साप्ताहिक संवाददाता
विश्व क्रिकेटमा अधिकांश समय कुनै एउटा क्षेत्रको दबदबा हुन्छ भने त्यो एसियाकै हो, अझ भनौं दक्षिण एसियाकै । यो क्षेत्रबाट तीन टिम विश्वकप विजेता भैसकेका छन्, भारत, पाकिस्तान र श्रीलंका । यसमध्ये भारत त दुई पटकको पूर्व विजेता हो । यसपटकको विश्वकपमा चुनौती पेस गर्नेमा बंगलादेश र अफगानिस्ता पनि छन् । यस्तोमा वान डे विश्वकप खेल्ने १० टिममध्ये आधा त यही क्षेक्रमा छन्, जहाँ त्रिकेट भन्नु धर्मसरह नै हो ।
यो क्षेत्रबाट पेस हुने चुनौतीमध्ये सबैभन्दा बलियो हुनेछ– भारत । भारत एक प्रकारले उपाधिको सबैभन्दा बलियो दावेदार हो, आयोजक इंग्ल्यान्ड र डिफेन्डिङ च्याम्पियन अस्ट्रेलियासँगै । भारतसँग विश्व क्रिकेटका सबैभन्दा ठूला स्टार विराट कोहली छन् र झारत नै क्रिकेटको त्यस्तो एक मात्र देश हो, जसलाई विश्व त्रिकेटको महाशक्ति मान्न सकिन्छ । सन् १९८३ र २०११ को विश्वकप विजेता भारत वान डे वरीयतामा इंग्ल्यान्डपछि दोस्रो स्थानमा छ ।
भारतको खेल धेरै हदसम्म कोहलीमै निर्भर हुनेछ । उनी टेस्ट मात्र होइन, वान डेमा पनि नम्बर एक ब्याट्सम्यान हुन् र उनी एक्लैले खेल आफ्नो पक्षमा मोड्न सक्छन् । जसप्रित बुमराह वान डेकै शीर्ष बलर हुन् । उनलाई बलिङ आक्रमणमा साथ दिने मोहम्मद सामी, भुवनेश्वर कुमार र हार्दिक पान्ड्या हुनेछन् । यस्तै स्पिन आक्रमणको जिम्मेवारी कुलदीप यादवको काँधमा हुनेछ ।
भारत पछि एसियाको अर्को बलियो टिम हो– पाकिस्तान । पाकिस्तानी क्रिकेट भलै अहिले लयमा छैन, तर यो यस्तो टिम हो, जसले कुन बेला कस्तो प्रदर्शन गर्ने हो, कसैलाई थाहा हुँदैन । यसपटक पाकिस्तानी टिम पूर्णतः नयाँ खेलाडीमा निर्भर हुनेछ र उनीहरू खुबै प्रतिभाशाली समेत छन् । सन् १९९२ मा पाकिस्तानले इमरान खानको नेतृत्वमा विश्वकप जितेको थियो र त्यति बेला पनि टिमको स्थिति विश्वकप अघि अहिले जस्तै कमजोर थियो, तर त्यही टिमले उपाधि चुम्यो ।
पाकिस्तानी टिमका खेलाडीको औसत आयु नै १७ वर्षको हाराहारीमा छ, त्यसैले टिममा अनुभवको कमी छ । सम्भवतः टिमका प्रमुख खेलाडी हुनेछन्, २० वर्षीय लेग स्पिनर सादब खान । पाकिस्तानले भर्खरै मात्र इंग्ल्यान्डविरुद्ध पाँच खेलको वान डे सिरिज ४–० ले गुमाएको छ । त्यसैले टिम सुरुमा खेलाडीमा आत्मविश्वास फर्काउने अभियानमा हुनेछ । प्रशिक्षक माइकी अर्थर भन्छन्– पाकिस्तानी टिमले ठीक समयमा लय समात्नेछ ।
श्रीलंकाले प्रतियोगिताबाट ठूलो उपलब्धीको आश राख्नेछैन, किनभने टिम आफै लयमा छैन र अधिकांश खेलाडी कम अनुभवी तथा नयाँ छन् । श्रीलंकाले खेलेका पछिल्ला नौ खेलमध्ये आठमा पराजय भोगेको छ । सन् १९९६ को विश्वकप विजेता श्रीलंकाका कप्तान दिमुथ करुनारत्नेले समेत ५० वटा वान डे खेलेका छैनन । सन् २०१७ यता टेस्टमा राम्रो गरेपनि श्रीलंका वान डेमा कमजोर छ र यसबीच टिमले छ जना कप्तान देखिसकेको छ ।
टिमका सर्वाधिक अनुभवी र प्रमुख खेलाडी फास्ट बलर लसिथ मलिंगा हुनेछन् र उनले नै टिमको बलिङ आक्रमणको नेतृत्व गर्नेछन् । श्रीलंकाको ठीक विपरित उत्साहनजक स्थितिमा छ– बंगलादेशी टिम । च्याम्पियन्स ट्रफिमा सेमिफाइनल प्रवेश गरेको बंगलादेश यसपटकको विश्वकपमा पनि त्यस्तै अन्तिम चारको यात्राका लागि प्रयासरत हुनेछ । बंगलादेशले च्याम्पियन्स ट्रफिको सफलता पनि बेलायती भूमिमै प्राप्त गरेको हुनाले पनि टिम बलियो देखिएको हो ।
मुसरफ मुर्तजाको बंगलादेशी टिमले ठूला भनिने टिमविरुद्ध राम्रो खेल्न सक्छौं भनेर प्रमाणित गरिसकेको छ । सन् २०१५ को विश्वकपमा पनि बंगलादेश क्वाटरफाइनलसम्म पुगेको थियो । बंगलादेशको प्रदर्शन भने धेरै हदसम्म कप्तान मुसरफसँगै साकिब अल हसन, तमिम इकबाल तथा मुसफकिर रहिमको प्रदर्शनमा निर्भर हुनेछ । कप्तान मुसरफले भनेका छन्– ‘सेमिफाइनल पुग्न सजिलो हुनेछैन, तर यो हाम्रा लागि असम्भव पनि होइन ।’
एसियाको पाँचौं र नयाँ प्रतिनिधि हो– अफगानिस्तान । पछिल्ला केही खेलमा अफगानिस्तानले केही राम्रो गरे पनि यसपटकको विश्वकपमा उसले उथलपुथलपूर्ण खेल प्रदर्शन गर्ने आशा भने गर्न सकिँदैन । टिमले विश्वकप सुरु हुनुअघि मात्र नयाँ कप्तान पाएको छ, कम अनुभवी–गुलबदि नइबका रूपमा । त्यसका लागि नियमित कप्तान असगर अफगानलाई वर्खास्त गरिएको थियो । यो कामले अफगान क्रिकेट विवादमा पनि फस्यो, तर नइब भन्छन्– अफगानिस्तानसँग सबै टिमविरुद्ध प्रतिस्पर्धात्मक चुनौती प्रस्तुत गर्ने क्षमता छ ।