पछिल्लो केहि बर्षयता बलिउड चलचित्रको सफलताको मापदण्ड बदलिएको छ । मल्टिप्लेक्स जमानाले गर्दा यस्तो हुन पुगेको हो । प्रदर्शन भएको जुन चलचित्र हो, त्यसले के–कस्तो ब्यापार गरेको छ ? त्यसअनुसार उक्त चलचित्र हिट हो वा फ्लप भन्ने गरिन्छ आजभोली । तर, विगतमा धेरै दिन जुन चलचित्र चल्यो, त्यसलाई हिट भन्ने गरिन्थ्यो । विगत र अहिलेमा धेरै फरक छ । अहिले सर्वाधिक हिट भनिएका चलचित्र १ सय दिन भन्दा धेरै दिन हलमा लाग्ने सम्भावना छैन । तर, बलिउड चलचित्र इतिहासमा केहि त्यस्ता रेकर्ड पनि छन्, जुन पत्याउन पनि मुस्किल पर्छ । कतिपय चलचित्र १ सय दिन हैन, बर्षौसम्म निरन्तर चलेका छन् । बलिउडमा सर्वाधिक धेरै समय चलेका १० चलचित्रको बारेमा एजेन्सीको सहयोगमा रामजी ज्ञवालीले तयार पारेको रिपोर्ट ।
मोहब्बते
रिलीज : २७ अक्टुबर २०००
प्रदर्शन समय: एक बर्ष
आदित्य चोपडाले निर्देशन गरेको यो चलचित्रमा पहिलोपटक बलिउडका महानायक अमिताभ बच्चन र शाहरुख खानले एकसाथ काम गरेका थिए । वास्तबमा यो चलचित्र गीतकै कारण हिट भएको बताइन्छ । मोहब्बतेको गीतमा जतिन ललितको जोडिले संगीत भरेको थियो । उदीत नारायण झा र लता मङ्गेस्कारले स्वर भरेका थिए । १९ करोड भारतीय बजेटमा निर्माण भएको यो चलचित्र घरेलु बजारमा ७० करोड ६२ लाख कमाएको थियो । विदेशी बजारमा २० करोड कमाई गरेको थियो । यो आम्दानी त्यतिबेलाको रेकर्डेड आम्दानी हो । रोचक कुरा त के हो भने, चलचित्रमा देखाइएको गुरुकुल नामको स्कुलको सेटअप इङल्याण्डमा निर्माण गरिएको थियो ।
कहो न प्यार है
रिलिज : १४ जनवरी २०००
प्रदर्शन समय : एक बर्ष
राकेश रोशनले निर्देशन गरेको चलचित्र ‘कहो ना प्यार है’ बाट ऋतिक रोशन तथा अमीषा पटेलले डेब्यु गरेका थिए । लभ स्टोरी जनरामा निर्माण गरिएको यो चलचित्र प्रदर्शन भएपछि ऋतिक रातारात हिट भए । एकाएक युवतीहरुका दिवाना बने । यो चलचित्र लगातार ५० हप्तासम्म थियटरमा चलेको थियो । यो चलचित्र चल्नुको कारण पनि गीत–संगीत मानिएको छ । कहो न प्यार प्रदर्शन हुनुअघि कुनै चर्चा थिएन र धेरैलाई यति धेरै ब्यापार गर्छ जस्तो लागेकै थिएन । तर, चलचित्रले नसोचेको व्यापार गरेर सबैलाई हेरेको हे¥यै बनाइदियो । यो चलचित्रले उक्त बर्ष विभिन्न बिधामा १ सय २ वटा एवार्ड समेत जितेको थियो । त्यसपछि यो चलचित्रको नाम ‘लिम्का बुक अफ रेकर्ड’ मा इन्ट्रि भएको थियो । १० करोडमा निर्माण भएको चलचित्रले ६२ करोड भारु आम्दानी गरेको थियो । चलचित्रमा करीना कपुर अभिनय गर्ने पक्का भयो, चलचित्रको सुटिङ पनि प्रारम्भ भयो । तर, केहि दिनपछि करीनाकै घरायसी कारणले यो चलचित्रबाट आउट भइन् । करीना निस्किएपछि उनको ठाउँमा अमीषा पटेलले मौका पाइन् । ऋतिकले यो चलचित्रबाट उत्कृष्ट डेब्यु कलाकारको रुपमा र उत्कृष्ट कलाकारको रुपमा एवार्ड हात पारे ।
राजा हिन्दुस्तानी
रिलिज : १५ नोभेम्बर
प्रदर्शन समय : एक बर्ष
आमिर खान तथा करिश्मा कपुर अभिनित चलचित्र ‘राजा हिन्दुस्तानी’ मा एक धनी घरकी छोरी तथा गरिब ट्याक्सी चालकको प्रेम कथा देखाइएको थियो । चलचित्रलाई धर्मेश दर्शनले निर्देशन गरेका थिए । यो चलचित्रको हिट गीत ‘आए हो मेरे जिन्दगीमे’ अहिले पनि उत्तिकै लोकप्रिय छ । यो चलचित्र बर्षभरी प्रर्दशन भएको थियो । ५ करोड ७५ लाखमा निर्माण गरिएको यो चलचित्रले ७६ करोड ३४ लाखको ब्यापार गरेको थियो । यो चलचित्रबाट आमिर खानले पहिलोपटक उत्कृष्ट अभिनेताको एवार्ड हात पारेका थिए ।
हम आपके हैं कौन
रिलीज: १५ अगस्ट १९९४
प्रदर्शन समय : एक बर्ष
सुरज बड्जात्या तथा सलमान खानको सहकार्य रहेको यो चलचित्रले उक्त समय सफलताका सबै रेकर्ड तोडिदिएको थियो । चलचित्रमा माधुरी दिक्षितले अभिनेत्रीको भुमिकामा काम गरेकी थिइन्, यो चलचित्रबाटै माधुरीले पनि आफ्नो स्टारडम कमाएकी थिइन् । निरन्तर एक बर्ष चलेको यो चलचित्र निर्माणका लागी १ करोड ४ लाख भारु खर्च भएको थियो भने बर्षभरी प्रदर्शन भएर निर्माताको गोजीमा १ सय करोड रकम भरिएको थियो । यो चलचित्र पहिलोपटक सय करोड कमाउने चलचित्रको सुचिमा समेत परेको थियो । यो चलचित्र राजश्री प्रोडक्शनको पुरानो चलचित्र ‘नदिया के पार’ को रिमेक थियो ।
मैने प्यार किया
रिलीज : २९ डिसेम्बर १९८९
प्रदर्शन समय : एक बर्ष
सुरज बड्जात्याले निर्देशन गरेको यो चलचित्र आज पनि बलिउडको सवैभन्दा आदर्श प्रेमकथामा एक मानिन्छ । यो चलचित्रबाट सुरजले निर्देशकको रुपमा आफ्नो करिअर समेत सुरुवात् गरेका थिए । सलमान खानको मुख्य भुमिका रहेको चलचित्र बच्चा देखि युवापुस्तामा समेत लोकप्रिय थियो । चलचित्रको संवाद तथा गीतका कारण यो चलचित्र हिट भएको मानिन्छ । लगातार एक बर्ष चलेको यो चलचित्र करीब २ करोडमा निर्माण भएको थियो । १४ करोडको कारोवार गरेको थियो । १९९० मा आयोजित फिल्मफेयर एवार्डमा यो चलचित्रले ८ वटा एवार्ड जितेको थियो । रोचक कुरा के हो भने यो चलचित्रमा सलमान खानले जुन भुमिका निभाएका थिए, त्यसका लागी राजश्री प्रोडक्शनले यसअघि बिन्दु दारा सिंह, पियुष मिश्रा, फराज खान तथा दीपक तिजोरीलाई समेत प्रस्ताब गर्ने सोच बनाएको थियो ।
बरसात
रिलीज : २१ अप्रिल १९४९
प्रदर्शन समय: २ बर्ष
राज कपुर तथा नरगिसको अभिनय रहेको चलचित्र निरन्तर एक बर्ष चलेपनि कतिपय हलमा भने अर्को बर्षको केहि महिना समेत चलेको थियो । आरके स्टुडियोको ब्यानरमा निर्माण भएको चलचित्रमा शंकर–जयकिशनको जोडीले बलिउडमा कदम राखेको थियो । उनिहरुको संगीत रहेको गीत हिट भएकै कारणले चलचित्रको ब्यापार बढेको बताइन्छ । अचम्मको कुरा के हो भने यो चलचित्रका लेखक रामानन्द सागरले भारतको सवैभन्दा ठुलो धार्मिक सीरियल रामायण निर्माण गरेका थिए ।
किस्मत
रिलीज : १९४३
प्रदर्शन समय: तिन बर्ष
लेखक तथा निर्देशक ज्ञान मुखर्जीको चलचित्र किस्मत बलिउडको पहिलो ब्लकबस्टर चलचित्र मानिन्छ । यो चलचित्र लगातार १ सय ८७ हप्ता अर्थात करिव ३ बर्ष चलेको थियो । किस्मतको रिमेकको रुपमा भने १९६१ मा ब्यायफ्रेण्ड नामक चलचित्र निर्माण भएको थियो । उक्त चलचित्रमा शम्मी कपुर, धर्मेन्द्र तथा मधुबाला मुख्य भुमिकामा काम गरेका थिए ।
मुगल ए आजम
रिलीज: ५ अगस्ट १९६०
प्रदर्शन समय : तिन बर्ष
निर्देशक के आसिफको मुगल ए आजममा सलीम तथा अनारकलीको दुःखद् प्रेमकथा देखाइएको थियो । यो चलचित्र दिलीप कुमार, मधुबाला तथा पृथ्वीराज कपुरले अभिनय गरेका थिए । मुगल ए आजममा रहेको संगीत निकै मन पराइएको थियो । यो चलचित्रमा रहेको एक गीतको बजेट चलचित्रको भन्दा धेरै रहेको भारतीय मिडियाको दाबी छ । यो चलचित्रले एक राष्ट्रिय पुरस्कार र तिन फिल्मफेयर पुरस्कार समेत पाएको थियो ।
शोले
रिलीज: १५ अगस्ट १९७५
प्रदर्शन समय: ५ बर्ष
रमेश सिप्पी निर्देशित चलचित्र शोले भारतको सवैभन्दा हिट चलचित्र हो । यो चलचित्रले प्रदर्शन भएपछि सफलताको कीर्तिमान स्थापना गर्न सफल भयो । यो यस्तो चलचित्र निर्माण भयो, जसलाई बच्चा–बच्चीदेखि बुढा–पाकाले समेत मन पराए । बलिउड इतिहासमा सर्वाधिक समय चल्ने चलचित्रमा शोले दोस्रो नम्वरमा आउँछ । यो चलचित्र मुम्बईको मिनर्वा थियरटरमा करीब २ सय ८६ हप्ता अर्थात ६ बर्ष भन्दा धेरै चलेको थियो । चलचित्रको मुख्य भुमिकामा अमिताभ बच्चन, धमेन्द्र, संजीव कुमार, हेमा मालिनी, जया भादुड्डी तथा अमजद खानले अभिनय गरेका थिए । तर, अचम्मको कुरा यो चलचित्रमा हेमा मालिनी तथा संजीव कुमारको एउटा सिन पनि थिएन । कारण के हो भने संजीव कुमारले हेमालाई बिहेका लागी प्रपोज गरेका थिए तथा हेमाले प्रेममा रहन चाहेकी थिइन्न् ।
दिलवाले दुल्हनिया ले जाएंगे
रिलीज: २० अक्टुबर १९९५
प्रदर्शन समय : २३ बर्षदेखि लगातार प्रदर्शन
आदित्य चोपडा निर्देशित दिलवाले दुल्हनिया जाएंगे १९९५ मा प्रदर्शन भएपछि अहिलेसम्म चलिरहेको छ । यो चलचित्र भारतीय चलचित्र इतिहासमा सवैभन्दा धेरै समय चल्ने चलचित्र हो । मुम्बईको मराठा मन्दिर हलमा यो चलचित्र अहिलेपनि चलिरहेको छ । यो चलचित्र प्रदर्शन भएको अहिले १२ सय २५ हप्ता भन्दा धेरै समय भैसकेको छ । अहिले यो चलचित्र बिहान एउटा शो चल्ने गरेको छ । चलचित्रमा शाहरुख खान तथा काजोलले मुख्य भुमिका निर्वाह गरेका छन् । यो चलचित्रले १० फिल्म फेयर एवार्ड जितेको छ । चलचित्रमा राज मल्होत्राको स्थानमा सैफ अली खानलाई सम्पर्क गरिएको थियो, तर सैफले यो चलचित्रमा काम नगर्ने भनेर वास्ता राखेनन् ।