साप्ताहिक संवाददाता
रकेट निर्माता निजी कम्पनी स्पेसएक्सले इन्टरनेट सेवाका लागि बनाइने स्टारलिंकका लागि पहिलो पटक ६० वटा स्याटेलाइट अन्तरिक्षमा पठाएको छ । इलोन मस्कको उक्त कम्पनीले विश्वभर इन्टरनेट सेवा दिने ती स्याटेलाइट लो अर्थ अर्बिटमा राख्ने गरी पठाएको हो । उक्त रकेट पृथ्वीको तल्लो कक्षमा स्याटेलाइट रिलिज गरेर पुन पृथ्वीमा फर्कनेछ ।
कम्पनीले ती स्याटेलाइट सही स्थानमा सही रूपमा प्रक्षेपण भए–भएनन् भनेर परीक्षण गरिरहेको छ । ती प्रत्येक स्याटेलाइटको तौल २ सय २७ किलोग्राम छ । यो स्पेस एक्स रकेटले बोकेको सबैभन्दा भारी पेलोड हो । कम्पनीले विश्वभर रकम तिर्ने ग्राहकहरूका लागि भनेर उच्चगतिको इन्टरनेट सेवा अन्तरिक्षबाट प्रदान गर्ने योजना बनाएको छ जसको यो पहिलो चरण हो ।
मस्कको स्पेसएक्सले यो वर्षको अन्त्यमा वा आगामी वर्ष ग्राहकहरूलाई उच्चगतिको इन्टरनेट सेवा प्रदान गर्ने जानकारी दिएको छ, जसका लागि कम्पनीले प्रत्येक वर्ष २ हजार स्याटेलाइट लन्च गर्नेछ भने कक्षमा १२ हजार स्याटेलाइट राख्ने उद्देश्य लिएको छ । कम्पनीले ग्राहकहरूलाई १ गीगाबाइट प्रतिसेकेन्डको गतिमा इन्टरनेट दिने योजना बनाएको छ ।