जेठ १६ गतेदेखि इंग्ल्यान्डमा एकदिवसीय क्रिकेटको १२ औं संस्करण प्रारम्भ हुँदैछ । राउन्ड रोबिन आधारमा खेलाइने यो विश्वकपमा आयोजक इंग्ल्यान्डसहित वेस्ट इन्डिज, दक्षिण अफ्रिका, श्रीलंका, भारत, पाकिस्तान, अफगानिस्तान, बंगलादेश, अस्ट्रेलिया, न्युजिल्यान्डलगायतका मुलुकहरू सहभागी हुँदैछन् । झन्डै एक महिनासम्म चल्ने यो विश्वकप प्रारम्भ हुँदा साप्ताहिक अनलाईनले आफ्ना पाठकका लागि विश्वकप क्रिकेटको इतिहास प्रस्तुत गरेको छ ।
सन् १९७१ मा इंग्ल्यान्ड र अस्ट्रेलियाबीचको टेस्ट लगातार वर्षाले बिथोलिएपछि निराश भएका दर्शकको मन बहलाउन ४० ओभर (प्रत्येक ओभरमा ८ बल) को खेल खेलाउने क्रममा एक दिवसीय क्रिकेटको जन्म भएको थियो । सन् १९७१ मा पहिलो एकदिवसीय क्रिकेट खेलिए पनि सन् १९७५ सम्म आइपुग्दा क्रिकेटको यस्तो ढा“चाको खेल जम्मा १८ वटा खेलिएको थियो । पहिलो एक दिवसीय क्रिकेट खेलिएको चार वर्षपछि नै सन् १९७५ को जुन महिनामा पहिलो पटक इंग्ल्यान्डमा विश्वकप क्रिकेटको आयोजना गरिएको थियो ।
यो प्रतियोगिताको प्रायोजन प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले गरेका कारण त्यसबेला यसलाई विश्वकप नभनी प्रुडेन्सियल कप भनिएको थियो । त्यसबेला यो विश्वकपका सबै खेलहरू ६० ओभरमा खेलाइएको थियो । खेलाडीहरूले पनि टेस्ट क्रिकेटमा जस्तै परम्परागत सेतो पहिरन लगाएर खेलेका थिए । खेलाडीहरूलाई उनीहरूको पोसाकको आधारमा ठम्याउन सकि“दैनथ्यो ।
७ देखि २१ जुनसम्म चलेको पहिलो विश्वकपमा ६ टेस्ट राष्ट्रबाहेक आमन्त्रितका रूपमा श्रीलंका र इस्ट अफ्रिकाले सहभागिता जनाएका थिए । इस्ट अफ्रिकाका लागि यही नै पहिलो र अन्तिम विश्वकप थियो । समूह चरण राउन्ड रोबिनमा एवं सेमी फाइनलदेखि नकआउट फम्र्याटमा खेलाइएको यो विश्वकपमा सहभागी ८ देशले कुल १५ खेल खेले । यो विश्वकपमा सर्वाधिक रन न्युजिल्यान्डका ग्लेन टर्नर (३३३ रन) ले बनाए भने अस्ट्रेलियाका गेरी गिल्मरले सर्वाधिक ११ विकेट लिए । यो विश्वकपको उद्घाटन खेलमा डेनिस एमिसको शतकको सहयोगमा इंग्ल्यान्डले ४ विकेटको क्षतिमा बनाएको ३ सय ३४ रन उच्चतम स्कोर थियो । यसै विश्वकपमा भारतका सुनिल गावस्करले पूरै ६० ओभर खेलेर पनि केवल ३६ रन मात्र बनाएका थिए । यसैकारण भारतका समर्थकहरूले निकै रिसाएर बारम्बार मैदान छिर्ने प्रयास गरेका थिए ।
प्रत्येक समूहका शीर्षस्थ दुई टोली सेमी फाइनलमा पुग्ने नियमका कारण इंग्ल्यान्ड, न्युजिल्यान्ड, वेस्ट इन्डिज र अस्ट्रेलिया सेमिफाइनलमा पुगेका थिए । यो विश्वकपमा भारतीय उपमहाद्वीपबाट कुनै पनि टोलीले समूह चरण पार गर्न सकेनन् । सेमी फाइनलमा अस्ट्रेलियाले इंग्ल्यान्डलाई ४ विकेटले र वेस्ट इन्डिजले न्युजिल्यान्डलाई ५ विकेटले पराजित गरी फाइनलमा प्रवेश गरेका थिए ।
३० हजार दर्शक क्षमताको लर्ड्स मैदानमा भएको फाइनल खेलमा पहिले ब्याटिङ गर्दै कप्तान क्लाइभ लोयडको शतकको मद्दतमा वेस्ट इन्डिजले ८ विकेटको क्षतिमा २ सय ९१ रन बनाएको थियो । जवाफमा अस्ट्रेलियाले २ सय ७४ रन मात्र बनाउन सकेको थियो । अस्ट्रेलियाका ५ खेलाडी रन आउट भएका थिए, तीमध्ये ३ जनालाई विवियन रिचर्ड्सले रन आउट गरेका थिए । यसरी अस्ट्रेलिया १७ रनले पराजित हु“दा वेस्ट इन्डिज पहिलो विश्वकप क्रिकेटको विजेता बनेको थियो । फाइनल खेलका लागि वेस्ट इन्डिजका कप्तान क्लाइभ लोयड म्यान अफ द म्याच घोषित भएका थिए । यो विश्वकपमा म्यान अफ द सिरिज घोषणा गर्ने चलन आइसकेको थिएन ।