साप्ताहिक संवाददाता
गत शुत्रबारदेखि सार्वजनिक प्रदर्शनमा आएको चलचित्र ‘जात्रै जात्रा’ ले दर्शक, कलाकार तथा समीक्षक सबैबाट सकारात्मक प्रतिक्रिया पाएको छ । यसअघि चलचित्र जात्रा तथा शत्रुगतेको निर्देशन गरेर सफलताको स्वाद चाखिसकेका निर्देशक प्रदीप भट्टराई जात्रै जात्रामार्फत सफलताको ह्याट्रिक गर्न सफल भएका छन् । चलचिक्रले शुत्रबारदेखि मंगलबारसम्ममा करिब साढे तीन करोड रुपैयाँको ग्रस कलेक्सन गरेको निर्देशक भट्टराईले जानकारी गराएका छन् ।
दुई वर्षअघि प्रदर्शन भएको चलचित्र जात्राको सिक्वेलका रूपमा प्रस्तुत चलचित्र हो– जात्रै जात्रा । जात्राको कथा जुन बिन्दुमा पुगेर टुंगिएको थियो, जात्रै जात्राको कथा ठीक त्यहींबाट प्रारम्भ हुन्छ । दर्शकहरूले लामो समयदेखि प्रतीक्षा गरिरहेको यो हास्य प्रधान चलचित्रले दर्शकहरूलाई यसरी बाँधेर राख्छ कि चलचित्र हेरुञ्जेल दर्शकले अरू कुरा सोच्नै भ्याउँदैनन् । निर्देशक भट्टराईले पटकथामा गरेको मेहनत चलचित्रको पर्दामा छर्लङ्ग देखिन्छ ।
चलचित्र तीन जना साथी (विपिन कार्की, रवीन्द्र झा तथा रवीन्द्र सिंह बानियाँ) को वरिपरि घुमेको छ । जात्रै जात्रामा नक्कली पैसाका कारण जेल गएका तीन जना साथी जेलबाट छुटेपछि पुनः कस्तो प्रकारको आर्थिक संकटमा पर्छन् भन्ने कुरालाई आकर्षक शैलीमा चित्रण गरिएको छ । २ घण्टा १७ मिनेट लामो यो चलचित्रको कथा मुख्य पात्र फडिन्द्र (विपिन कार्की) ले सडकमा सुन फेला पारेपछि रोमाञ्चक शैलीमा अघि बढ्छ । फडिन्द्रले उक्त सुनलाई सकेसम्म लुकाउने प्रयास गर्छन्, तर उनका बाँकी दुई साथीबाट यो कुरा लुक्न सक्दैन । तीनै जनाले त्यो सुन तीन भाग लगाउने निर्णय गर्छन्, जुन कार्य उनीहरूले सोचेजस्तो सहज छैन । सुन तस्करहरूको निगरानीमा रहेका तीनै जनाले तस्करहरूबाट उक्त सुन फुत्काउन र लुकाउन गरेको प्रयास मै चलचित्र केन्द्रित छ ।
विगतको ३३ किलो सुन काण्डलाई सम्झाउनु यो चलचित्रको रोमाञ्चक पक्ष हो । मुख्य पात्र विपिन कार्कीको अभिनय तथा संवाद बोल्ने शैली जात्रै जात्रा अर्को रोचक पक्ष हो । विपिन चलचित्रका प्रायः सबै दृश्यमा जमेका छन् । विपिनको साथीका रूपमा प्रस्तुत भएका रवीन्द्र झा तथा रवीन्द्र सिंह बानियाँको अभिनयमा पनि जादू छ । अभिनेत्री वर्षा राउतले विपिनकी श्रीमतीका रूपमा प्रभावकारी काम गरेकी छिन् । बाल कलाकार अरविन खड्काले दर्शकको आँखा रसाउने अभिनय गरेका छन् ।
चलचिक्रले शुत्रबार र शनिबार आक्रामक व्यवसाय गरेको छ । आइतबारदेखि बुधबारसम्म पनि मल्टिप्लेक्स तथा सिंगल थिएटरमा दर्शकको संख्या घटेको छैन । काठमाडौं बाहिरका सहरका सिनेमा हलहरूमा पनि दर्शकहरूको बाक्लो उपस्थिति देखिएको छ । यो हिसाबले चलचित्र जात्रै जात्रालाई वर्षकै पहिलो सुपरहिट चलचित्रभन्दा फरक पर्दर्नै ।
कसले के भने ?
धेरैपछि राम्रो चलचित्र जात्रै जात्रा हेर्ने अवसर जुर्यो । सिनेमा हेरुञ्जेल मज्जा आयो । पैसा खेर जाँदैन । मज्जाले हाँस्दै सिनेमाको आनन्द लिन मन छ भने समय मिलाएर एकपटक अवश्य हेर्नुहोला ।
अर्जुन घिमिरे पाँडे’, अभिनेता
चलचित्र सलल बगेको छ, कतै दिक्क लाग्दैन ।
मदनकृष्ण श्रेष्ठ, बरिष्ठ कलाकार
म आफ्नो सन्तान (निर्देशक प्रदीप भट्टराई) को कामबाट निकै सन्तुष्ट भएको छु । मलाई मेरो छोरामाथि गर्व छ । हाम्रो पछिल्लो चलचित्र दाल भात तरकारीको तुलनामा जात्रै जात्रा राम्रो छ । दाल भात तरकारीमा नाटकको स्वाद दिन खोजिएकाले दर्शकहरू पूर्ण सन्तुष्ट हुन पाउनु भएन ।
हरिवंश आचार्य, बरिष्ठ कलाकार
चलचित्र एकदमै राम्रो बनेको छ । दर्शकले पूरा मनोरञ्जन पाउनु हुनेछ । चलचित्रमा कुनै पनि नराम्रो कुरा छैन । चलचित्र राम्रो हुन सबै कुराको मिश्रण हुनुपर्छ । त्यही भएर जात्रै जात्रा उत्कृष्ट भएको हो । चलचित्रको पटकथा र कथा राम्रो नहुँदा राम्रा चलचित्र नबनिरहेको सन्दर्भमा जात्रै जात्रामा ती कुरा पनि समावेश भएकाले यो उत्कृष्ट सावित भएको हो ।
भुवन केसी, अभिनेता
चलचित्र भित्र स–साना कुराहरू पनि समेटिएका छन्, जसले इमोशनल बनाउँछ । दर्शकले अरू कुरा सोच्न फुर्सद नपाउने भएकाले पनि ‘जात्रै जात्रा’ उत्कृष्ट भएको हो ।
करिश्मा मानन्धर, अभिनेत्री
निर्देशक : प्रदीप भट्टराई
कलाकार : विपिन कार्की, रवीन्द्र झा, रवीन्द्र सिंह बानियाँ, वर्षा राउत, दयाहाङ राई, राजाराम पौडेल आदि ।