खुल्ला आकाशमा जुन रोयो
फुटेको बाँसुरीमा धुन रोयो
बगेन यो भूमिमा एक थोपा पसिना
पराईको भूमिमा नेपाली खुन रोयो ।।
यस्तै गजलसँगै गत साता आख्यानकार बुद्धिसागर राजधानीमा प्रस्तुत भए । आख्यानकारका रूपमा आफूलाई नेपाली साहित्यमा चिनाएका बुद्धिसागरले आफ्नो पहिलो प्रेम गजलसँग बसेको उल्लेख गरे । गजल लेखेर साहित्य लेखनको औपचारिक यात्रा प्रारम्भ गरेका बुद्धिसागरले लेखनसँग गाँसिएका आफ्ना कैयौं किस्सा सुनाए । उनका ती संस्मरण एवं गजलले हरेक दुई महिनामा राजधानीमा हुँदै आएको महफिलको नयाँ शृंखला विशेष बन्यो ।
बुद्धिसागर भन्छन्, ‘मेरो पहिलो प्रेम गजल हो । मैले जीवनमा पहिलो पटक लेखेको रचना गजल नै थियो । वि.सं ०५२/५३ सालताका मैले लेखेका गजलहरू रेडियोबाट प्रसारण हुन्थे । मैले लगभग ६/७ वर्ष रेडियोमा गजल पठाएँ । त्यतिबेला ११/१२ सयवटा गजल त प्रसारण भए होला ।’ उनले गजल लेखन र प्रसारणसँग गाँसिएका आफ्ना अनुभव सुनाए । त्यसपछि उनले ‘पानी पानी भयो अधर यो झरीमा’, ‘उही हो नि नीलो पानी धार बद्लिएछ’, ’रातसँग एउटा घाम हिँड्छ’ गरी तीनवटा गजल प्रस्तुत गरे ।
यसरी गजल प्रस्तुत गर्दा बीच–बीचमा बद्धिसागर गजल सम्बन्धि आफ्नो धारणा पनि व्यक्त गरिरहेका थिए । रेडियोबाट गजल प्रसारण हुने क्रममै उनलाई आफ्ना गजल छापिएर पढ्न रहर लागेको बताउँदै बुद्धिसागरले सम्झिए– ‘त्यसकै पछाडि लागेर म काठमाडौं आएँ जस्तो लाग्छ ।’ काठमाडौं आएपछि उनले सबैजसो मासिक पत्रिका किनेर ठेगाना हेरी आफ्ना गजल पठाएको तर आफूले पठाएको चिठी नै पत्रिकाको कार्यालयसम्म नपुगेको अनुभव सुनाए ।
उनले भने, ‘सबै पत्रिका किनेर लान्थेँ, ठेगाना हेरेर गजल पठाउँथेँ । पत्रिका आउने बित्तिकै किनिहाल्थेँ, आफ्ना गजल पाउँदिनथें अनि निराश हुन्थेँ । पछि थाहा भयो, मैले चिठी हाल्ने पत्र मञ्जूषाबाट धेरै समयदेखि हुलाकीले चिठी नै निकालेको रहेनछ ।’ उनले थपे, ‘त्यसपछि भने म राजधानीबाट निस्कने हरेक साप्ताहिकको कार्यालयमा अफिस बन्दको दिन गएर ढोकाबाट चिठी छाडेर निस्कन थाले । त्यसपछि भने मेरा गजल प्रकाशित हुन थाले ।’
हरेक पटक पुस्तक र स्रष्टाका कुरा समावेश गर्दै आएको कार्यक्रमको यो शृंखला अन्य शृंखलाको तुलनामा फरक रूपमा प्रस्तुत भयो । लेखकका रूपमा उभिएका बुद्धिसागरका पुस्तकमाथि पाठकहरूले आ–आफ्ना धारणा प्रस्तुत गरे । उनका ‘फिरफिरे’ र ‘कर्णाली ब्लुज’ माथि प्रशिक्षा पराजुली र अनुफा खनालले मन्तव्य व्यक्त गरेका थिए । कार्यत्रमको अन्तिममा बुद्धिले वि.सं २०५६ सालमा आयोजित राष्ट्रिय गजल महोत्सवमा प्रथम स्थान हासिल गर्न सफल आफ्नो गजल ‘खुल्ला आकाशमा जुन रोयो, फुटेको बाँसुरीमा धुन रोयो ...’ सुनाए । कार्यक्रमको दोस्रो चरणमा बुद्धिसागरका दुई गजल गायक मनोजराज शिवाकोटीले गाएर सुनाएका थिए ।