साप्ताहिक संवाददाता
कुम्भ करण
चलचित्र कुम्भ करणको सार्वजनिक प्रदर्शन आज शुक्रबार प्रारम्भ भएको छ । सस्पेन्स, कमेडीका साथै प्रेम कथामा आधारित यो चलचित्रमा दीपक ओलीको निर्देशन छ भने महेश दवाडीको पटकथा तथा संवाद छ । आकाश पल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्रका निर्माता चित्रबहादुर घर्तीमगर तथा क्षितिज बस्नेत हुन् । रोम ओली र चुपनिधि रिजाल यसका कार्यकारी निर्माता हुन् ।
गोविन्द मधुर आचार्यको संगीत तथा सुनिल बसेलको कोरियोग्राफी यो चलचित्रमा अभिनेत्री निशा अधिकारी, गौरव पहारी, प्रमोद अग्रहरि, भोलाराज सापकोटा, अभय बराल, आकाश पल, कुलदिप अधिकारी, कमल गाउँले, प्रतिभा क्षेत्री आदि कलाकारले अभिनय गरेका छन् । यो चलचित्रको छायाँकन हरि घले लामाले गरेका हुन् । चलचित्र कुम्भ करणको छायाँकन काठमाडौं र प्युठानका विभिन्न स्थानमा गरिएको हो । यो चलचित्रमा करिब ८० लाख लगानी भएको निर्माण पक्षले जनाएको छ ।
कप्स
अभिनेता अनुपविक्रम शाहीद्वारा अभिनित चलचित्र कप्स आज प्रदर्शनमा आएको छ । एक कर्तव्यनिष्ठ प्रहरीको कथामा आधारित यो चलचित्रलाई सम्राट सापकोटाले निर्देशन गरेका हुन् । सापकोटा यही चलचित्रबाट निर्देशनमा डेब्यु गर्दैछन् । अधिकांश चलचित्रमा खलनायकको भूमिकामा अभिनय गर्दै आएका अनुपविक्रमले यो चलचित्रमा सकारात्मक भूमिका निर्वाह गरेका छन् ।
चलचित्रमा अनुपविक्रमका अतिरिक्त सन्दिपा लिम्बू, अमित गिरी, रामराज क्षेत्री, अनुपमा भण्डारी, निरुता स्याङतान, सुन्दर श्रेष्ठ, रोसन सुवेदी, पुरन जोशी आदि कलाकारको अभिनय छ । आर्या मुभिज तथा सारा श्री मुभिजले निर्माण गरेको यो चलचित्रका निर्माता राम शाक्य हुन् । यो चलचित्रका छायाँकन सुशन प्रजापति हुन भने यसमा कविराज गहतराज र शिशिर खातीको नृत्य, विजय घिमिरे र स्वयम्भुराज शाक्यको संगीत छ । यो चलचित्रको छायाँकन नेपाल र साइप्रसका विभिन्न स्थानमा गरिएको छ । चलचित्रमा करिब १ करोड ८० लाख रुपैयाँभन्दा बढी लगानी भएको निर्माण पक्षले जनाएको छ ।
काउसो
चलचित्र काउसो पनि आजैदेखि प्रदर्शनमा आएको छ । मदन घिमिरेको कथा तथा निर्देशनको यो चलचित्रमा भोलाराज देवकोटाको पटकथा तथा संवाद हेर्न पाइन्छ । रातारात धनी बन्ने सपना बोकेर गाउँबाट राजधानी छिरेका युवाहरूले गलत काम गरेर कमाएको पैसा उपयोगमा आउन नसकेपछि उत्पन्न हुने समस्यालाई यो चलचित्रमा प्रस्तुत गरिएको निर्माण पक्षले जनाएको छ ।
चलचित्रमा सविन श्रेष्ठ, अर्जुन गुरुङ, अनु पराजुली, रामचन्द्र अधिकारी, सुरेन्द्र चापागाईं, नविन आचार्य आदि कलाकारले अभिनय गरेका छन् । अर्नभ फिल्म्स प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको यो चलचित्रका निर्माता सिताराम तिमल्सिना र भवगान खत्री हुन् भने अञ्चिला केसी कार्यकारी निर्माता । विकास चौधरीको संगीत तथा रामेश्वर हुमागाईंको छायाँकनको यो चलचित्रको छायाँकन काठमाडौं र सिन्धुलीका विभिन्न स्थानमा गरिएको थियो । यो चलचित्र निर्माणमा करिब ७५ लाख लगानी भएको बताइएको छ ।