साप्ताहिक संवाददाता
कास्कीको लेखनाथमा सेभेन लेक्स रिसोर्ट हालै सञ्चालनमा आएको छ । पोखरा महानगरपालिका–२९ मा थ्रिस्टार स्तरको सेवा सुविधा सहित यो रिर्सोट सञ्चालनमा आएको हो । रिसोर्टमा डबल डिलक्स, सुपर डिलक्स तथा डिलक्स गरी १९ वटा कोठा छन् । यहाँ ५० जना क्षमताको रेस्टुराँ तथा ५० जना क्षमताकै सभाहल उपलब्ध छ । आकर्षक स्वीमिङ पुल र स्वदेशी तथा विदेशी परिकार उपलब्ध हुने यो रिसोर्टमा लाइभ म्युजिक सहित वार बि क्यू समेत गर्न सकिनेछ । रिसोर्टमा बस्न नेपालीले एक रातको ७ हजारदेखि १२ हजारसम्म तथा विदेशीले ८५ देखि १ सय ५० अमेरिकी डलरसम्म शुल्क तिर्नुपर्नेछ ।
यहाँबाट धौलागिरिदेखि अन्नपूर्ण हिमशृंखला हुँदै गणेश हिमालसम्म हेर्न सकिन्छ । रिसोर्ट स्थलबाट बेलुकाको समयमा प्रायः गरी साविक लेखनाथका अधिकांश ठाउँ झिलिमिलि देख्न सकिन्छ भने दिउँसो मौसम खुल्दा बेगनास तथा दिपाङ ताल सजिलै अवलोकन गर्न सकिन्छ । यहाँबाट विश्व शान्ति स्तूप, पुम्दीकोट, सराङकोट, काहुँडाँडा, रुपाकोट, गगनगौडा तथा सेतीखोंचका केही भागको अवलोकन गर्न सकिन्छ । यहाँ हेली प्याडको सुविधा समेत छ ।
यो रिसोर्ट १६ करोडभन्दा बढीको लगानीमा सञ्चालनमा ल्याइएको सञ्चालक विनोद गुरुङ बताउँछन् । रोजगारीको सिलसिलामा मकाउ, सिंगापुर, मलेसिया आदि देश पुगेका गुरुङले ‘आफ्नै क्षेत्रमा केही गर्नुपर्छ भन्ने भावनाबाट अभिप्रेरित भएर’ यो रिसोर्ट खोलेका हुन् । यो रिसोर्ट पोखराबाट १३ किलोमिटरको दूरीमा छ । पृथ्वीराजमार्ग अन्तर्गतको भण्ढारढीकबाट डेढ किलोमिटर यात्रा गरेपछि सेभेन लेक्स रिसोर्ट पुग्न सकिन्छ ।