साप्ताहिक संवाददाता
निर्माता संघ र लुम्बिनी जेनेरल इन्सुरेन्सबीच ’चलचित्र प्रोजेक्ट बिमा’ को औपचारीक सम्झौता भएको छ । यो सम्झौतापछि धेरै निर्माताहरु खुसी भएका छन् । चलचित्र निर्माणका क्रममा हुन सक्ने विभिन्न समस्यालाई मध्येनजर गरेर निर्माता संघ र इन्सुरेन्स कम्पनिबिच यो किसिमको सम्झौता गरिएको निर्माता आकाश अधिकारीले बताए ।
सोमबार काठमाण्डौंमा भएको एक कार्यक्रमकाबिच निर्माता संघका अध्यक्ष आकाश अधिकारी र लुम्बिनी इन्सुरेन्सका सिइओ एन.पि प्रधानले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
निर्माता संघले स्विकृती दिएपछि निर्माताले चलचित्रको बिमा गर्न पाउनेछन् । निर्माताले चलचित्र विकास बोर्डमा आफ्नो चलचित्र दर्ता गर्दा भरेको लगानी विवरणको एक प्रतिशत रकम बिमा कम्पनीलाई बुझाउनु पर्छ । उक्त एक प्रतिशत रकमको पाँच प्रतिशत रकम इन्सुरेन्स कम्पनीले निर्माता संघमा बुझाउने छ ।
चलचित्र छायांकनका क्रममा हुने हानिको इन्सुरेन्स कम्पनीले एक महिना भित्र भुक्तानी गर्ने सीइओ प्रधानले बताए । यो सम्पूर्ण प्रक्रियाको लागि निर्माता संघले निर्मातालाई सहयोग गर्नेछ ।
यो प्रोजेक्ट बिमाले निर्माता लगायत फिल्म क्षेत्रलाइ सुरक्षित गर्ने अनुमान गरिएको छ ।