साप्ताहिक संवाददाता
संसारकै सबैभन्दा ठूलो गेम डेभलपर कम्पनी मध्ये एक रकस्टार गेम्सले आफ्नो ग्रान्ड थेफ्ट अटो (जीटीए) सिरिजको अर्को गेम जीटीए–६ ल्याउने भएको छ । उक्त गेमलाई हालसम्मकै उत्कृष्ट ग्राफिक्सका साथ उपलब्ध गराइने दाबी गरिएको छ । जीटीए–६ गेमलाई सन् २०२० को मध्यतिर लन्च गर्ने योजना छ । यद्यपि उक्त गेमलाई आकर्षक बनाउँदा यसको मेमोरी पनि निकै बढेको छ ।
पछिल्लो प्रविधि समेत प्रयोग गरिएकोले जीटीए–६ ले हाल प्रचलित एक्सबक्स ३६० र पीएस–४ जस्ता गेमिङ कन्सोलमा काम गर्ने छैन । यसका लागि हाई इन्ड ग्राफिक मेमोरी भएको सोनी प्ले स्टेसन–५ को आवश्यकता पर्नेछ । यसको अर्थ यो गेम बजारमा उपलब्ध हुनु भन्दा पहिले नै सोनी प्ले स्टेसन– ५ पनि बजारमा उपलब्ध भैसक्नेछ ।
जीटीए सिरिजलाई संसारकै सबैभन्दा लोकप्रिय भिडियो गेम मध्ये एक मानिन्छ । यसको पहिलो संस्करण अर्थात जीटीए १ सन् १९९० मा लन्च भएको थियो । यसले धेरै ठूलो सफलता हासिल गरे पश्चात रकस्टार गेम्सले त्यसका अन्य सिरिज समेत उपलब्ध गराएको थियो । ६ वर्ष पहिले लन्च भएको जीटीए–५ ले पनि ठूलै सफलता हासिल गरेको छ ।