गत शनिबार तेस्रो संस्करणको पोखरा लिटरेचर फेस्टिभल सम्पन्न भएको छ । फरक शैलीमा सञ्चालन हुने यो फेस्टिभलको थिम विमल दाहालको हो । उनी अरूभन्दा केही फरक गर्न चाहन्छन् । दाहाल छन् पनि उस्तै । उनले लगाउने पहिरन, हिँड्ने तथा बोल्ने शैली आदिमा केही फरकपन देखिन्छ । दाहालकै कन्सेप्टमा पोखरा थिएटरको गन्धर्व नाटकघरमा तेस्रो संस्करणको फेस्टिभल सम्पन्न गरिएको हो ।
लक्ष्य जे थियो त्यसमा म सफल भएँ । फेस्टिभल सकिनेबित्तिकैको उनको प्रतिक्रिया थियो । दाहालले यो फेस्टिभलको प्रचार–प्रसारमा त्यति समय खर्चेनन् । सामान्य जानकारी सामाजिक सञ्जाल, रेडियो, अनलाइन अनि फोनबाट दिएका थिए । जो–जो हेर्न आए उनीहरू सन्तुष्ट भएर फर्किए । तीन घण्टासम्ममा धेरै फरक खालका प्रस्तुति नियाल्ने अवसर महोत्सवले प्रदान गर्यो ।
बुद्धजयन्तीका दिन शिव संकल्पको गौतम बुद्धको पाली भाषाको उपदेश पञ्चशील तथा संस्कृत सम्भाषणसहितको कालीदासको काव्यपाठबाट फेस्टिभल सुरु भयो । वसन्त गौतमले मातृभाषाको महत्वका सम्बन्धमा बोल्दै ‘सामाजिक शिक्षा नेपालीमा’ अभियानका बारेमा प्रकाश पारे । सञ्जीव पौडेलले बीपी कोइरालाको ‘पोखरा’ शीर्षकको कविता पाठ गरे । यसरी एक पछि अर्को प्रस्तुती राख्ने क्रम चल्दै गए ।
बर्ता गन्धर्वको गायन एवं सारङ्गीको धुनले उपस्थित सबैको ध्यान तान्यो । यस्तै ज्योति भट्टचनको थकाली कविता, सिलास केसीको दिल्लीको जीबीरोडको ‘कोठा नम्बर ६४’मा नेपाली चेलीहरूले भोग्नुपरेको दर्दनाक यातना, जैनब खातुनको नेपाली मुस्लिम महिलाले सामना गरेका प्रश्नहरू, अर्जुन गिरीको अपराध रिपोर्टिङ तथा साइबर अपराधसम्बन्धी अनुभव फेस्टिभलका आकर्षण थिए ।