साप्ताहिक संवाददाता
काठमाडौंकी २३ वर्षीया रिया बस्नेत मिस नेपाल–२०१९ मा मिस नेपाल अर्थ–२०१९ को उपाधि जित्न सफल भइन् । बीबीए उत्तीर्ण रिया ५ फिट ७ इन्च अग्ली छिन् । रियाले मिस अर्थ–२०१९ मा नेपाललाई प्रभावशाली ढंगले प्रतिनिधित्व गराउने लक्ष्य लिएकी छिन् । साप्ताहिकसँगको भेटमा रियाले आफ्नो सफलतालाई कडा मेहनतको परिणाम बताइन् :
मिस नेपाल–२०१९ को समग्र अनुभव कस्तो रह्यो ?
जीवनभरिकै सबैभन्दा उत्कृष्ट अनुभव नै यही रह्यो । खासगरी मिस नेपाल अर्थ–२०१९ को उपाधि जिति सकेपछिको क्षण मेरा लागि सदैव अविस्मरणीय रहनेछ ।
उपाधि जितिसकेपछिको अनुभव कस्तो थियो ?
ग्रान्ड फिनालेमा मिस नेपाल अर्थको उपाधि जितेपछिका तीन–चार दिन म शिरमा क्राउन लगाएर जब–जब ऐना हेर्थें, आफूमा धेरै नै परिवर्तन आएको अनुभव गर्थें । जति पटक ऐना हेर्यो, ममा उत्तिकै जिम्मेवारी थपिएको अनुभव हुन्थ्यो । पहिले मलाई रिया बस्नेतको नामले मात्र चिनिन्थ्यो, अब मानिसहरूले मलाई मिस नेपाल अर्थ रिया बस्नेतको नामले चिन्नु हुन्छ भन्ने कुरा सम्झेर म रोमाञ्चित हुन्छु । आफूमा देश र देशवासीकै जिम्मेवारी थपिएको महसुस गरिरहेकी छु ।
उपाधिप्रति कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
म शतप्रतिशत सन्तुष्ट छु, किनभने मिस नेपालका पाँचवटै उपाधिको आ–आफ्नै महत्व छ । हामी पाँच जना मिस नेपाल विजेताका रूपमा छनौट भएकाले यो उपाधिप्रति असन्तुष्ट हुनुपर्ने कुनै कारण छैन ।
मिस नेपालको सहभागिताले तपाईंमा के–कस्तो परिवर्तन ल्याएको छ ?
ममा धेरै कुराको परिवर्तन आयो । मैले आफूलाई परिपक्व भएको महसुस गर्न थालेकी छु । विगतमा म आफ्नो आवाज सीमित वर्गसम्म मात्र पुर्याउन सक्थें, आज मेरो आवाज विश्वले सुन्न सक्ने अवस्था छ ।
मिस नेपालको प्रशिक्षण कत्तिको उपलब्धिमूलक रह्यो ?
अत्यन्त उपलब्धिमूलक रह्यो । प्रशिक्षणले मलाई ‘बी योर सेल्फ’ भन्ने कुरा सिकायो । आफू जस्तो छौ, त्यसमै रमाउन सिक भन्ने कुरा पनि सिकायो । त्यसबाहेक वर्क अन्डर प्रेसर अर्थात् दबाबमा कसरी काम गर्नुपर्छ भन्ने कुरा समेत सिकियो । समय व्यवस्थापनको विषयमा पनि धेरै कुरा सिक्ने मौका पाइयो ।
तपाईंको लक्ष्य मिस नेपाल अर्थसम्मकै थियो कि त्योभन्दा माथि ?
मेरो उचाइ ५ फिट ७ इन्च छ । यो उचाइ मिस युनिभर्सका लागि उपयुक्त मानिन्छ । मिस नेपालमा आउनु अघिदेखि नै मैले मिस नेपाल युनिभर्स मनिता देवकोटालाई फलो गरिरहेकी थिएँ । यस अर्थमा मैले मिस नेपाल युनिभर्सको उपाधि जित्नुपर्छ जस्तो लागेको थियो । यद्यपि, मिस नेपाल अर्थको उपाधिमा पनि म उत्तिकै खुसी छु ।
मिस अर्थ–२०१९ को तयारी कसरी थाल्दै हुनुहुन्छ ?
यसपटकको मिस अर्थ कहाँ र कहिले हुन्छ भन्ने निश्चित भैसकेको छैन । यद्यपि हरेक वर्ष फिलिपिन्समा भैरहेकाले यसपटक पनि त्यहीँ हुने सम्भावना छ । उक्त प्रतियोगिताको तयारीका लागि पूर्व मिस नेपाल अर्थ प्रिया सिग्देलसँग धेरैभन्दा धेरै जानकारी हासिल गर्नेछु । उक्त प्रतियोगितामा क्लाइमेट चेन्जको इस्युले महत्व पाउँछ । नेपाल पनि जलवायु परिवर्तनको चपेटामा परेको छ । यही विषयमा आधारित भएर म मिस अर्थको तयारी थाल्ने छु ।
परिवारमा को–को हुनुहुन्छ ?
म संयुक्त परिवारमा जन्मिएकी–हुर्किएकी हुँ । म परिवारकी जेठी छोरी हुँ । मेरी बहिनी मभन्दा पाँच वर्ष कान्छी छिन् । बुवा पर्यटन क्षेत्रमा सत्रिय हुनुहुन्छ ।
आफूलाई कत्तिको राम्री मान्नुहुन्छ ?
म राम्री नै छु जस्तो लाग्छ । म त आफू वरपरका सबैलाई राम्रो नै देख्छु ।
एक वर्षपछिको तपाईंको यात्रा कसरी अघि बढ्ने छ ?
मिस नेपालमा नआएकी भए पनि मैले महिला उद्यमशीलताको क्षेत्रमा काम गर्ने लक्ष्य लिएकी थिएँ । यो प्रतियोगितामा आएर उपाधि नै जितिसकेपछि भविष्यमा यही क्षेत्रमा अझ शसक्त भएर काम गर्ने जोश बढेको छ ।
चलचित्रमा आउने सम्भावना कत्तिको छ ?
अभिनयमा खासै रुचि नभएका कारण मैले अहिले नै चलचित्रका बारेमा केही सोचेकी छैन । व्यवस्थापनकी छात्रा भएकाले मेरो झुकाव बिजनेजमै छ ।