साप्ताहिक संवाददाता
करिब सात वर्षदेखि अमेरिकामा बसोबास गर्दै आएकी रोज लामा मिस नेपाल–२०१९ मा सहभागिता जनाउन काठमाडौं आएकी थिइन् । जोरपाटी, काठमाडौंकी स्थायी बासिन्दा रोज ५ फिट ६ इन्च अग्ली छिन् । मिस नेपाल–२०१९ मा मिस नेपाल सुपरनेचुरल–२०१९ को उपाधि जित्न सफल रोजले आफ्नो सफलताका बारेमा साप्ताहिकसँग खुलेर कुराकानी गरिन् ।
अमेरिकाबाट नेपाल आएको उद्देश्य पूरा भयो होइन ?
मेरो उद्देश्य आफ्नै देशमा फर्किएर केही नयाँ गरौं भन्ने थियो । त्यसका लागि मैले मिस नेपालको सहभागितालाई पहिलो प्राथमिकतामा राखेकी थिएँ । मिस नेपालको अडिसनबाटै बाहिरिएको भए पनि मैले केही वर्ष नेपालमै बसेर शिक्षाको क्षेत्रमा केही नयाँ काम गर्ने योजना बनाएकी थिएँ । मिस नेपालको सहभागिताले दिएको सफलताले मलाई आफ्नो उद्देश्य पूरा गर्न सजिलो भएको छ ।
भन्नाले उपाधि जित्ने लक्ष्य बनाउनुभएको थिएन ?
मेरो पहिलो उद्देश्य मिस नेपालमा भाग लिएर धेरै भन्दा धेरै कुरा सिक्नु नै थियो । उपाधि नै जित्नु भनेको मेरो मेहनतले पाएको सफलता हो ।
मिस सुपरनेचुरल–२०१९ मा तपाईंको प्रस्तुति कस्तो रहला ?
१० वर्षअघि पोल्यान्डमा प्रारम्भ भएको मिस सुपरनेचुरल विश्वकै तेस्रो महत्वपूर्ण सौन्दर्य प्रतियोगिताका रूपमा चिनिन्छ । नेपालले भने अघिल्लो वर्षदेखि मात्र यो प्रतियोगितामा प्रतिनिधित्व जनाउन थालेको छ । नेपालको प्रतिनिधिका रूपमा क्राउनिङ नै हुने प्रतियोगि भने म पहिलो हो । यसपटकको प्रतियोगिता डिसेम्बर ७ मा हुँदैछ । मैले त्यसका लागि आवश्यक तयारी प्रारम्भ गरिसकेकी छु ।
उक्त प्रतियोगितामा के कुरालाई बढि प्राथमिकता दिइने रहेछ ?
ग्रेस, नेचुरल ब्युटी तथा फेसनलाई प्राथमिकता दिइने रहेछ । आफ्नो ग्रेसलाई कसरी प्रस्तुत गर्ने, नेपालको नेचुरल ब्युटीलाई आफूमार्फत कसरी प्रस्तुत गर्ने तथा म कत्तिको फेसनेवल हुन सक्छु भन्ने कुरालाई ध्यान दिनुपर्ने रहेछ ।
अमेरिकामा के गरिरहनुभएको छ ?
म कक्षा ८ मा अध्ययनरतछँदै अमेरिका गएकी थिएँ । बुवा–आमा उतै बस्ने भएकाले पनि मैले त्यता जानुपरेको हो । म अहिले अन्डरग्राजुए विद्यार्थी हुँ । म इन्ड्रस्ट्रियल डिजाइन तथा स्टुडियो आटर््समा स्नातक गरिरहेकी छु ।
तपाईंको लक्ष्य मिस सुपरनेचुरल मात्र थियो कि त्यो भन्दा बढी ?
मिस नेपालको प्रशिक्षणका क्रममा प्रतिस्पर्धी साथीहरूले मलाई मिस इन्टरनेसनलको दावेदार भनेर उत्साहित बनाउनुहुन्थ्यो । मिस इन्टरनेसनलमा सहभागिता जनाउने प्रतिस्पर्धी क्यूट भएको राम्रो मानिने रहेछ । साथीहरूले मलाई क्यूट भनेर जिस्काउँथे । साथीहरूकै उत्साहले मैले पनि आफूलाई मिस नेपाल इन्टरनेसनलकै रूपमा हेर्न थालेकी थिएँ । यद्यपि, भाग्यले मलाई मिस नेपाल सुपरनेचुरल बनाइदिएको छ । म यसमा पनि असाध्यै खुसी छु ।
तपाईं कति राम्री ?
सबैले मलाई हिस्सी परेकी भन्नुहुन्छ, तर आफूलाई भने म त्यति राम्री लाग्दैन । मलाई सुन्दरताभन्दा पनि राम्रो व्यक्तित्व मन पर्छ ।
मिस नेपालको प्रशिक्षणबाट के–के सिक्नुभयो ?
धेरै उपलब्धिमूलक कुरा सिक्न पाएँ । कृषि, पर्यटन, आर्किटेक्ट, सौन्दर्यदेखि स्वास्थ क्षेत्रका विज्ञहरूले दिनुभएको प्रशिक्षण अति नै उपयोगी रह्यो । प्रतिस्पर्धी साथीहरू पनि यूनिक हुनुहुन्थ्यो । म आर्टमा राम्रो गर्ने सक्ने प्रतिस्पर्धी थिएँ भने अर्को प्रतिस्पर्धी स्वास्थ्य क्षेत्रबाट हुनुहुन्थ्यो । यसरी हामी सबै प्रतिस्पर्धीमा आ–आफ्नै विशेषता थियो ।
भविष्यको लक्ष्य के छ ?
मैले अर्ग्यान थ्रिडी डिजाइनर बन्ने लक्ष्य लिएकी छु । मेरो पढाइको विषय पनि त्यही भएकाले तथा अहिले विश्वमा थ्रिडी प्रिन्टको प्रचलन प्रारम्भ भएकाले यही विधामा काम गर्न मन छ । यसका साथै मैले भविष्यमा सफल इन्ड्रस्ट्रियल डिजाइनर तथा समाजसेवी बन्ने लक्ष्य लिएकी छु ।