साप्ताहिक संवाददाता
अमेरिका बस्दै आएका नेपाली मुलका फेसन डिजाइनर प्रबल गुरुङ यतिबेला बलिउडका चलचित्र निर्माता करण जौहरसँगको सम्बन्धका कारण विवादमा तानिएका छन् । गत साता मात्र आफ्नो ४७ औं जन्मदिन मनाएका करण जौहरलाई बधाई दिदै प्रबल गुरुङले गरेको तस्बिरसहितको ट्विट नै उक्त विवादको कारण हो । उक्त ट्विटमा शेयर गरिएको तस्बिरमा करण जौहर र प्रबल गुरुङ अत्यन्त कामुक मुद्रामा देखिन्छन् भने सँगै प्यार किया तो डरना क्या, ह्याप्पी बर्थ डे करण जौहर भन्ने शब्द लेखिएको छ ।
उक्त ट्विटको जवाफ दिदै करणले गरेको अर्को ट्विटमा भनिएको छ आफैंलाई नियन्त्रण गर्नुस् भाइ । त्यो ट्विटपछि उब्जिएको करण जौहर र प्रबल गुरुङबीच समलैङ्गिक सम्बन्ध छ भन्ने विवादलाई शान्त गर्न प्रबल गुरुङले स्पष्टीकरण नै दिनुपरेको छ— करण मेरो सबैभन्दा नजिकका साथी हुन् । यसो भन्दैमा म करण जौहरका साथ रोमान्टिक सम्बन्धमा छु भन्न मिल्दैन ।
मैले करण जौहरको जन्मदिनका अवसरमा गरेको पहिलो ट्विट बलिउडकी सदाबहार अभिनेत्री मधुबाला र उनको प्रसिद्ध नृत्य प्यार किया तो डरना क्या प्रतिको मेरो अनुराग नै हो, यसका पछाडि अरु कुनै कारण छैन । ४७ वर्ष पुगिसके पनि अविवाहित नै रहेका करण जौहर समलैंगिक सम्बन्धका कारण यसअघि पनि पटक–पटक विवादमा तानिँदै आएका छन् ।