साप्ताहिक संवाददाता
निभा गल्ली, चिप्लेढुङ्गा, पोखरामा मार्सी चामलको स्वाद चाख्न पाइन्छ । हालसालै सञ्चालनमा आएको गाल्जे रेस्ट्रो एन्ड बारले जुम्ला, कालिकोट तथा बाजुरामा फलेको मार्सी चामलको खानालाई प्राथमिकता दिँदै सेवा सुरु गरेको हो ।
त्यहाँ जुम्लाकै सिमीसमेत उपलब्ध हुन्छ । मार्सी भेज थालीको २ सय ८० रुपैयाँ, मार्सी चिकेन थालीको ३ सय ८० रुपैयाँ, मार्सी ग्रिल चिकेन थालीको ४ सय २० रुपैयाँ तथा मार्सी मटन थालीको ४ सय ५० रुपैयाँ शुल्क तिर्नुपर्छ ।
अर्डर गरेको ३० मिनेटमा मार्सी खाना तयार हुन्छ । नेपालमै फलेको अन्न ख्वाउने उद्देश्यले यो रेस्ट्रो सञ्चालनमा ल्याइएको हो । बिहान ६ बजेदेखि राति ११ बजेसम्म खुल्ने यो रेस्टुराँमा एकपटकमा ५० जनासम्मलाई खाना ख्वाउन सकिन्छ ।
गाल्जेमा शुक्रबार र शनिबार लाइभ म्युजिकको तालमा रम्ने अवसर पाइनेछ भने नेपाली कला संस्कृतिको जर्गेना गर्दै युवा पुस्तामा संस्कृति हस्तान्तरण गर्न संगीत सारंगी, बाँसुरी, हार्मोनियम, तबला आदिको प्रयोगमा जोड दिइनेछ ।