भुटानी अभिनेत्री तथा निर्मात्री उगेन छोदेन बेला–बेलामा नेपाल आउँछिन् । नेपालको औधी माया लाग्छ, उगेन भन्छिन्, ‘नेपालीहरुको मायाकै कारण पटक–पटक यहा आउने गरेकी हुँ ।’ नेपालीहरुले छुट्टै किसिमको माया दिने भएकाले आफुलाई आफ्नै देश जस्तो लाग्ने गरेको उनको भनाई छ । अंग्रेजी र नेपाली मिसाएर बोल्ने उनि हालै एक नेपाली गीतको छायाँकनका क्रममा नेपाल आएकी थिइन् । भुटानी सुन्दरी उगेनसँग हालै कान्तिपुरका रामजी ज्ञवालीले विभिन्न बिषयमा रमाइलो गफगाफ गरेका छन् ।
नेपालमा स्वागत छ, कस्तो हुँदैछ नेपाल बसाई ?
मलाई पहिलेदेखिनै मन पथ्र्यो । अहिले घुमघाम गरिरहेकी छु, केहि कामहरु पनि भैरहेको छ ।
यो कति औं भिजिट हो ?
यो ९ औं पटकको नेपाल भेटघाट हो । म नियमित रुपमा विभिन्न कामको शिलशिलामा नेपाल आइरहेकी छु ।
नेपाली बोल्न पनि राम्रोसँग आउँदो रहेछ, कसरी सिक्नुभयो ?
म सानो छँदा होस्टेलमा बस्थेँ, होस्टेलमा म सँग नेपाली साथिभाईहरु पनि हुनुहुन्थ्यो । उनिहरुसँगको संगतलेनै नेपाली सिक्न थालेकी हुँ ।
भुटानमा नियमित रुपमा चलचित्र बन्छन् कि कस्तो छ भुटानी चलचित्र उद्योगको अवस्था ?
भुटानमा हलिउड, बलिउड रिलिज हुँदैनन् । नियमित रुपमा चलचित्र निर्माण हुन्छन्, भुटानी फिचर चलचित्र निरन्तर ३ महिनासम्म चल्छन् । कतिपय चलचित्र ४–५ महिनासम्म पनि चल्ने गरेका छन् । भुटानीहरुले आफ्ना चलचित्रलाई निकै माया गर्नुहुन्छ । बिशेष गरेर ६० करोड देखि १ करोड हाराहारीमा भुटानी चलचित्र निर्माण हुने गर्छन् । भुटानमा आफ्नै मौलिकता झल्कने किसिमका चलचित्र धेरै बन्छन् र हामिहरुले पनि त्यस्तै खालका उत्पादनहरुमा जोड दिने गरेका छौं । चलचित्र उद्योग राम्रो भैरहेको छ, कलाकारहरुको अवस्था पनि धेरै राम्रो छ ।
बर्षमा कति वटा जति चलचित्र बन्छन् ?
३५ वटा जति चलचित्र निर्माण हुन्छन् ।
चलचित्रसम्बन्धी सरकारी नीति कस्तो छ ?
सरकारी नीति राम्रो छ । मौलिक विषयवस्तु, संस्कृति र देशभित्रकै विषयवस्तुमा आधारित चलचित्रलाई सरकारले विशेष किसिमले हेर्ने गरेको छ । यो नीतिले समग्र भुटानी चलचित्र उद्योगलाई राम्रो गराएको छ ।
सरकारले भुटानी चलचित्रका लागि के–कस्तो किसिमको सहयोग गर्ने गरेको छ ?
भुटानको सरकारले आफ्नो चलचित्र उद्योगका लागि ऋण अनुदानको व्यवस्था गरेको छ । बैंकहरूमा चलचित्र राखेर ऋण निकाल्न सक्ने ब्यवस्था पनि छ । सरकारले बर्षको एक पटक बिशेष प्रतिस्पर्धात्मक फेस्टिभल गर्छ । उक्त फेस्टिभलबाट छानिएका उत्कृष्टलाई केहि आर्थिक सहुलियत दिन्छ । त्यसबाहेक, सरकारले आफ्ना चलचित्रलाई विदेशमा शो मा समेत पठाउने गरेको छ ।
कहिलेकाहि कतिपय चलचित्र दर्शकले नहेरेर घाटामा गएको छ ?
खासै घाटामा गएको मैले सुनेको छैन । तर, कहिलेकाहि एकदमै कम बजेटका र नयाँ निर्माता–निर्देशकले चलचित्र गराउँदा घाटामा जान सक्ने सम्भावना भने हुन्छ ।
भुटानीहरुले कहिलेकाहि बलिउड र हलिउड चलचित्र हेर्न चाहानुहुन्छ होला तर सरकारको नितिले रोकेको छ, दर्शकहरुबाट केहि गुनासो आउँदैन ?
भुटानीहरुले विदेशी चलचित्र हेर्न नपाउने भनेको होइन, विदेशी चलचित्रहरु नेसनल थिएटरमा नलाग्ने मात्रै हो । यदि कसैलाई रुचि भयो भने इन्टरनेट प्रयोग गरेर हेर्न सक्नुहुन्छ ।
भुटानमा समग्र कति हल छन् ?
थिम्पुमा मात्रै ८ हल छन् । हरेक जसो जिल्लामा कम्तीमा एउटा हल छ । कतिपय जिल्लामा दुईवटा समेत छन् । २० जिल्ला र राजधानी गरेर झन्डै तीन दर्जन हाराहारी हल छन् ।
भुटानमा सरकारले हल बनाउछ भनिन्छ, खास कुरा के हो ?
भुटानमा हलहरू सबै सरकारले बनाइदिन्छ । अहिले जिल्ला–जिल्लामा हलहरू बढाउने काममा सरकार लागेको छ ।
तपाईले अहिलेसम्म कति चलचित्रमा काम गर्नुभएको छ ?
९ वटा चलचित्रमा काम गरेकी छु, केहि चलचित्र म आफै निर्माण पनि गरेकी छु । अहिले अर्को प्रोजेक्टका लागि तयारी भैरहेको छ ।
एउटा चलचित्रमा काम गरेवापत कति पारिश्रमिक बुझ्नुहुन्छ ?
३ लाखको हाराहारी ।
पहिलो चलचित्रमा कति लिनुभएको थियो, याद छ ?
३० हजार पाएकी थिएँ । त्यो रकम पाउँदा निकै खुसी लाग्यो । अलिकति आमालाई दिएँ, अलिकति मैले खर्च गरे ।
चलचित्र क्षेत्र राम्रै फापेको छ, यो क्षेत्रमा काम गर्छु भनेर कहिल्यै सोच्नुभएको थियो ?
चलचित्र क्षेत्रमा आउँछु भनेर कल्पना पनि गरेको थिएन । तर, मेरो अफिसको कामले एउटा स्टुडियो जाँदा एकजना निर्देशकले मलाई तपाई अभिनेत्री हो ? भन्नुभयो । मैले होइन, भने । उहाँले म निर्देशक हो, एउटा चलचित्र बनाउँदैछु, मुख्य रोलमा काम गर्नेहो ? भन्नुभयो । पहिलोपटक मैले खेल्दैनँ भने । तर पछि मेरै गाउँको स्टोरी रहेछ, हुन्छ भने ।
तपाई विवाहित कि अविवाहित ?
अविवाहित हो ।
बिहे कहिले गर्नुहुन्छ ?
मन परेको केटा भेटेको छैन । अहिले विहे गर्ने योजना गराएको छैन ।
प्रेममा त हुनुहुन्छ होला नि ?
अहिले छैन, पहिला थिएँ ।
अहिले के कुराले प्रेममा बस्न रोक्यो ?
अहिले प्रेमका लागी समय दिन फुर्सद छैन । काममा ब्यस्त छु ।