विश्व स्वास्थ्य संगठनले २०१७ मा प्रकाशित गरेको तथ्यांकअनुसार मध्यपूर्वी तथा दक्षिण युरोपमा धूम्रपान गर्ने पुरुषको अनुपात महिलाको तुलनामा घटेको छ भने महिलाको बढेर गएको छ । विश्व स्वास्थ्य संगठनका १ सय ४० सदस्य राष्ट्र तथा विश्वका केही अन्य प्रान्तहरूमा गरिएको ग्लोबल युथ टोबाको सर्वे जिवाइटिएस–२०१७ को प्रतिवेदनमा पनि धूम्रपान गर्ने महिलाको संख्या उल्लेख्य रूपमा बढेकोमा चिन्ता व्यक्त गरिएको छ । ‘वयस्क महिलाको तुलनामा नवयुवतीहरूमा धूम्रपानप्रतिको आकर्षण बढी छ । विश्वमा धूम्रपानका कारणले ज्यान गुमाउन सक्नेहरूको संख्या २०२० देखि वार्षिक १ करोडभन्दा बढी हुने सम्भावना छ,’ जिवाइटिएसको ठम्याइ छ । विश्व स्वास्थ्य संगठनले जारी गरेको प्रतिवेदनमा धूम्रपान गर्नेहरूको संख्या यहि क्रमले बढ्दै जाने हो भने आगामी सन् २०३० सम्ममा वार्षिक ८० लाखले ज्यान गुमाउने कुरा उल्लेख छ ।
संयुक्त राज्य अमेरिकामा गरिएको एउटा अर्को अध्ययनअनुसार धूम्रपानको रहर गर्ने चारमध्ये एक जना जवानलाई यसको लत नै लाग्छ । यो दर कोकेन र हेरोइनको चस्का लिन खोज्नेहरूको जत्तिकै छ । धूम्रपान गर्न थालेकोमा चुकचुकाउने किशोरकिशोरीहरू ७० प्रतिशत भए पनि कमैले मात्र यसलाई छोड्न सक्छन् । विश्व स्वास्थ्य संगठनका अनुसार धूम्रपानका कारण बर्सेनि ६० लाख मानिस अथवा प्रत्येक चार सेकेन्डमा एकजना मानिस मर्छन् । विभिन्न समयमा गरिएका सर्वेक्षणमा धूम्रपान गर्ने ८० प्रतिशत नागरिक निम्न आय भएका र गरिब देशका भएको कुरा देखिन्छ ।
नेपालमा सरदर वार्षिक ६ हजार मेट्रिक टनभन्दा बढी सुर्ती तथा करिब ६ अर्ब ६० करोड खिल्ली चुरोट उत्पादन हुन्छ । विगत दुई दशकयता नेपालमा सुर्तीजन्य पदार्थको उत्पादनमा १३ गुणाले वृद्धि भएको छ भने धूम्रपान र अन्य मध्यपानजन्य पदार्थको आयात पनि ह्वात्तै बढेको छ । सबैभन्दा बढी ४० प्रतिशत चुरोटको प्रयोग हुन्छ भने ३० प्रतिशत सुर्तीजन्य पदार्थ तथा ५ प्रतिशत स्थान तमाखुले ओगटेको छ । बाँकी २५ प्रतिशत स्थान पान, गुट्खा, बिडी आदिले ओगटेको पाइन्छ ।
यदि तपाईंले धूम्रपान छोड्ने अठोट गरिसक्नुभएको छ भने तल उल्लेखित केही बुँदा मनन गर्ने र नियम पालन गर्दै जाने हो भने धूम्रपान छोड्न सहज हुन्छ :
मनबाटै चुरोट छोड्न तयार हुनुहोस्
सर्वप्रथम, चुरोट छोड्ने प्रयास गर्नु सार्थक छ भनेर आफू विश्वस्त हुनैपर्छ । चुरोट छोड्ने कारणहरूका साथै फाइदाहरूको सूची तयार पार्नुहोस् । चुरोड छोडिसकेपछि यो सूचीलाई पुनरावलोकन गर्दा तपाईंको संकल्प अझ दृढ हुनेछ ।
चुरोट छोड्ने मिति तोक्नुहोस्
चुरोट छोड्ने मिति तोक्नुहोस् र भित्ते पात्रोमा त्यो दिनको चिह्न लगाउनुहोस् । तोकिएको मिति आइपुग्नुअघि नै एस्ट्रे, सलाई, लाइटर आदिलाई आफ्नो वरपरबाट हटाउनुहोस् । चुरोटको तलतल लागे धूम्रपान निषेधित ठाउँ जस्तैः सङ्ग्रहालय, रंगमञ्च, अस्पतालजस्ता धूम्रपान निषेधित ठाउँमा जान सकिन्छ ।
चुरोट छोड्दा देखा पर्ने लक्षणको सामना गर्ने
चुरोट छोड्दा अन्तिम सर्को तानेको घण्टाभरमा तपाईंमा केही लक्षण देखापर्न सक्छ, जस्तैः रिस उठ्ने, चिन्ता लाग्ने, निराश हुने, निन्द्रा नलाग्ने, छट्पटी हुने, भोक लाग्ने तथा चुरोटको तलतल लाग्ने आदि हुन्छ । यी लक्षणलाई नियन्त्रणमा लिन कुनै काममा व्यस्त हुनुहोस् । क्यालोरी कम भएका खानेकुरा खानुहोस्, प्रशस्त मात्रामा पानी पिउनुहोस् । चुरोट पिउन तलतल लगाउने ठाउँ वा परिस्थितिबाट टाढै बस्नुहोस् । दस मिनेट मात्र पर्खंदा पनि तपाईलाई लागेको तलतल केही कम हुनसक्छ । कहिलेकाहीँ अब कहिल्यै चुरोट पिउन पाइन्न भन्ने विचारले मात्र पनि असह्य हुनसक्छ । तपाईंलाई त्यस्तै लाग्छ भने आज एक दिनका लागि मात्र भए पनि छोड्नुपर्यो भन्ने सोच राख्नुहोस् ।
फेरि चुरोट पिउन सुरु नगर्नुहोस्
चुरोट छोडेको पहिलो तीन महिना साह्रै गाह्रो हुन्छ । त्यसपछि पनि सम्भव भएसम्म चुरोट पिउने मानिस वा अवस्थाबाट टाढै रहनुहोस् । चुरोट छाडेको वर्षदिन वा बढी भैसकेको छ भने पनि कहिलेकाहीँ पिए पनि फेरि छोड्न सकिहाल्छु नि भन्दै आफैंलाई छल्ने प्रयास नगर्नुहोस् । चुरोट पिउने लाखौं व्यक्तिले सफलतासाथ चुरोट छोडेका छन् । दृढ निश्चयी हुनुभयो र लागिरहनुभयो भने तपाईं पनि सफल हुन सक्नुहुन्छ ।
चुरोट छोड्दा हुने फाइदा
चुरोट छोड्दा तपाईंलाई के फाइदा हुन्छ ? अन्तिम सर्को तानेको ३० मिनेटमै तपाईंको रक्तचाप सामान्य हुन्छ । हप्ता दिनपछि शरीर निकोटिनरहित हुन्छ । एक महिनापछि खोकी, पिनास, थकावट र सास फेर्न गाह्रो हुने आदि समस्या कम हुन थाल्छ । पाँच वर्षपछि फोक्सोको क्यान्सरले मृत्यु हुनसक्ने खतरा ५० प्रतिशत घट्छ । १५ वर्षपछि हृदयाघात हुनसक्ने सम्भावना चुरोट कहिल्यै पिउँदै नपिएको व्यक्तिको जति नै हुन्छ । खाना स्वादिलो लाग्न थाल्छ । सास, शरीर अनि लुगाफाटा गन्हाउन छाड्छन् । चुरोट किन्दा लाग्ने खर्च जोगिन्छ भने आफूले ठूलो उपलब्धि हासिल गरेको महसुस हुन्छ र आफ्नो आयु लम्बिन्छ ।
(स्रोत : विश्व स्वास्थ्य संघका बुलेटिन, वाच टावरका बुलेटिन एवं राष्ट्रिय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रतिवेदन)