साप्ताहिक संवाददाता
नेपाली धर्तीमा जन्मेर बलिउडमा समेत राज गर्न सफल भएका अभिनेता हुन्, सुनील थापा । यो नामले पाएको सफलता धेरै नेपाली कलाकारले दिनरात देख्ने सपना पनि हो ।
डेढ दर्जन भन्दा धेरै बलिउड चलचित्रमा समेत काम गरिसकेका अभिनेता थापाका केहि बलिउड चलचित्र रिलिजको तयारीमा छन् भने बलिउडका धेरै प्रोजेक्टमा काम गर्ने सम्झौता भैसकेको छ । राँते काईला उपनामले नेपाली चलचित्र उद्योगमा चिनिएका सुनीलले ३ सय बढि नेपाली चलचित्रमा काम गरेका छन् ।
उनै चर्चित सफल अभिनेता थापाको आज जन्मदिन । उनले आज ६१ औैं बर्षमा पाइला टेकेका छन् ।
जन्मदिनका अवसरमा कान्तिपुरका रामजी ज्ञवालीसँग कुराकानी गर्दै थापाले अहिलेसम्म दर्शक तथा सुभ चिन्तकहरुले दिएको मायाकै कारण यहाँसम्म आउन सफल भएको बताए । उनले धेरै चलचित्रमा काम गरेको भएपनि नेपाली चलचित्रले संसारको प्रतिष्ठित एवार्ड ओस्कारमा पुग्न नसकेकोमा दुःख लागेको बताउँदै अबको समय पनि ओस्कार एवार्डकै लागी राम्रा–राम्रा चलचित्रमा काम गर्ने बताए ।
म किन बलिउडमा भन्दा नेपाली चलचित्रमा धेरै काम गर्छु ? उनले भने, ‘पैसा कमाउनकै लागि त बलिउडमा काम गरेपनि हुन्थ्यो नि, तर नेपाली चलचित्रलाई विश्वमाँझ पुराउनका लागि यति धेरै खटेको हुँ ।’ नेपाली दौरा सुरुवाल र ढाका टोपीमा ओस्कार अवार्ड हात पार्न सकुँ भन्ने ईच्छा मनमा अझैं ज्युँदै छ, उनले थपे ।
एभरेष्ट फिल्म एकेडेमीको प्रागणमा आयोजित वर्थ डे सेलिव्रेसन कार्यक्रममा थापालाई सुरुमा उनकी धर्मपत्नी रजनी थापाले केक खुलाइन् । केक खुवाउँदै उनले सधै सफल श्रीमान र सफल अभिभावकको रुपमा उभिएकोमा प्रशंसा गर्दै भनिन्, ‘आजदेखि चुरोट छोड्नुपर्छ है ।’ चुरोटको प्रसंग निस्किएपछि थापाले हाँस्दै कुरा अन्तै मोडिदिएका थिए ।
अहिलेसम्म कुनैपनि रोगले नछोएकोमा खुसी हुँदै थापाले घरपरिवारको माया र समग्र नेपाली चलचित्र तथा सुभचिन्तकको माया निरन्तर पाएको खण्डमा भबिष्यमा अरु धेरै सफलता प्राप्त गर्ने बताए ।
अभिनेता थापासँग जन्मदिनका अवसरमा गरिएको कुराकानी हेर्नुहोस्