साप्ताहिक संवाददाता
काठमाडौं उपत्यकाको प्रदूषण घटाउन काठमाडौंवासीलाई नै यहाँबाट लखेट्नुपर्छ ।
पृथ्वीराज प्रसाईं, अभिनेता
काठमाडौंमा मात्र होइन, आजभोलि जताततै प्रदूषण बढेको छ । प्रदूषण कम गर्न सबैभन्दा पहिले फ्रत्येक व्यक्ति सचेत हुनु जरुरी छ । हाम्रा सानातिना लाग्ने त्रियाकलापकै कारण प्रदूषण बढिरहेको छ भन्ने कुरा बुझ्नुपर्छ । काठमाडौंको कुरा गर्ने हो भने यहाँ पर्याप्त बोटबिरुवा नहुनु सबैभन्दा ठूलो दुर्भाग्य हो । उपत्यकाका खाली ठाउँमा वृक्षारोपण गर्न सकियो भने पनि धेरै हदसम्म प्रदूषण कम गर्न सकिन्छ ।
लक्ष्मी बर्देवा, अभिनेत्री
पहिले आफैंबाट सुरु गर्नुपर्छ । आफ्नो घर–टोल सफा राख्ने सबैको इच्छा भयो भने उपत्यका मात्र होइन, पूरै देश प्रदूषण मुक्त हुन्छ ।
सविन श्रेष्ठ, अभिनेता
गाउँतिरै गएर बस्नुपर्ला ।
केदार घिमिरे, हास्य अभिनेता
धूलोको स्रोत पहिचान गरेर त्यसको व्यवस्थापन गर्नुपर्छ । खाल्डाखुल्डी पुर्ने, सडक किनारमा वृक्षारोपण गर्ने तथा सार्वजनिक जग्गा संरक्षण त्यसको उपाय हुनसक्छ ।
रामनाथ खनाल, सञ्चारकर्मी तथा लेखक
व्यवस्थित सवारी परिचालन, चौडा सडक तथा व्यवस्थित ढल निर्माण ताकि सडकमा जम्मा भएको धुलो पानीसँगै बगेर जाओस् ।
मुकुन भुसाल, अभिनेता
सडक, पानी, ढल अनि तारका सम्पूर्ण निकाय एक ठाउँमा बसेर बैठक गरी आ–आफ्नो काम पूरा गर्नुपर्छ । यी निकाय मिलेर सययमै आफ्नो काम सिध्याए भने बाटो आफैं सफा हुन्छ । बाटो सफा भएपछि आधाभन्दा बढी प्रदूषण कम हुन्छ । अर्को कुरा फोहोरको व्यवस्थापन प्रत्येक दिन हुनुपर्छ । फोहोर जथाभावी नफाल्न मानिसहरूलाई जागृत गर्नुपर्छ । यदि जानीजानी कसैले फोहोर गरे अथवा जथाभावी फोहोर फाले हदैसम्म कारबाही हुनुपर्छ ।
श्रीदेव भट्टराई, अभिनेता
पहिलो कुरा आफू बस्ने ठाउँ वरपर फोहोर गर्नु हुँदैन भनेर जनमानसलाई सचेत गराउनुपर्यो । यसरी हरेक मानिसले आफू बस्ने ठाउँ वरिपरि सफा राख्ने मानसिकताको विकास भयो भने उपत्यकाको प्रदूषणको कमी आउला कि ?
शान थापा, निर्देशक
काठमाडौं उपत्यकाका हरेक नागरिकलाई यहाँको प्रदूषण रोक्न व्यक्तिगत तथा संस्थागत रूपमा सचेत गराउन जरुरी छ । अर्को कुरा प्रदूषण घटाउने अभियान ‘म’ बाट सुरु गर्नुपर्छ ।
अनिलकेशरी शाह, बैंकर
सबैभन्दा पहिले हरेक नागरिकमा चेतनाको विकास गराउनुपर्छ । सरकारले सजाय र पुरस्कारको व्यवस्था गर्नुपर्छ । विकास–निर्माणको काम चुस्त र प्रभावकारी ढंगले सम्पन्न गर्नुपर्छ ।
राजनराज शिवाकोटी, गायक तथा संगीतकार
उपत्यकाको प्रदूषण कम गर्न सबैभन्दा पहिले निर्माणाधीन सडकहरू छिटोभन्दा छिटो सक्नुपर्छ । त्यसपछि मात्र यहाँको प्रदूषणमा कमी आउँछ ।
कुलेन्द्र विश्वकर्मा, गायक
सबैभन्दा पहिले निष्पक्ष हिसाबले प्रदूषित गाडीहरू बन्द गर्नुपर्छ । पैसाको भरमा प्रदूषित गाडीहरू टन्नै कुदिरहेका छन् । अर्को जनता आफैं पनि सजग हुनुपर्छ । स्वार्थ छाडेर सकारात्मक बन्न सक्नुपर्छ ।
आनन्द राई, संगीतकार
वातावरण स्वच्छ राख्न सबैभन्दा आवश्यक र महत्वपूर्ण चिज भनेको पानी हो । काठमाडौंमा पानीको अभाव छ । मेलम्चीलगायतका ठूला परियोजना चाँडोभन्दा चाँडो सक्ने, रूख तथा फूलहरू रोप्ने, पुराना थोत्रा गाडीहरू हटाउने, धूलो तथा धूवाँजन्य पदार्थ निस्कने कल–कारखाना उपत्यका बाहिरमात्र सञ्चालन गर्ने नीति कडाइका साथ लागू भए केही हदसम्म प्रदूषण हट्छ ।
बादल घिमिरे, गायक तथा संगीतकार
काठमाडौंलाई प्रदूषित हुनबाट जोगाउन सबैभन्दा पहिले सडक कालोपत्रे हुनुपर्छ । बाटो बनाउन भन्दै जता पनि भत्काइरहने तर लामो समयसम्म काम सम्पन्न नगर्दा धूलो उडिरहेको छ, जसले गर्दा काठमाडौंको आकाश खुलेको कमै देख्न पाइन्छ । यस्तै सवारी साधन र ट्राफिक चाप नियन्त्रण गर्ने, सडकका छेउछाउ र बाँकी रहेका सार्वजनिक जग्गामा वृक्षारोपण गर्ने हो भने उपत्यकाको प्रदूषण धेरै हदसम्म कम हुन्छ ।
मीनराज वसन्त, साहित्यकार
उपत्यकामा धूलो उड्ने कच्ची सडकहरू कालोपत्रे गर्ने । सडकमा थुपारिएका फोहोर सफा गरेर जथाभावी फोहोर फाल्न नियन्त्रण गरे प्रदूषण कम हुन्छ । त्यसैगरी उपत्यकाभित्र विभिन्न ठाउँमा बगैंचा–पार्क आदि निर्माण गरी फूल तथा बोट बिरुवा रोप्न सके पर्यावरणमा सकारात्मक सुधार आउन सक्छ ।
महेश काफ्ले, गायक
सचेतना । जहाँ पायो त्यहीं फोहोर नगर्ने चेतना अभिप्रेरित गर्ने र बढी धूवाँ फाल्ने पुराना– थोत्रा सवारी साधनमा रोक लगाउने हो भने काठमाडौं उपत्यकाको प्रदूषण केही हदसम्म कम गर्न सकिन्छ ।
प्रकाश सपूत, गायक
सबैभन्दा पहिले वृक्षारोपण गर्नुपर्छ अनि धूवाँरहित सवारी साधन चलाउने नियम ल्याए उपत्यकाको प्रदूषण निकै कम हुन्छ ।
झरना थापा, अभिनेत्री तथा निर्देशक
छोटो दूरीका लागि गाडी प्रयोग गर्ने अनि इलेक्ट्रिकल सवारी साधनलाई प्राथमिकता दिने हो भने पक्कै पनि उपत्यकाको प्रदूषण कम हुन्छ ।
बिनु शाक्य, मोडल
सडकमा जथाभावी फोहोरमैला फाल्नेलाई कडाभन्दा कडा कारबाही गर्नुपर्छ, किनभने जथाभावी फोहोर फालेकै कारण उपत्यकामा प्रदूषण बढिरहेको छ ।
बन्दना नेपाल, नृत्याङ्गना