सन् २००९ तीर पोखरामा बी–ब्वाइका रूपमा डोविन पुन, नाइन्टी तथा निर्मल गुरुङ सुपरिचित थिए । उनीहरू युट्युबमा भिडियो हेर्दै बी–बोइङका बारेमा जानकारी लिन्थे । त्यतिबेला बी–बोइङलाई मोर्डन तथा स्टन्ट डान्सका रूपमा लिइन्थ्यो । बिस्तारै यसप्रति नयाँ फुस्ताको आकर्षण बढ्दै गयो अनि दि इटर्नल क्रु, साइकिक ब्रेकर्स त्रु जस्ता ग्रुपसमेत खुल्न थाले । पछि सन् २०१२ मा साइकिक ब्रेकर्स र दि इटनल एकीकृत भै इटर्नल साइकिक क्रु को स्थापना गरियो । यो क्रु अहिले फनि सक्रिय छ । त्रुमा सचिन गुरुङ, विक्रम नेपाली, विपिन गुरुङ, सागर पुन, विवेक चौधरी, प्रदिप अधिकारी, साहिल पठान छन् ।
सन् २०१३ मा गण्डकी बी ब्वाइ डान्स ट्रेनिङ सेन्टरले एउटा इभेन्ट आयोजित गर्यो अनि इभेन्टमा भाग लिनेमध्ये केहीले एकीकृत रूपमा सोलमेट्स क्रु स्थापना गरे । ऊक्त त्रुमा प्रिन्स तुलाचन, दावा शेर्पा, रोशन परियार, विशाल गुरुङ, कृतज्ञजंग राणा, मोहन क्षेत्री, कुशल बन्साकाई, सञ्जय गुरुङ, रोशन सेख तथा फ्रमोद गुरुङ सक्रिय छन् । यो त्रु काठमाडौंमा आयोजित फाइनल व्याटल अफ दि एयर–२०१५ को विजेतासमेत हो । यो क्रुले थाइल्याण्ड जाने अवसरसमेत पायो । सोल मेट्स थाइल्यान्डमा साउथ इस्ट एसियन बी–बोइङ ब्याटल कम्पिटिसनमा तेस्रो भयो । त्यसपछि भियतनाम पुगेको यो क्रुका सदस्य प्रिन्स तुलाचन नेपालको प्रतिनिधित्व गर्दै फिलिपिन्स र ताइवानसम्म पुगे ।
पोखरामा सोलो बी–बोइङमा प्रिन्स, सुमन पुन, अजिव गुरुङ, दिवान राई, साहिल गुरुङ आदि सक्रिय छन् । बी–गर्लिङतर्फ मनिषा थापा, सुरुचि थापा, प्रिज्वल गुरुङ, आशिका तामाङ, जुनु गुरुङ आदि सक्रिय छन् । पोखराको अमरसिंह चोकस्थित गण्डकी बी–ब्वाई स्टुडियो बी–बोइङ सिकाउन तल्लीन छ । विक्रम नेपाली, कुशल बन्साकार्य, विशाल गुरुङले त्यहाँ बी–बोइङ सिकाउँछन् । पोखरामा भएका कतिपय डान्स स्टुडियोमा समेत बी–बोइङ सिकाइन्छ ।
बी–बोइङका लागि बाक्लो म्याट तथा त्यसमाथि चिप्लो कार्पेट आवश्यक हुन्छ । टपरक, फुटवर्क, फ्रिज, पावर मुभ बी–बोइङका तत्व हुन् । कम्मरभन्दा माथिल्लो भागले गरिने मुभमेन्टलाई टपरक भनिन्छ ।
खुट्टाले भुइँमा गरिने मुभमेन्ट फुटवर्क हो । यसमा फ्लो रक पनि प्रयोग गर्न सकिन्छ । यो ट्याक–ट्याक रोकिँदै गरिन्छ भने फ्रिजमार्फत स्टेपहरू देखाइन्छ । यो नृत्यको प्रतियोगितामा संगीतको तालमा गरिएको प्रस्तुतिका आधारमा प्वाइन्ट दिइन्छ । धेरै बल लगाएर गरिने प्रस्तुति पावर मुभ हो । यसमा बढी ऊर्जा प्रयोग हुन्छ । बी–बोइङ जोखिमपूर्णसमेत हुन्छ । टाउकाले घुम्ने, हातले घुम्ने आदि स्टेप गर्दा पर्याप्त ध्यान पुर्याउनुपर्छ ।
समय–समयमा बी–बोइङ प्रतियोगितासमेत हुने गरेको छ । यसमा क्रु, सोलो, २ बाई २, ३ बाई ३, ४ बाई ४ जस्ता विधामा प्रतिस्पर्धा हुन्छ । बी–बोइङमा कुनै सदस्य कमजोर देखियो भने क्याप्टेनले तुरुन्त निर्णय गरी ग्रुपका अन्य सदस्य मद्दतका लागि मैदानमा ओर्लन्छन् । यसलाई रुटिङ भनिन्छ । बी–बोइङ गर्न ग्राह्रो तथा जोखिमपूर्ण हुन्छ । यसमा मांसपेशी दुख्छ भने कुनै–कुनै बेला मांसपेशीको तन्तु च्यातिने हुन्छ ।
केही वर्षअघि उचाइमा पुगेको बी–बोइङप्रतिको आकर्षण अहिले केही घटेको बी–ब्वाइ विवेक चौधरी बताउँछन् । विगतमा बी–ब्वाइले एउटा सो को ८ देखि १० हजार रुपैयाँसम्म लिने गरेका थिए, तर अहिले सो नै कम हुन्छ । सो हुँदा कम्तीमा २५ हजार रुपैयाँसम्म लिने गरेका छन् । केहीले विद्यार्थीलाई सिकाएर समेत आम्दानी गर्छन् । पोखरामा महिनाको १ हजार वा तीन महिनाको २ हजार ५ सय रुपैयाँमा बी–बोइङ सिक्न पाइन्छ । बी–बोइङ सिक्नेहरूमा ६ कक्षा पढ्नेदेखि कलेज पढ्नेसम्म छन् ।
बी–बोइङको क्रेज पोखराका अतिरिक्त ललितपुर, भक्तपुर, काठमाडौं, धरान, इटहरी, भैरहवा, बुटवल, झापा, हेटौडा आदि ठाउँमा बढी छ । बी–बोइङ युथ ओलम्पिकमा समावेश भैसकेको छ । जसमा कृतज्ञजंग राणा, सञ्जय गुरुङ, रुपेश महर्जनले भाग लिइसकेका छन् । टप २० मा पर्न सफल रुपेश मर्हजन जापानसम्म पुगेर आए ।
केही समयअघि पोखरामा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितासमेत सम्पन्न गरियो । चीन, कोरिया, भारत, अस्ट्रेलियाका क्रु मेम्बरहरू उक्त प्रतियोगितामा सहभागी थिए । पोखरामा सक्रिय रुपमा बी–बोइङ गर्ने ६० जना युवा–युवती छन् । यहाँका केही स्कुलमा समेत बी–बोइङ सिकाइन्छ । बी–बोइङका बारेमा दर्शकलाई बुझाउन सके यसतर्फको आर्कषण बढ्ने बी–ब्वाइ विवेक चौधरीको विश्वास छ ।
सन् १९६० को दशकमा अमेरिकाको न्युयोर्कबाट यो नृत्य कलाको विकास भएको हो । कालाजातिमाथि बढी दमन हुँदा गोरा जातिको विरोध गर्न उनीहरूले यसको सुरुवात गरे । पछि यो युरोप हुँदै एसियासम्म आइपुग्यो । २००७ तिर नेपालमा सुरु भएको बी–बोइङमा नेपालभर अहिले ३ सय ५० जति बी–ब्वाई तथा बी–गर्ल भएको अनुमान छ ।
नेपालमा बी–बोइङलाई मिक्कीले भित्र्याएका हुन् । त्यतिबेला नेपाल ब्रेक डान्स फाउन्डेसन काठमाडौंबाट बी–बोइङसम्बन्धी कार्यक्रम हुन्थ्यो । अहिले नेपाल ब्रेकिङ एन्ड डान्स स्पोर्ट्स एसोसिएसन पनि खुलिसकेको छ । काठमाडौंमा कार्यालय भएको यो संस्था राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत छ । यसका अध्यक्ष ईश्वर लामा हुन् । सन् २०२४ को ओलम्पिकमा बी–बोइङ पनि परेको छ जसमा नेपाल ब्रेकिङ एन्ड डान्स स्पोर्टस एसोसिएसनमार्फत नेपालको प्रतिनिधित्व गराउने प्रयास भैरहेको छ ।