साप्ताहिक संवाददाता
वर्ल्ड कप क्रिकेटमा अहिले विभिन्न प्रविधि प्रयोग गर्न थालिएको छ । क्रिकेट मैदानमा कुनै गल्ती भयो वा गलत फैसला भयो भने खेलाडीलाई मात्र असर पुग्दैन, रेफ्रीमाथि समेत प्रश्नचिन्ह खडा हुन्छ । यही कुरालाई मनन गरी विभिन्न प्रविधि प्रयोग गरिन्छ । यसपटक वर्ल्डकप क्रिकेटमा रेफ्रीको सहयोगका लागि प्रयोग गरिने प्रविधि यस्ता छन् :
हक आई
कुनै ब्याटम्यान एलबीडब्ल्यु भएको छ वा बल कुन दिशामा गैरहेको छ भन्ने कुरा थाहा पाउन हक आईको प्रयोग गरिन्छ । यसमा ६ वटा क्यामेरा प्रयोग हुन्छ र यसले बलरको हातबाट क्रिकेट बल छुटेदेखि ब्याटम्यानसम्म पुग्दाको सबै गतिविधि रेकर्ड गर्छ । खेलभन्दा पहिले नै उक्त प्रविधिका लागि अलग–अलग दूरी र उचाइमा क्यामेरा राखेर कम्प्युटरको सहयोगले म्याप तयार गरिन्छ । यसको सहयोगमा टीभी अम्पायरले सही निर्णय दिन सक्छन् ।
स्निकोमिटर
स्निकोमिटरले ब्याटम्यान र स्टम्पको आसपासको क्षेत्रलाई कभर गर्छ । यो प्रविधिको प्रयोग एलबीडब्ल्यु क्याच वा क्लिन बोल्ड जाँच गर्न गरिन्छ । यसलाई आवाजमा थोरै परिवर्तन आउँदा पनि पहिचान गर्ने गरी प्रोग्रामिङ गरिन्छ । यसबाट ब्याटले बललाई छोए–नछोएको पत्ता लगाउन सकिन्छ । स्निकोमिटरमा एउटा माइक्रोफोन समेत राखिएको हुन्छ ।
जिङ विकेट
टेस्ट क्रिकेटबाहेक अन्य सबै फर्म्याटमा जिङ विकेट प्रयोग हुन थालेको छ । यसमा स्टम्प र माथि राखिने लट्ठी एलईडीयुक्त हुन्छ । यसमा बल टकराउँदा एलईडी बल्छन् । यो प्रविधि अस्ट्रेलियाका मेकानिकल डिजाइनर ब्रोन्टे एकक्यारम्यानले तयार गरेका हुन् । स्टम्पमा माइक्रोप्रोसेसर र कम भोल्टेजयुक्त ब्याट्री
राखिएको हुन्छ ।
स्पाइडर क्याम
म्याच प्रारम्भ हुनुभन्दा पहिले नै क्रिकेट स्टेडियमको एक छेउदेखि अर्को छेउसम्म बलियो स्टिलको डोरी बाँधिन्छ । उक्त डोरीमा स्पाइडर क्याम राखिन्छ । रिमोटको सहयोगले सञ्चालन हुने यो क्यामेरामा स्टेडियममा भएका सबै गतिविधि कैद भैरहेको हुन्छ । रेफ्रीको सहयोग वा प्रसारणका लागि यी क्यामेरा प्रयोग गरिन्छ ।
सुपर स्लो मोसन
सुपर स्लो मोसन क्यामेराको प्रयोग रन आउट, क्याच, स्टपिङ आदि हेर्न प्रयोग गरिन्छ । यो क्यामेराले एक सेकेन्डमा करिब ५ तस्बिर रेकर्ड गर्न सक्छ ।
डीआरएस
डिसिजन रिभ्यु सिस्टम अर्थात् डीआरएसको सहयोगले रेफ्रीले विभिन्न निर्णय लिन सक्छन् । फिल्डमा खटिएका रेफ्रीले अन्य रेफ्रीको सहयोग लिएर निर्णय गर्छन् ।