साप्ताहिक संवाददाता
जेष्ठ १६, २०७६
अबको केही दिनमै प्रारम्भ हुने विश्वकप क्रिकेटको खेलाडी छनौटमा सहभागी १० टिम खेलाडी छनौटमा जोडतोडका साथ लागिरहेका छन् । हालै पाकिस्तानी टिमले बेलायतको भ्रमण गरेको थियो । विश्वकपको पूर्वसन्ध्यामा भएको उक्त भ्रमणलाई आधार बनाएर पाकिस्तानी टिमको छनौट गर्ने योजना थियो, तर पाकिस्तान इंग्ल्यान्डबाट यसपटक नराम्रोसँग हार भोग्न बाध्य भयो अर्थात पाकिस्तान इंग्ल्यान्डसँग ४–० ले पराजित भयो ।
टिम भलै पराजित भए पनि विश्वकपका लागि त्यही टिमलाई आधार मानेर गरिएको छनौटमा जुनेद खान भने पर्न सकेनन् । आफू टिममा नपरेको झोकमा उनले मुखमा कालोपट्टी बाँधेर खिचेको फोटो सामाजिक संजालमा पोष्ट गर्दै ‘म केही भन्न चाहन्न, सत्य साह्रै तितो हुन्छ’ भन्ने कुरा पोस्ट गरे । जुनेदको उक्त तस्बिर अहिले सामाजिक संजालमा भाइरल भैरहेको छ ।