गन्धर्व नाटघर पोखरामा यतिबेला नाटक तिर्खा मञ्चन भैरहेको छ । यो नाटक अमेरिकी नाटककार युजिन ओनिलले लेखेका हुन् । ‘तिर्खा’ सन् १९२४ मा न्यू इंग्ल्यान्डको ग्रामीण परिवेशलाई लिएर लेखिएको दुःखान्त नाटक हो । यो नाटकको परिकल्पना चे शंकरले गरेका छन् जसअनुसार नाटकको सम्पूर्ण घटना आजभन्दा झन्डै ४० वर्षअघिको पाल्पा, तानसेनको कुनै एउटा गाउँमा घट्छ ।
स्टेजको दायाँ माथिबाट २ फिट अग्लो एउटा बाटो र घर जोडिएको छ । उक्त बाटो हुँदै करेसाबारीमा जान मिल्छ । बायाँ माथि दुईतले काठको घर छ । घरका काठ कुहिँदै छन् । मिडल राइटमा एउटा केराको घरी घरको ढोकातिर फर्किएको छ । भुइँमा सुकेका केराका पात छरपस्ट छन् । तल देब्रे साइडमा एउटा तगारो छ । तगारो अड्याउन ढुंगा प्रयोग गरिएको छ । बिच स्टेजमा टिनका केही पुराना बक्सा छन् । बीचमा एउटा काठको मक्किएको टेबल छ । एउटा घुम पनि सँगै छ । हेर्दा लाग्छ यो घरका मानिस ज्यादै खिन्न छन् । घर पुरानो ढल्नै लागेजस्तो देखिन्छ । यो घरमा ४ वटा कोठा छन् । माथिल्लो तलामा बाबु र छोराहरूका कोठा छन् । तल्लो तलामा एउटा भान्सा र अर्को पाहुना कोठा छ । पाहुना कोठामा प्रायः पर्दा लाग्छ । यस्तै परिवेशमा नाटक सुरु हुन्छ । नाटकमा आउने विभिन्न उतारचढाव तथा आरोह–अवरोहले दर्शकको ध्यान तानिरहन्छ ।
मातृत्वको अभावले सिर्जना गर्ने मनोवैज्ञानिक असर, हरेक पात्रको चाहना र कम्प्लेक्सले नाटक हामी मानिससँग सामाजिक, मनोवैज्ञानिक तथा शारीरिक रूपले गाँसिएको छ । धनसम्पत्ति, माया–प्रेम तथा यौनले मानिसमा पार्ने प्रभाव यो नाटकमा देखाउने प्रयास गरिएको छ ।
नाटकमा शरद भण्डारी, रमेशबाबु तिमल्सिना, निश्चल विमल, सीमा गुरुङ, नवराज गिरी, ईश्वर कार्की, विष्णु तिमिल्सिना, सोनिया खत्री, प्रतिभा अधिकारी र दिवानी तामाङको अभिनय हेर्न पाइनेछ । उनीहरू सबैले आफूले पाएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने प्रयास गरेका छन् । उनीहरूको बोल्ने शैली, लगाएको पहिरन, प्रयोग गर्ने सामग्री, लाइटिङ, साउन्ड आदिले नाटकलाई परिपक्क बनाउन मद्दत गरेको छ ।
पोखरा थिएटरको यो सातौं प्रस्तुतिको मञ्चन जेठ ९ गतेदेखि हुन थालेको हो । यो नाटक जेठ २५ गतेसम्म निरन्तर पोखरा थिएटरको गन्धर्व नाटकघरमा मञ्चन हुनेछ । नाटक ‘तिर्खा’ १६ वर्षभन्दा माथिको उमेरलाई मात्र देखाइएको छ । नाटकको विषयवस्तु एवं प्रस्तुतिले १६ वर्षमुनिका बालबालिकामा नकारात्मक असर पर्छ कि भनेर उनीहरूलाई नाटक हेर्न प्रतिबन्ध लगाइएको निर्देशक चे शंकरले बताए । यो नाटक १ घण्टा ४० मिनेट लामो छ । झन्डै एक शताब्दीअघि लेखिए पनि यो वर्तमान अवस्थामा पनि उत्तिकै सान्दर्भिक रहेको निर्देशक चे शंकरको दाबी छ ।