पोखरा महानगरपालिका वडा नम्बर– ११ माटेपानी गुम्बास्थित कर्मसिद्ध परम्परा गुम्बा विद्यालयमा बुद्ध दर्शनसम्बन्धी अध्यापन हुन्छ । गुम्बा विद्यालयमा बुद्ध दर्शनका बारेमा पढाइ हुन थालेको २०५० सालदेखि हो । त्यहाँ पहिले तिब्बतियन भाषामा मात्र पढाइ हुन्थ्यो भने २०६५ सालमा सरकारी मान्यता प्राप्त गरेपछि नेपाली, अंग्रेजी, गणित र तिब्बतियन भाषाको पढाइ हुन थाल्यो । उक्त विद्यालयमा तिब्बतीयन भाषामा सामाजिक एवं धार्मिक ग्रन्थको पढाइ हुन्छ भने विद्यार्थीहरूलाई बुद्धपूजामा प्रयोग हुने सामग्रीहरू बनाउन समेत सिकाइन्छ । अहिले विद्यालयले विज्ञान विषय समेत थप्ने तयारी गरिरहेको छ ।
यहाँ सरकारीकोटाका एक जना शिक्षक र चार जना निजी स्रोतका शिक्षकले अध्यापन गराउँछन् ।
साथमा गुम्बामा रहेका लामा गुरुहरूले समेत बालकहरूलाई बौद्ध धर्म, बौद्ध दर्शन तथा बुद्धका बारेका जानकारी दिन्छन् । हरेक दिन बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म कक्षा चल्छ । शनिबार र आइतबार भने विद्यालय बन्द रहन्छ । गुम्बा व्यवस्थापन समितिले बालकहरूका लागि निःशुल्क अध्ययन र खाने बस्ने बन्दोबस्त मिलाएको छ । यहाँ अध्ययन गर्ने अधिकांश विद्यार्थी गरिब परिवारका छन् । यो गुम्बा असहाय बालकहरूको सहारासमेत भएको छ ।
पाँच कक्षाको पढाइ पूरा गरेपश्चात् कोही गुम्बामै बुद्धको अनुयायी बनेर बस्छन् भने केही थप अध्ययनका लागि काठमाडौं वा भारतको गयासम्म पुग्ने गुम्बा विद्यालयका प्रधानध्यापक पुरुषोत्तम लामिछानेले बताए ।
यहाँ हाल कास्की, तनहुँ, मनाङ, डोल्पा, मुगु, मुस्ताङ, डोटी, प्युठान, लमजुङ आदि जिल्लाका बालकहरू छन् । यहाँ विद्यार्थीले नेपाली, अंग्रेजी तथा तिब्बतीयन भाषा एकसाथ सिक्न पाउँछन् ।
स्कुल सञ्चालन भएको समयमा त्यहाँ बुद्ध दर्शनको ज्ञान लिइरहेका बालकहरू फेला पर्छन् । उनीहरू हरेक दिन रुचिपुर्वक बुद्धको दर्शन, भगवान् गौतम बुद्धको इतिहास आदि अध्ययन गर्छन । कक्षा १ देखि ५ सम्म पढाइ हुने यो विद्यालयमा ४० जना बालक अध्ययनरत छन् । भविष्यमा गएर बुद्धको अनुयायी, बुद्धको चेला, लामा गुरु बन्ने उनीहरूको लक्ष्य छ । बौद्ध धर्मका धर्मगुरुलाई लामा भनिन्छ । रमणीय ठाउँमा अवस्थित गुम्बा विद्यालयमा अध्ययन गर्न पाउँदा उत्साहित भएको छात्रहरू बताउँछन् ।
यहाँ अध्ययन गर्ने विद्यार्थी हुन्— मुगुका १३ वर्षीय तेन्दुप लामा । उनी चार वर्षदेखि त्यहाँ अध्यनरत छन् । लामा गुरु बन्ने उनको लक्ष्य छ । ४ कक्षामा अध्ययनरत दुन्डुप लामालाई साथीहरूसँग यसरी पढ्न पाउँदा रमाइलो लाग्छ । कहिलेकाहीं आमा–बाबा भेट्न आउने गरेको लामाले बताए । खार्मा नाल्जो पनि लामा गुरु बन्ने लक्ष्यका साथ यहाँ अध्ययनरत छन् ।
डोल्पाका ५ वर्षीय राप्के १ कक्षामा अध्ययनरत छन् । बाबाले ल्याएर यहाँ छोडेको बताउने राप्केको लक्ष्य पनि लामा बन्ने नै हो । तनहुँका १० वर्षीय विकास तामाङलाई पढाइमा रुचि छ । उनी पनि सोही विद्यालयमा आफ्नो क्षमता विकास गर्दैछन् । जीवन रोकाया २ कक्षामा अध्ययनरत छन् । लामा बन्ने रहर बुनेका रोकाया फुटबल खेल्न औधी रुचाउँछन् ।
अब निकट भविष्यमा कक्षा थप्ने योजनाका साथ काम अघि बढेको विद्यालयका शिक्षक दुर्गाप्रसाद पौडेलले बताए । विगत पाँच वर्षदेखि यहाँ अध्यापन गराइरहेका शिक्षक पौडेलले बालकहरूको सिक्ने भोक मेटाउन आफूहरूले निकै मेहनत गरेको जनाए । यहाँ विद्यार्थीहरू लामा गुरु तथा गुम्बाको सम्पर्कको माध्यमबाट देशभरबाट आउने जानकारी उनले दिए । यो विद्यालयमा अक्षर नचिनेका देखि अलि–अलि अक्षर चिनेकासम्म आउँछन् । जिल्ला शिक्षा कार्यालय तथा गुम्बा व्यवस्थापन समितिको नियममा रही यहाँ भर्ना लिइन्छ ।
बुद्ध दर्शनको सबै अध्ययन पूरा गर्न लामो समय लाग्छ । सबै अध्ययन पूरा गर्न भारतको गया जानुपर्छ । १५ वर्षमा डिग्री पूरा हुन्छ । यहि विषयमा पिएचडीसमेत गर्न सकिन्छ ।
गुम्बा प्रमुख कार्तो गुरुङले माटेपानी गुम्बा २०१६ सालमा स्थापना भएको बताए । मनाङका गुरुङ विगत ३२ वर्षदेखि यो गुम्बामा बसेर बुद्ध दर्शन तथा बुद्ध धर्मका बारेमा नयाँ पुस्तासँग ज्ञान बाडिरहेका छन् ।
त्यहाँ पुग्ने विद्यार्थीलाई आफ्नो वास्तविक नामलाई तिब्बतियन भाषामा लामा गुरुले नाम राखिदिने चलन छ । त्यसपछि विद्यार्थीहरूलाई लामा गुरुले राखेको नामबाटै बोलाइन्छ । ५ कक्षा पश्चात्को पढाइ यहाँ नहुँदा उनीहरूलाई समस्या छ ।
माटेपानी गुम्बा व्यवस्थापन समितिका सचिव पूर्णबहादुर भुजेल स्कुलमा १ सय जना सम्मलाई अध्यापन गराउन सकिने बताउँछन् । निजी स्रोतबाट अध्ययन गराउँदा समस्या भएकाले सरकारले दरबन्दी थपिदिए सहज हुने उनले बताए । हरेक वर्ष यहाँ कोटा सिस्टममा भर्ना लिइन्छ जसमा दुर्गमका तथा अभिभावक नभएका बालक पहिलो प्राथमिकतामा पर्छन् ।