साप्ताहिक संवाददाता
सोसल मिडियाका हिट अनुहार हुन्— मञ्जिल बस्नेत । उनको टिकटकमा झन्डै २ लाख फलोअर्स छन् । नेपाल कमर्स क्याम्पसमा स्नातक तह अध्ययनरत उदयपुर, गाइघाटका मञ्जिल म्युजिक भिडियोमा समेत देखिइसकेका छन् । चकलेटी अनुहारका बस्नेतसँग गहनापोखरीमा साप्ताहिकर्मी महेश तिमल्सिनाको जम्काभेटः
केमा व्यस्त हुनुहुन्छ ?
म अहिले धेरैजसो पढाइमै व्यस्त छु । पढाइबाहेक अरुतिर ध्यान दिन सकेको छैन ।
सामाजिक सन्जालहरूमा पनि खुब चर्चा सुनिन्छ नि ?
एक समय टिकटकभन्दा पनि म्युजिकल्लीको चल्ती थियो । सुरुवातमा मैले हिट हुन्छु भनेर त्यसमा भिडियो बनाउन थालेको होइन । फुर्सद हुने भएकाले म्युजिकल्ली हेरेर समय कटाउँथें । पछि भिडियो बनाउन थालें । बिस्तारै सबैले माया गर्न थाल्नुभयो । त्यसरी नै फलोअर्स बढ्दै गयो । पछि म्युजिकल्ली टिकटक भयो, मलाई पनि यसमा लत बस्न थाल्यो । राम्रै प्रशंसक पनि कमाए ।
दिनमा कतिवटा टिकटक भिडियो बनाउनुहुन्छ ?
म अहिले दिनहुँजसो टिकटक भिडियो बनाउँदिनँ । कलेजको असाइनमेन्ट धेरै हुने भएकाले दिनहुँ टिकटक भिडियो बनाउने समय पनि हुँदैन । शनिबार फुर्सद हुन्छ त्यही दिन ६–७ वटा भिडियो बनाउँछु अनि समय मिलाएर टिकटकमा अपलोड गर्छु ।
सुरुमा पनि यस्तै गर्नुहुन्थ्यो ?
सुरुसुरुमा त रहरको बेला थियो । त्यसैले दिनकै भिडियो बनाउँथें अनि दिनहुँ एक–दुईवटा भिडियो अपलोड गर्थें । सुरुसुरुमा फलाअर्स बढाउनुपर्ने भएकाले आफूसँग ड्वेट भिडियो बनाउन मिल्ने खालको भिडियो बनाउँथें, तर मैले भने अरूसँग मिलेर ड्वेट भिडियो बनाइनँ ।
सुरुका भिडियोमा कस्तो प्रतिक्रिया पाउनुहुन्थ्यो ?
साथीहरूले गिज्याउँथे । म्युजिकल्ली त केटीहरूले चलाउने हो । यो त तेस्रोलिंगी हो कि क्या हो भनेर कमेन्ट गर्थें । अहिले भने तैले यो क्षेत्रमा राम्रो गर्न सक्छस् भनेर हौसला दिन्छन् ।
प्रशंसकहरूसँग कत्तिको भेटघाट हुन्छ ?
भेटघाट हुन्छ । कतिपयले सामाजिक सञ्जालमा म्यासेज गर्नुहुन्छ भने कतिपयलाई समय निकालेर भेट्छु ।
भेटघाट हुँदा प्रशंसकहरूले के भन्छन् ?
कतिपय युवतीले त कति क्युट भनेर गाला तान्नुहुन्छ ।
घरपरिवारबाट कला क्षेत्रमा लाग्न कत्तिको सपोर्ट छ ?
एकदमै सपोर्ट गर्नुहुन्छ । सुरुमा आफ्नो पढाईलाई निरन्तरता देऊ भन्नुहुन्छ । मेरो पनि पहिलो प्राथमिकता भनेको पढाइ नै हो । मेरो बुबा विजनेश गर्नुहुन्छ । त्यसैले मेरो सोच पनि विजनेश पर्सन नै बन्ने छ । यद्यपि भोलिका दिनमा राम्रो गर्दै गएँ भने यसैलाई प्रोफेसन पनि बनाउन सक्छु, तर पढाइलाई चाहिँ निरन्तरता दिन्छु ।
म्युजिक भिडियोमा अभिनय गर्ने अफर कसरी आयो ?
टेकेन्द्र र मनोज दुइ दाइ हुनुहुन्छ । उहाँहरूमार्फत नै मैले भिडियोमा अभिनय गर्ने मौका पाएको हुँ । मैले त्यतिबेला म्युजिक भिडियोमा अभिनय गर्ने सोच बनाएको थिइनँ । किनभने पढाइ बिग्रन्छ भन्ने पनि लाग्यो, अर्को मैले त्यसभन्दा पहिले अरु म्युजिक भिडियोमा अभिनय गरेको थिइनँ । पछि दाइहरूले सुरुवातमा यस्तै हो भनेर सपोर्ट गर्नुभयो । उहाँहरूकै कारणले म यहाँ आइपुगेको हुँ ।
म्युजिक भिडियोको अफर कत्तिको आएको छ ?
एकदमै धेरै आएको छ, तर पढाईमा बाधा पुग्छ भनेर गरेको छैन । यही जेठमा मेरो एउटा म्युजिक भिडियो आउँदैछ ।
चलचित्रबाट पनि अफर आएका छन् कि ?
छैन, यदि आयो भने पहिले चलचिक्रको स्त्रिप्ट पढ्छु । त्यसपछि मात्र अभिनय गर्ने निर्णय गर्छु ।
भविष्यको लक्ष्य चाहिँ के छ ?
बिजनेसम्यान बन्ने, व्यापारिक सर्कलमा हुर्किएको हुनाले पनि विजनेशम्यान नै बन्ने लक्ष्य छ ।
नेपाली गीत संगीत सुन्नुहुन्छ ?
टिकटक चलाउन थालेपछि धेरै सुन्न थालेको छु ।
नेपाली चलचित्र कत्तिको हेर्नुहुन्छ ?
अहिलेसम्म हलमा गएर नेपाली चलचित्र हेरेको छैन । युट्युबमा अपलोड भएका केही चलचित्र हेरेको छु । पछिल्लो समय मैले चलचिक्र जात्रा हेरेको थिएँ ।
खेलकुदमा कत्तिको रुचि राख्नुहुन्छ ?
म त्रिकेटको फ्यान हुँ । क्रिकेट खेल्छु पनि ।
ह्यान्डसम हुनुहुन्छ, पक्कै प्रेमसम्बन्धमा हुनुहुन्छ होला ?
सबैले यही भन्नुहुन्छ, तर मेरी गर्लफ्रेन्ड छैनन् ।
प्रेम प्रस्ताव त आउँछन् होला नि ?
कति आउँछ कति, तर आफूलाई मनपर्ने युवती नै फेला परेकी छैनन् । यद्यपि मलाई कसैसँगको प्रेम सम्बन्धमा बस्ने मन भने छ ।