डेढ दशकअघि काव्य बुटिक खोलेर फेसन डिजाइनिङमा परिचित हुँदै आएको नाम हो— रमिला नेमकुल । रमिला एक दशक नेपालमा काम गरेर फेसन डिजाइनिङसम्बन्धी थप अध्ययनका लागि फिनल्यान्ड पुगेकी थिइन् । फिनल्यान्डमा एक दशक पढाइका साथै व्यवसाय पनि गरेर देशकै फेसन डिजाइनिङमा केही नयाँ गर्ने सोचका साथ नेपाल फर्किएकी हुन् उनी । रमिलाले फिनल्यान्डमा सिकेको वेस्टर्न वेयरलाई कासा ब्रान्डमार्फत नेपालमा प्रस्तुत गर्दै आएकी छिन् । अहिले उनले डिजाइन गरेका वेस्टर्न लुक्सका पहिरन मिस नेपाल, मोडल तथा अभिनेत्रीहरूमाझ लोकप्रिय मात्र छैनन्, उनीहरू उनको डिजाइन लगाउन लालायितसमेत पाइन्छन् । रमिला भारतको टिसिरिज एकेडेमीमा फेसन डिजाइनरका रूपमा समेत संलग्न छिन् ।
दुई दशक लामो फेसन डिजाइनिङको अनुभव कस्तो रह्यो ?
पहिले यो कामलाई तल्लो वर्गको काम जस्तै मानिन्थ्यो । अहिले यही कामलाई रेस्पेक्ट गर्न थालिएको छ । डिजाइनर वेयर लगाउन पाउँदा गर्व गर्न थालिएको छ । यसरी चेञ्ज आउनु म जस्तो डिजाइनरका लागि एकदमै खुसीको कुरा हो । आउने दिनमा यसले अझ राम्रो रूप लिन्छ भन्ने लाग्छ ।
नेपालमै नाम र दाम हुँदा हुँदै फिनल्यान्ड जानुको कारण ?
नेपालमा डिजाइनिङ गर्दागर्दै अझै सिक्नु छ, पढ्नु छ भनेर म फिनल्यान्ड गएकी हुँ । त्यहाँ मैले इन्टरनेसनल व्यवसाय कसरी गर्ने आदि विषयमा अध्ययन गरें । मास्टर डिग्री गरें, जुन चिजले बिजनेस गर्न र अघि बढ्न मद्दत गर्यो ।
फिनल्यान्डमा लामो समय बस्नुभयो, त्यहाँ के–के गर्नुभयो ?
स्नातकोक्तर सकेर मैले त्यहाँ दुईवटा रेस्टुराँ तथा ह्यान्डित्राफ्टको व्यवसाय गरें । त्यसले व्यवसायको ज्ञानका साथमा फरक ग्राहकहरूसँग कसरी सम्बन्ध राख्ने भन्ने कुरा सिकें । पढेर तत्कालै नेपाल फर्कने प्लान त थियो तर विदेशमा व्यवसाय सुरु गरेपछि ह्वात्तै छोडेर आउन पनि मिलेन । ५ वर्ष रेस्टुराँ चलाउँदा मलाई कहिल्यै सन्तुष्टि मिलेन । किनभने मेरो रहर भनेकै फेसन डिजाइनिङ हो । त्यही भएर केही समय फिनल्यान्डमै फेसनसम्बन्धी काम गरें । फेसनमा काम गरे पछि नेपाल फर्केर फेसनमै केही गरौं भन्ने लोभ जाग्यो अनि फर्किएँ ।
वेस्टर्न पहिरनमा केन्द्रित हुने सोचचाहिं कसरी आयो ?
फिनल्यान्डमा पढ्नुले नै मलाई वेस्टर्न डिजाइनतिर तान्न ठूलो सहयोग गर्यो । नेपालमा फर्केर मैले एक वर्ष फेसन बजारको रिसर्च गरें । यहाँका सबैजसो बुटिक एउटै ट्रेन्ड ब्राइडल कन्सेप्टमा हिँडिरहेको पाएँ । नेपालमा अहिलेको आवश्यकता भनेको क्याजुअल स्मार्ट लुक्स हो भन्ने सोच आयो । लगाउन मन लाग्छ, तर आफ्नो फिगरअनुसारको ड्रेस पाइरहेको छैन । त्यही भएर मैले यतै फोकस गरेकी हुँ ।
कासाको सफलताको रहस्य के होला ?
मुख्यतः नेपालमा यस्तो बुटिक पनि खोलिनुपर्छ भन्ने सोच कसैमा आएन । धेरैले वेस्टर्न स्मार्ट लुक्सका लागि कि त रेडिमेड लगाउनुपर्ने, कि आफैं डिजाइन दिइ बनाउन लगाउनुपर्ने बाध्यता थियो । उक्त अभाव कासाले पूरा गरिदिएको छ । म कहाँ जो आउँछन् उनीहरू सबै प्रभावित भएर जान्छन् । अब आएर मेरो यो निर्णय सही हो जस्तो लाग्दैछ ।
कासालाई लिएर तपाईंका योजना के–कस्ता छन् ?
कासा खोल्नुको मुख्य उद्देश्य नै नेपाली ब्रान्ड पनि अन्तर्राष्ट्रिय स्तरमा पुग्न सक्छ भन्ने कुरा सावित गर्नु हो । कासालाई लिएर देश–विदेशका फेसन शोमा भाग लिई नेपाली डिजाइन चिनाउने चाहना नै हो । कासाबाट मैले पेरिसको मिलान तथा नेपालमा दुईवटा फेसन शो गर्ने योजना बनाएकी छु । वर्षमा दुईवटा आउटलेट भैसक्यो, अब छिट्टै अरू दुईवटा आउटलेट खोल्दैछु । त्यसपछि काठमाडौंबाहिर आउटलेट खोलेर कासालाई अन्तर्राष्ट्रिय रुपमा लाने प्लान छ ।
फेसन डिजाइनरका रूपमा जीवन कसरी चलिरहेको छ ?
डिजाइनरको हिसाबले जीवन रमाइलोसँग बितिरहेको छ । एक त आफूलाई सानैदेखि मन परेको कुरालाई निरन्तरता दिन पाउनु नै खुसीको कुरा हो । हरेक दिन सोच्ने कामलाई व्यवसाय बनाएकाले पनि म एकदमै खुसी छु ।
मानिसहरू फेसनका लागि किन यति धेरै पैसा खर्च गर्छन् ?
मानिसहरू आफूलाई स्मार्ट, कन्फिडेन्ट तथा प्रिजेन्टेबल देखाउन नै पैसा खर्च गर्छन्, किनभने हरेक व्यक्ति अरूभन्दा फरक र स्मार्ट देखिन चाहन्छन् ।
तपाईंको बढी खर्च केमा हुन्छ ?
ब्याग र जुत्तामा बढी खर्च गरिरहेकी हुन्छु । जता गए पनि जुत्ता र ब्याग नै बोकेर आइरहेकी हुन्छु ।
फेसन डिजाइनरका रूपमा सफल हुन के–कस्ता गुण आवश्यक देख्नुहुन्छ ?
डिजाइनिङ आइडिया र विजनेश स्किल हुनुपर्छ । साथै आफूले जुन डिजाइन बाहिर ल्याइएको छ त्यसमा कन्फिडेन्ट हुनुपर्छ । अरूको कपीभन्दा आफ्नै सिर्जनालाई प्राथमिकता दिन सकियो भने त्यो मानिसहरूको नजरमा पर्छ ।