साप्ताहिक संवाददाता
खेलाडीका लागि आम्दानीको राम्रो स्रोत हुन्छ, व्यवसायिक उत्पादनको ब्रान्ड एम्बेसडर बन्ने अवसर । नेपाली राष्ट्रिय टिमका गोलरक्षक किरण चेम्जोङ हालै मात्र नेपाल भित्रिएको मलेसियाको आइसोटोनिक ड्रिङ्क्स १०० प्लसको ब्रान्ड एम्बेसडर नियुक्त भएका छन् । उनी दुई वर्षका लागि ब्रान्ड एम्बेसडर नियुक्त भएका हुन् ।
किरणले यस वापत राम्रै रकम पाएका होलान्, जसलाई खुलाइएको भने छैन । यही सेरोफेरोमा किरणले आफ्नो खेल जीवनसँग जोडिएको एउटा रहस्य खोलेका छन् । उनका अनुसार १७ वर्षको हुँदा उनीसामु दुईवटा विकल्प थिए, एउटा फुटबल खेलाडी बन्ने, अर्को ब्रिटिस आर्मीमा जाने ।
उनले ब्रिटिस आर्मीमा जाने सबै प्रक्रिया पूरा गरिसकेका थिए, तर त्यही समयमा यू–१७ फुटबल खेल्ने अवसर पनि थियो । किरणले फुटबल खेल्नु नै ठीक माने । अहिले उनलाई त्यो निर्णयमा कुनै पछुतो छैन । नेपाली फुटबलमा धेरै कमाउने खेलाडीमध्ये पर्छन्, उनी । किरण अहिले माल्दिभ्समा व्यवसायिक फुटबल खेलिरहेका छन् ।