साप्ताहिक संवाददाता
कुनै समय विदेशमा नेपाली खेलाडी हराउनु खराब परम्परा जस्तै भएको थियो । यसले नेपाली खेलकुदको हदैसम्म नराम्रो छवि तयार गरेको थियो । पछि त्यो केही हदसम्म सेलायो पनि । यद्यपि अहिले एउटा नयाँ घटना फेरि अगाडि आएको छ र यसपटक हराउने खेलाडी भन्दा पनि प्रशिक्षक हुन्, जुडोका रमेश मगर । उनी जुडोकै परीक्षा दिन हंगेरी गएका थिए तर फर्किएनन् ।
रमेश अन्तर्राष्ट्रिय जुडो फेडरेसनको व्यवहारिक परीक्षा दिन हंगेरी गएका थिए, तर उनी उक्त परीक्षामै सामेल भएनन् र त्यतै लुके । रमेश १२ औं सागका कांस्य पदक विजेता खेलाडी पनि हुन् । यसअघि पनि जुडोका खेलाडीहरू विदेश पलायन भएका धेरै घटना घटिसकेका छन् र त्यसले यो खेलमा नराम्रो प्रभाव पारेको थियो ।
त्यसबाट मुक्त हुन जुडोलाई धेरै वर्ष लाग्यो । अहिले फेरि रमेशको प्रकरणले नेपाली जुडोलाई थप घाटा लागेको छ । त्यसो त नेपाल जुडो संघले रमेशविरुद्ध १० वर्षको प्रतिबन्ध समेत लगाइसकेको छ । जुडो संघले यसअघि फुपुल्हामु खत्रीलाई पनि सन् २०२० को ओलम्पिक्ससम्मका लागि प्रतिबन्ध लगाएको थियो ।