साप्ताहिक संवाददाता
खगेन्द्र लामिछानेको निर्देशनमा चलचित्र ‘पानीफोटो’ निर्माण हुने भएको छ । उनले यसअघि अभिनय तथा निर्देशन गरेको चर्चित नाटक पानीफोटो माथि टेकेर यो चलचित्र बन्ने भएको हो ।
यो चलचित्रको आज काठमाण्डौंमा आयोजीत एक कार्यक्रमका बिच निर्माण घोषणा गरियो । खगेन्द्रले यसअघि टलकजंग भर्सेस टुल्के, पशुपती प्रसाद, धनपती, डमरुको डण्डिबियो लगायतका चलचित्रमा काम गरिसकेका छन् । टुकी आर्ट्स र मञ्जुश्री फिल्म प्रोडक्सनको संयुक्त ब्यानरमा निर्माण हुने चलचित्रको छायाँकन आगामी भाद्र महिनाबाट सुरु गरिने निर्माण पक्षले जनाएको छ । १५ वर्ष अघि द्धन्द्व कालमा हराएको छोराको प्रतिक्षामा बसेका बाबुआमाको कथा सिनेमाले उठान गर्नेछ । यो चलचित्र काठमाडौं, चितवन, स्याङ्जा र रोल्पामा सिनेमा छायांकन हुनेछ ।
चलचित्रमा सुनिल पोखरेल, निशा शर्मा पोखरेल, अनुप बराल, खगेन्द्र लामिछाने, मेनुका प्रधान, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ, कमलमणी नेपाल, अशान्त शर्मा, श्याम कुमार खड्का लगायतका कलाकारको अभिनय रहने पानीफोटोमा रंगमञ्चका चर्चित कलाकारहरुको बाहुल्यता छ । अभिनेता समेत रहेका लामिछानेले यो चलचित्र आफ्नो ड्रिम प्रोजेक्ट रहेको बताए ।
चलचित्रमा रोजिना सिटौला र रबिन्द्र बज्राचार्यको लगानी रहने छ । दिपक बज्राचार्यको छायाँकन रहने चलचित्रलाई निमेष श्रेष्ठले सम्पादन गर्नेछन्, २०२० मा प्रदर्शन गरिने जनाइएको छ ।