साप्ताहिक संवाददाता
कार्तिक ८ गतेका लागि रिलिज मिति तय गर्दै चलचित्र ‘पोई पर्यो काले’को औपचारिक घोषणा गरिएको छ । चलचित्रको शिर्ष गीत ‘ए दिदी पोई पर्यो काले’मा कलाकारलाई अभिनय गराउँदै चलचित्रको औपचारिक घोषणा गरिएको हो । मुहुर्त सर्टको निर्देशन चलचित्र विकाश बोर्डका अध्यक्ष एवम् कलाकार केशब भट्टराईले निर्देशन गरेका थिए ।
चलचित्रलाई भने शिशिर राणाले निर्देशन गर्ने छन् । चलचित्रमा काले पोईको भूमिकामा सौगात मल्ल प्रस्तुत हुने भएका छन् । यो चलचित्रमा सौगात मल्ल र सृष्टी श्रेष्ठ जोडीका रुपमा प्रस्तुत हुँदै छन् ।
चलचित्रमा अभिनेत्री पुजा शर्मा र अभिनेता आकाश श्रेष्ठ पनि जोडीका रुपमा शिर्ष भूमिकामा रहने छन् । सृष्टी र पूजाले चलचित्रमा दिदी बहिनीको सम्बन्ध निर्बाह गर्ने बताइएको छ ।
सोहित मानन्धर, बिन्दा खतिवडा, राजाराम पौडेल, राजेन्द्र नेपाली, गोपाल ढकाल छन्दे र निर्देशक शिशिर राणालाई पनि चलचित्रमा देख्न सकिने छ । अभिनेत्री सुरक्षा पन्तले चलचित्रमा अतिथि भूमिका निर्वाह गर्ने छन् ।
चलचित्रलाई मनाङका प्रदेश सभा सदस्य दीपक मनाङ्गे अर्थात राजिव गुरुङले निर्माण गर्दैछन् । पोखरा र मुस्ताङ छायांकन गरिने चलचित्रे १३ जेठबाट फ्लोरमा जाँदै छ ।