साप्ताहिक संवाददाता
गत साता चलचित्र वीर वित्रम–२ प्रदर्शनमा आयो । यो चलचित्रले सबैतिरबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ । यस्तै, व्यापारिक हिसाबले पनि यो चलचित्रले राम्रो व्यापार गरेको बताइन्छ । निर्देशक तथा निर्माता मिलन चाम्सका अनुसार मंगलबारसम्म यो चलचित्रले करिब २ करोड ४९ लाखको हाराहारीमा व्यापार गरेको छ । त्यसैले चलचित्र नाफामा जानेमा ढुक्क भएको चाम्स बताउँछन् । मिलन भन्छन्, ‘बुधबारसम्म पनि वीर विक्रम–२ हेर्न आउने दर्शकको भीड निकै छ, सबै सो हाउसफुल भएका छन् त्यसैले चलचित्रले राम्रो नाफा कमाउनेमा ढुक्क छु ।’
यो त भयो चलचित्रको व्यावसायिक पक्ष । चलचित्रको विषयवस्तु एवं प्रस्तुति पनि निकै राम्रो छ । वीर (पल शाह) र विक्रम (नाजिर हुसेन) बाल्यकालका साथी हुन् । मुस्ताङको कुन्जो गाउँमा हुर्किएका उनीहरूले विभिन्न कारणले गाउँ छाड्छन् । किशोरावस्था सुरु हुनै लाग्दा गाउँ छाडेका वीर र विक्रम जब वयस्क हुन्छन् उनीहरूले आफूले बाल्यावस्थामा धुलोमाटो गरेको गाउँलाई बिर्सन सक्दैनन् । उनीहरू कुन्जो फर्कन्छन् । गाउँ फर्कने बेलासम्म पनि यी दुई एकदमै मिल्ने साथी हुन्छन् । गाउँ फर्किएपछि यी दुईको मित्रतामा दरार उत्पन्न हुन्छ किन भने उनीहरूले त्यहाँ बादललाई (वर्षा शिवाकोटी) भेट्छन् । दुवैले बादललाई मन पराउँछन् । दुवैजना बादललाई आफ्नो प्रेममा पार्ने ध्येयमा लाग्छन् । बादलसँगको प्रेमकै कारण यी दुईको मित्रतामा कटुता उत्पन्न हुन्छ । यही कथाको वरिपरि घुमेको छ चलचिक्र वीर वित्रम–२ । यसका साथै चलचित्रको पटकथा, पात्र र भूतको प्रसंगले दर्शकहरूलाई बाँधेर राख्छ ।
चलचित्रमा निर्देशकले उत्कृष्ट काम गरेका छन् भने कलाकारहरूले पनि आफ्नो पक्षबाट राम्रो काम देखाएका छन् । छायाँकन पक्ष उत्कृष्ट छ । यस्तै गीत–संगीतलाई पनि चलचित्रमा उत्कृष्ट ढंगले समावेश गरिएको छ । वीर विक्रम–२ मा मनोरन्जन, एक्सन तथा इमोसनका पार्टहरूलाई सशक्त ढंगले प्रस्तुत गरिएको छ । वीर विक्रम–२ को प्रिमियर शोमा पुगेका कलाकारले चलचित्र हेरिसकेपछि दिएको प्रतिक्रिया यस्तो छ :
चलचित्र एकदमै रमाइलो छ । सबै कलाकारले आ–आफ्नो ठाउँबाट राम्रो भूमिका निर्वाह गर्नुभएको छ । नाजिर र पल मलाई पहिलेदेखि नै मनपर्ने अभिनेता हुन् । त्यसमा पनि म बुद्धि तामाङको फ्यान भएँ । उहाँले बागबहादुर पात्रको भूमिकामा अभिनय गर्नुभएको छ । उहाँको अभिनय दमदार छ । चलचित्र हेरुन्जेल कतै बोरिङ फिल हुँदैन । म यो चलचित्रको सम्पूर्ण टिमलाई बधाई दिन्छु ।
प्रमोद खरेल, गायक
कलरफुल चलचित्र छ । स्टोरीले ग्रिप गरेको छ । यसका साथै चलचित्रमा क्यारेक्टर राम्रोसँग स्थापित गरिएको छ । व्यक्तिगत रूपमा भन्नुपर्दा यो चलचित्रमा म नाजिर हुसेनको अभिनयबाट प्रभावित भएँ । यस्तै वर्षा र पलको अभिनय पनि एकदमै राम्रो लाग्यो । बीर र बीक्रमको फ्रेन्डसिपले निकै भावुक बनायो । उनीहरूको अभिनय हेरेपछि मलाई आफ्नो बाल्यकालका साथीहरूको सम्झना आयो । यति राम्रो चलचित्र बनाउनु भएकोमा निर्देशक मिलन चाम्स लगायत चलचित्रको सम्पूर्ण टिमलाई बधाई ।
सन्दीप क्षेत्री, हास्य कलाकार
एकदमै राम्रो लाग्यो । धेरैवर्ष पछि राम्रो चलचित्र हेर्न पाएँ । आगामी दिनमा पनि यस्तै चलचित्र बनुन् । यति राम्रो चलचित्र बनाउनु भएकोमा निर्देशक मिलन चाम्सलाई धन्यवाद तथा बधाई । चलचित्रमा समावेश सम्पूर्ण कलाकारले एकदमै राम्रो अभिनय गर्नुभएको छ । वीर विक्रम–२ एकपटक हेर्नैपर्ने चलचित्र हो ।
शिव श्रेष्ठ, अभिनेता
यो चलचित्र भरपुर मनोरन्जन प्रदान गर्न सफल छ । निर्देशक मिलन चाम्सको काम एकदमै उत्कृष्ट छ साथै कलाकारहरूले पनि निकै राम्रो अभिनय गर्नुभएको छ । यो चलचित्रले आम दर्शकको मन जित्ने पक्का छ । वीर विक्रम–२ मा दुईजना साथीको कथा रहेछ । कुनै समय मेरो र शिव श्रेष्ठको पनि यस्तै चलचित्र बनेका थिए । त्यसैले यो चलचित्रले मेरो र शिवको पुराना दिनलाई याद दिलायो ।
भुवन केसी, अभिनेता
एकदमै राम्रो लाग्यो । यो चलचित्रमा मनोरन्जन, एक्सन र इमोसनका पार्टहरू सशक्त छन् । चलचित्रका कलाकारहरू सबैको अभिनय एकदमै राम्रो छ । मलाई नेपाली चलचित्र हेर्न साइत जुरेको थिएन अहिले आएर जुर्यो । धेरैपछि निकै राम्रो नेपाली चलचित्र हेर्ने मौका पाएँ, त्यसैले खुसी छु । चलचित्र हेर्दै जाँदा अन्तिममा त म निकै भावुक पनि भएँ ।
तेरिया मगर, डान्सर