साप्ताहिक संवाददाता
कला र साहित्यप्रति समर्पित स्थानीय अगुवा अनि अनुरागीहरूको पहलमा मोरङको बेलबारीमा नियमितजसो साहित्यिक गतिविधि हुने गरेको छ । यसैको निरन्तरतामा गणतन्त्र दिवसको अवसर पारेर कला–साहित्य उत्सव सम्पन्न गरियो ।
महोत्सवमा विभिन्न स्थानका कला–साहित्य सर्जकहरू भेला भएका थिए । शुक्रबार र शनिबार दुई दिन साहित्य तथा कलाका विभिन्न विधामा छलफलका साथै प्रतियोगिता समेत आयोजित गरियो । उक्त अवसरमा भेला भएका कलाकार तथा साहित्यकारहरूको चहलपहलले बेलबारी कला–साहित्यमय भयो ।
बेलबारी साहित्य विकास समितिले आयोजना गरेको कला तथा साहित्य महोत्सवका अवसरमा विभिन्न स्रष्टाहरूले बेग्लाबेग्लै भाषामा सिर्जना प्रस्तुत गरे । उक्त अवसरमा विद्यार्थी तथा स्थानीय कलाकारहरूको सहभागितामा चित्रकला प्रतियोगितासमेत सम्पन्न गरिएको थियो ।
समापनका दिन शनिबार नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती पनि उपस्थित थिए । उक्त दिन पुरस्कार वितरण, साहित्यिक सिर्जना वाचनलगायत कार्यक्रम आयोजना गरिएको थियो । प्रतियोगितात्मक रूपमा आयोजित चित्रकलातर्फ सुमन तामाङ, निशा राई, शृंखला धिमालका चित्रहरू उत्कृष्ट घोषित भए । महोत्सवकै अवसरमा बहुभाषिक साहित्य गोष्ठी पनि सम्पन्न गरिएको आयोजक समितिकी अध्यक्ष रेखा सुवेदीले बताइन् । उक्त अवसरमा लिम्बू, राई, थारू, मैथिली, गुरुङ, तामाङ, नेपाली, हिन्दी, अंग्रेजी आदि भाषामा सिर्जनाहरू प्रस्तुत गरिएको थियो भने कतिपय स्रष्टाले अनूदित रचना समेत सुनाएका थिए ।
सम्मेलनमा २५ हजार राशीको ‘बेलबारी साहित्य पुरस्कार’ साहित्यकार हर्कमान तामाङलाई प्रदान गरियो । यसैगरी १५ हजार राशीको ‘बेलबारी कला पुरस्कार’ सोमप्रसाद गौतम (श्याम) लाई प्रदान गरियो । उक्त अवसरमा कथाकार धनजीत पराजुलीको कथा संग्रह ‘हुलिया’ सार्वजनिक भयो भने ‘निगुरो’ अनलाइन पत्रिका तथा टिभीको शुभारम्भ पनि गरिएको थियो ।
महोत्सवका अवसरमा साहित्यकार तथा समालोचक प्रा.डा. राजेन्द्र सुवेदी, प्रा.डा. टंक न्यौपाने, डा बद्रीविशाल पोखरेल, प्राज्ञहरू विवश पोखरेल, गंगा सुवेदी र हेमराज अधिकारी तथा सर्जकहरू हर्कमान तामाङ, सरला चापागाईं, इरान राई, जीविका अश्रु, मुकुन्द प्रयास, देवी पन्थी, भरत गुरागाई आदि सहभागी थिए ।
यसैगरी मनु मञ्जिल, पूर्णबहादुर गुरुङ, शरण शिवनारायण पण्डित सिंगल, भवानी पोख्रेल, बद्री अधिकारी, धर्मराज राई, जेबी थुलुङ, राधिका गुरागाई, टीका लामिछाने, लेखबहादुर मगर, बिज्ञेन राई, हिमांशु राय, हिरा खड्का, दीप मंग्राती, उमा सिजापति, नितु थापा, सावित्रा कोइराला आदि सर्जकले पनि महोत्सवमा सहभागिता जनाए ।