साप्ताहिक संवाददाता
साढे सात, कुसुम, बिर्खेलाई चिन्छस् तथा तीन घुम्तीजस्ता चलचित्रमा अभिनय गरिसकेकी सुप्रिया कटवालले करिब १ सयभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरेकी छिन् । टेलिभिजनकर्मीका रूपमा समेत सक्रिय सुप्रिया सांस्कृतिक कार्यक्रमहरूमा पनि सहभागी भैरहन्छिन् । साप्ताहिकको यो स्तम्भका लागि सुप्रियाले आफ्ना बेस्ट फ्रेन्डहरूका बारेमा जानकारी गराएकी छिन् ।
दुर्गा खनाल
म जसलाई बेस्ट फ्रेन्ड बनाउँछु, उनीहरू लामो समय मेरो साथमा रहँदैनन् । त्यसैले बाल्यकालदेखिकै नजिकका साथीहरू नै आज पनि मेरा बेस्ट फ्रेन्ड छन् । तीमध्ये पहिलो नम्बरमा पर्छिन्— दुर्गा खनाल । उनीसँग मेरो मित्रता कक्षा ६ मा अध्ययरत छँदादेखि गाँसिएको हो । उनी अहिले नर्सिङ पेसामा आबद्ध छिन् । अहिले पनि फुर्सद मिलेका बेला हामी भेट्छौं, घुम्छौं तर कार्य व्यस्तताका कारण नियमित भेटघाट हुँदैन ।
श्रद्धा काङ्वाङ
उनी मेरो बाल्यकालदेखि कै साथी हुन् । विद्यालयमा उनको र मेरो प्रतिस्पर्धा नै चल्थ्यो । उनमा मीठो गीत गाउन सक्ने क्षमता थियो भने नृत्यमा पनि अब्बल थिइन् । हामी सँगै नाच्ने, गाउने गर्थ्यौं । हाम्रो रुचि उस्तै भएकाले पनि मेरो अरूसँग भन्दा उनीसँग जोडी जम्थ्यो । अहिले उनी नेपालमा छैनन् । म उनलाई असाध्यै मिस गर्छु ।
गंगा श्रेष्ठ
गंगासँग मेरो अहिले पनि भेटघाट भैरहन्छ । हामी क्लासमेट नभए पनि हाम्रो मित्रता सानैदेखि बलियो रहँदै आएको छ । असाध्यै रमाइलो स्वभावकी गंगा साथीलाई साथ दिने तथा लिने दुवै
कुरामा पछि पर्दिनन् । म उनको आँटिलो स्वभावबाट प्रभावित छु ।
सम्झना हिङमाङ
बैंकमा कार्यरत सम्झना मेरो बेस्ट फ्रेन्ड नम्बर चार हुन् । अध्ययनमा निकै तेज सम्झना हामीभन्दा निकै फरक थिइन् । उनको निर्दोष अनुहार, नरम बोली तथा मिलनसार व्यक्तित्वको म फ्यान नै हुँ ।
सबिका श्रेष्ठ
कलेजको अध्ययन प्रारम्भ गरेलगत्तै म अभिनय क्षेक्रमा सत्रिय भएँ । यो क्षेत्रमा भने मैले कसैसँग पनि घनिष्ठ मित्रता कायम गर्न सकेकी छैन । सबै आ–आफ्नै कर्ममा व्यस्त हुने भएकाले पनि त्यस्तो भएको हुनुपर्छ । यद्यपि म कार्यरत टेलिभिजन च्यालनकी भिडियो जक्की सबिका श्रेष्ठ मेरो घनिष्ठ मित्र भएकी छिन् । हामीले एउटै समयमा टेलिभिजन ज्वाइन गरेकाले पनि उनी मेरी बेस्ट फ्रेन्ड भएकी हुन् ।