साप्ताहिक संवाददाता
रोमान्टिक सिरिज ‘प्रेमगीत’ निर्माण कम्पनी आसुसेन फिल्म प्रोडक्सनले आफ्नो तेश्रो संस्करण ‘प्रेम गीत ३’ को गीत पात्रका लागि अडिसन सुरु गरेको छ । आसुसेन फिल्म्स प्रोडक्सनले चलचित्रको मुख्य क्यारेक्टर गीतका लागी आसुसेन फिल्म्स डट कम तथा आसुसेनको अफिसियल इमेलमा इच्छुकहरुबाट आबेदन मागेको थियो ।
२७१४ जना आवेदकहरुबाट टप २५ फाइनल अडिसनका लागि छानिएको थियो । अब २५ जनाको अडिसनपछि एकजना प्रमुख भुमिकाको अभिनेत्री छानिनेछ । २५ जना सुन्दर अभिनेत्री तथा मोडलहरुले गीत क्यारेक्टरका लागी अडिसन दिन सुरु गरेका छन् ।
छनौट गर्न लागिएकी युवतीबाट चलचित्रको भित्रको पात्रको चरित्र, लुक्स, उचाई, अभिनय शैली, सुन्दरता लगायतलाई ध्यान दिइने निर्माता तथा निर्देशक सन्तोष सेनले जानकारी दिए ।
आइतवारदेखि सुरु भएको अडिसनमा पहिलो दिन गलबन्दी र बोल माया फेम अन्जली अधिकारी, चलचित्र सय कडा दस अभिनेत्री करुणा श्रेष्ठ, दिभ्यानी ओली, कविता नेपाली, क्रिष्टिना गुरुङ्ग, तमन्ना केसीले आफ्नो प्रतिभा देखाईसकेका छन् । आसुसेन को क्रियटिम टिमले हरेक दिन ६–६ जनाको अडिसन लिनेछ भने बिदेशमा रहेकाहरुसँग अन्तिम दिन अलिकति फरक किसिमले अडिसन लिइने निर्देशक छेतेन गुरुङले बताए ।
निर्माण पक्षले अडिसनमै चलचित्रमा रहने सेटको डिजाईन समेत गरेको थियो । कलाकार छनौट गर्न चलचित्रकै जस्तो सेट डिजाइन गरेर अडिसन लिने यो शैली यसअघि नेपाली चलचित्र क्षेत्रमा भएको थिएन ।
चलचित्र ‘प्रेम गीत ३’ आगामी चैत्र २८ गते नेपालभर प्रदर्शन हुँदैछ ।