्बिर र वान पिसको अर्को सानो तस्बिरसहित प्रकाशित उनको सुन्दर ब्लोअपले पाठकसँगै साप्ताहिकको सम्पादकीय टिमको समेत मन जित्यो ।
उकुषा गिरी
केही म्यागजिनको कभर गर्लका साथै केही विज्ञापनमा देखिएकी मोडल उकुषा गिरीको ब्लोअप पनि वर्षको उत्कृष्ट ब्लोअप बन्न सफल भयो । साप्ताहिकको २४ औं वर्षको अन्तिम अंकमा प्रकाशित उकुषाको फ्लोरियल लङ ड्रेस पिजेज कलेक्सन उपलब्ध गराएको थियो । उकुषाको सुन्दर अनुहारमा सुन्दरताको रंग थप्ने काम मेकअप आर्टिष्ट अम्बु रुचालले गरेकी थिइन् । साप्ताहिकको सम्पादकीय टिमको छनौटमा यो ब्लोअप छैटौ स्थानमा पर्यो । नयाँ बानेश्वर, काठमाडौंमा जन्मिएकी ५ फिट ६ इन्च अग्ली १९ वर्षीया उकुषा स्नातक अध्ययनरत छिन् ।
मलिका महत
नेपाली चलचित्रमा गत वर्ष झन्डै एक दर्जन नयाँ अनुहारले डेब्यु गरे । तीमध्ये सम्भावना बोकेकी अभिनेत्री मलिका महतलाई पनि मानिएको छ । उनको डेब्यु चलचित्र ‘यात्राः अ म्युजिकल भ्लग’ हालै प्रदर्शनमा आएको छ । डेब्यु चलचित्रमै दृष्टिविहीन युवतीको भूमिकामा उनको दमदार अभिनयको चौतर्फी प्रशंसा भयो । काठमाडौंमा जन्मिएर यतै हुर्किएकी स्पाइसी फुडकी पारखी १९ वर्षीया मलिका स्नातक तहमा अध्ययनरत छिन् । ग्ल्यामरस लुक्सकी मलिकाको डाइनिङ पार्क रेस्टुराँ पुरानो बानेश्वरमा खिचिएको ब्लोअप साप्ताहिकको उत्कृष्ट ब्लोअपको सूचीको ८ औं स्थानमा छ ।
सेजल खड्का
विशालनगर काठमाडौंकी सेजल खड्काले साप्ताहिकमार्फत नै मोडलिङमा डेब्यु गरेकी हुन् । प्लस टु सकेकी ५ फिट ७ इन्च अग्ली सेजल १८ वर्षकी भइन् । उनको रुचि फिल्म, म्युजिक भिडियो तथा मोडलिङमा छ । सेजलको रेड लङ वान पिसमा गार्डेनको मेचमाथि पल्टिएको ब्लोअप साप्ताहिकको सम्पादकीय टिमको आँखामा पर्न सफल रह्यो । गोरो तथा आकर्षक अनुहारकी धनी सेजलको उक्त ब्लोअप साप्ताहिकको उत्कृष्ट ब्लोअपको सूचीको ७ औं स्थानमा छ ।
आँचल शर्मा
चाबहिल, काठमाडौंकी २१ वर्षीया आँचल शर्मा पछिल्लो पुस्ताकी चर्चित अभिनेत्री हुन् । गोरो अनुहार तथा आकर्षक जिउडालकी आँचल ५ फिट ५ इन्च अग्ली छिन् । सन् २०१६ मा ‘नाइ न भन्नु ल–४’ बाट सिने नगरीमा डेब्यु गरेकी आँचल सन् २०१५ की मिस प्लस टु पनि हुन् । ५ वटा चलचित्रमा अभिनय गरिसकेकी सोसल वर्ककी स्नातक आँचल खानपिनमा पनि उत्तिकै सौखिन छिन् । साप्ताहिकमा गत वर्ष प्रकाशित उनको ग्रन्च जिन्स पाइन्ट, ग्रन्च जिन्स ज्याकेट तथा कालो टिसर्टको ब्लोअप वर्षको उत्कष्ट ब्लोअपको सूचीको १२ औं स्थानमा पर्न सफल भयो ।
सुपुष्पा भट्ट
चलचित्र ‘रणवीर’बाट नेपाली चलचित्रमा डेब्यु गरेकी हुन्— सुपुष्पा भट्ट । नौबीसे, धादिङकी हंसमुख भट्ट नियमित योग गर्छिन् । ५ फिट ८ इन्च अग्ली २२ वर्षीया सुपुष्पा सिए अध्ययनरत छिन् । अभिनय तथा नृत्यमा रुचि राख्ने भट्ट आगामी दिनमा पनि चलचित्रलाई निरन्तरता दिने सोचमा छिन् । सुपुष्पाको पिंक हुड, ब्ल्याक टाइट जिन्स तथा ब्ल्याकबुटसहितको ब्लोअप साप्ताहिकको छनौटमा ९ औं स्थानमा रह्यो ।
तमन्ना केसी
कान्तिपुर टेलिभिजन तथा कार्टुन्ज क्रूको युट्युब च्यानलबाट प्रसारण भैरहेको वेब सिरिज ‘यु एन्ड आई’ अहिले लोकप्रियताको शिखर उक्लँदैछ । यहि सिरिजबाट अभिनय क्षेत्रमा पदार्पण गर्ने अभिनेत्री हुन्— तमन्ना केसी । पनौती स्थायी बसोबास भएकी २१ वर्षीया तमन्ना ५ फिट ३ इन्च अग्ली छिन् । एक्टिङ र डान्समा रुचि राख्ने केसी चलचित्रमा भविष्य बनाउन चाहन्छिन् । चलचित्र ‘तिमी जहाँ जहाँ’ र ‘जानी नजानी’ मा सानोतिनो भूमिकामा देखा परिसकेकी तमन्ना ठूलो ब्यानरमा अवसरको पर्खाइमा छिन् । तमन्नाको ब्लोअप साप्ताहिकको उत्कृष्ट १२ ब्लोअपको छनौटमा ११ औं स्थानमा छ ।
विशाखा पाण्डे
महाकांल, बौद्धकी १८ वर्षीया विशाखा पाण्डे मोडलिङ, डान्स, म्युजिक तथा ट्राभलिङकी सौखिन हुन् । केही फेसन शो एवं विज्ञापनमा समेत देखिइसकेकी पाण्डे ग्ल्यामरस क्षेत्रमा भविष्य बनाउन चाहन्छिन् । इटालियन फुडकी पारखी ५ फिट ४ इन्च अग्ली १८ वर्षीया विशाखाले प्लस टुसम्मको अध्ययन पूरा गरिसकेकी छिन् । विशाखाको छिरमिरे सर्ट र हाफ जिन्स पाइन्ट लगाएर सोफामा पल्टिरहेको ब्लोअप निकै रुचाइएको थियो । रिफ रेस्टुराँ एन्ड लाउन्ज बार, ठमेलमा खिचिएको उक्त ब्लोअप साप्ताहिकको टिमको उत्कृष्ट ब्लोअपको सूचीको १० औं स्थानमा छ ।