साप्ताहिक संवाददाता
गुगलले गत साता सम्पन्न गरेको वार्षिक डेभलपर कन्फ्रेन्स ‘गुगल आई/ओ’ मा एन्ड्रोइड स्मार्टफोनदेखि पछिल्लो भर्सनको अपरेटिङ सिस्टम ‘एन्ड्रोइड क्यू’ उपलब्ध गराउने घोषणा गरेको छ । यसको बिटा भर्सन यही वर्ष नै बजारमा उपलब्ध हुने बताइएको छ । उक्त नयाँ अपरेटिङ सिस्टममा धेरै नयाँ फिचर उपलब्ध हुनेछन् र यसबाट आगामी दिनमा स्मार्टफोन चलाउन अझ सहज हुनेछ ।
गुगलले १३ ब्रान्डका १५ किसिमका स्मार्टफोनमा उक्त नयाँ अपरेटिङ सिस्टम एन्ड्रोइड क्यू छिट्टै उपलब्ध हुने बताएको छ । यसमा पिक्सेल सिरिजका स्मार्टफोन पनि सामेल छन् । गुगलले हाल विश्वभर २ अर्ब ५० करोड डिभाइस एन्ड्रोइड अपरेटिङ सिस्टममार्फत चलिरहेको दावी गरेको छ ।
आधुनिक नोटिफिकेसन
म्यानेजमेन्ट कन्ट्रोल
एन्ड्रोइड क्यूमा प्रयोगकर्ताहरूले नोटिफिकेसनका लागि ‘शो साइलेन्ट्ली’ वा ‘किप अलर्टिङ’ जस्ता अप्सन छान्न पाउनेछन् । आफूलाई आवश्यक नोटिफिकेसन प्रयोग गरी प्रयोगकर्ताले स्मार्टफोन प्रयोग गर्न सक्नेछन् ।
बढ्ने छ स्मार्टफोनको प्राइवेसी
विशेष गरी प्राइवेसीलाई ध्यानमा राखी यो नयाँ अपरेटिङ सिस्टम तयार पारिएको गुगलको दाबी छ । यसमा प्रयोगकर्ताका लागि डेडिकेटेड प्राइवेसी सेक्सन उपलब्ध हुनेछ, जहाँ क्यालेन्डर तथा क्यामेराका साथै अन्य एप्सलाई कन्ट्रोल गर्न सकिनेछ ।
लोकेसन सेयरिङको पुरा जानकारी
आफूले एप उपयोग गरेको समयमा मात्र प्रयोगकर्ताले लोकेसन सेयर गर्न सक्नेछन् । अन्य अवस्थामा लोकेसन सेयर हुनेछैन । हाल आफ्नो लोकेसनलाई ‘अलाउ’ गर्नासाथ एप डेभलपरसँग लोकेसन सेयर हुन्छ ।
डार्क मोड
एन्ड्रोइड क्यूमा प्रि–इन्स्टल्ड डार्क मोड उपलब्ध हुनेछ । यसले सुरुमा कुनै खास एप्सका साथ मात्र काम गर्नेछ । डार्क मोडका कारण अँध्यारो हुँदा पनि सहज रुपमा स्मार्टफोन प्रयोग गर्न सकिनेछ ।
अनडु एप अप्सन
कहिलेकाहीँ गल्तीका कारण कुनै एप हट्न अर्थात अनइन्स्टल हुन सक्छ । यद्यपि अब त्यस्तो एपलाई फेरि फिर्ता लिन सकिनेछ । यसका लागि अनडु एप प्रयोग गर्न सकिनेछ ।
वाइफाई नेटवर्क सेयर गर्न सहज
एन्ड्रोइड क्यूको सहयोगले वाइफाई नेटवर्क सेयर गर्न अझ सहज हुनेछ । क्यूआर कोडको सहयोगले सहज तरिकाले यो कार्य सम्पन्न गर्न सकिनेछ । प्रयोगकर्ताले क्यूआर कोड स्क्यान गर्नासाथ नेटवर्क कनेक्ट हुन्छ ।