साप्ताहिक संवाददाता
अमिताभ बच्चन, शाहरुख–सलमान खानजस्ता कैयौं सेलिब्रेटी भारतको आम चुनावमा कुनै पनि पार्टीको समर्थनमा देखिएनन् । रणवीर–आलियासहितका कैयौं युवा सेलिब्रेटीले मोदीसँग भेटघाट गरेका थिए, तर उनीहरू सबै चुनावी सरगर्मीबाट टाढै बसे ।
भारतको १७ औं लोकसभा निर्वाचनको परिणाम २३ मईमा आइसकेको छ जसमा ३ सय ५२ सिट जित्दै भारतीय जनता पार्टी नेतृत्वको गठबन्धन एनडीएले भारी बहुमत हासिल गरेको छ । चुनावमा मनोरन्जन उद्योगसँग जोडिएका केही व्यक्ति पनि ठूलो भूमिकामा देखिए । बलिउड पनि दुई भागमा विभाजित थियो । एकतर्फ ती व्यक्तिहरू थिए, जो भाजपा र नरेन्द्र मोदीको विरुद्ध अभियान चलाइरहेका थिए भने अर्कातर्फ तिनीहरू थिए, जो मोदीलाई दोस्रो पटक सत्तामा ल्याउन प्रचारमा सक्रिय थिए ।
यद्यपि बलिउडका धेरैजसो ठूला सेलिब्रेटी राजनीतिको खेलबाट टाढै रहे । यसमा त्यो युवामण्डली पनि सामेल थियो, जसले गएको जनवरी १० मा मोदीसँग भेटघाट गरेको थियो । उक्त भेटमा रणवीर सिंह, बरुण धवन, सिद्धार्थ मल्होत्रा, करण जौहर, रणवीर कपुर, विक्की कौशल, रोहित सेठ्ठी, राजकुमार राव, आलिया भट्ट, एकता कपुर, भूमि पेडनेकर, अश्विनी अय्यर आयुष्मान खुराना आदि सहभागी थिए । लोकसभा निर्वाचनमा नखुलेका केही ठूला सेलिब्रेटीलाई लिएर भारतीय सञ्चारमाध्यमले एउटा सूची नै बनाएका छन् ।
१.. अमिताभ बच्चन
७६ वर्षीय अमिताभ बच्चन आफैं पनि नेता रहिसकेका छन् । उनी कांग्रेसको टिकटमा इलाहावादबाट (१९८४—८९७) मा सांसदसमेत भैसकेका छन् । अहिले अमिताभ मोदीको नजिक मानिन्छन् । अर्कातर्फ, अमिताभकी पत्नी जया बच्चन समाजवादी पार्टीकी नेतृ हुन् । हालै भएको निर्वाचनमा अभिताभ कुनै पनि पार्टीको समर्थन र विरोधबाट टाढै बसे ।
२.. आमिर खान
आमिर खान ले देशवासीलाई मतदान गर्न आग्रह गर्दै सही नेता चुन्न अपिल गरे तर, उनी न मोदी विरोधी खेमामा सामेल भए, न त मोदीको समर्थनमै कुनै बयान दिए । मार्चदेखि नै उनी मतदाताहरूलाई जागरुक गर्दै थिए, त्यतिबेला भाजपालाई सपोर्ट गर्नुहुन्छ भनेर सोध्दा आमिरले भनेका थिए, ‘म कुनै पनि राजनीतिक पार्टीलाई प्रमोट गर्दिनँ ।’ आमिरले सन् २०१५ मा देशमा असहिष्णुताको माहौल रहेको बताउँदै आफ्नी पत्नी किरण रावलाई डर महसुस हुने गरेको र उनले देश छोड्न सल्लाह दिने गरेको कुरा उल्लेख गरेका थिए । उनको उक्त बयानमा निकै ठूलो विवाद भएको थियो । त्यही बेलादेखि आमिर राजनीतिक मुद्दामा बोल्नबाट जोगिन थालेका हुन् ।
३..शाहरुख खान
१३ मार्च २०१९ मा मोदीले शाहरूखसहित कैयौं सेलिब्रेटीलाई ट्विटमार्फत मतदानका लागि जनतालाई जागरुक गर्न अपिल गरेका थिए । त्यसको करिब ४० दिनपछि शाहरूखले एक भिडियो शेयर गरे, जसमा उनले मानिसहरूलाई भोटिङ गर्न अपिल गरेका थिए । यद्यपि चुनावका दौरान उनले कुनै राजनीतिक बयान दिएनन् । शाहरुखले न त कुनै पार्टीलाई समर्थन गरे, न त विरोध नै । शाहरूखले सन् २०१५ मा आफ्नो जन्मदिनका अवसरमा एक टिभी च्यानलमा देशमा धेरै असहिष्णुता रहेको बताएका थिए । त्यसपछि उनले ठूलो विरोधको सामना गर्नुपरेको थियो । त्यसपछि उनको फिल्म समेत बहिष्कार गर्न थालियो । शाहरूखले आफ्नो भनाइलाई लिएर माफी समेत मागेका थिए, त्यही बेलादेखि उनी कुनै पनि विषयमा खुलेर कुरा गर्नबाट जोगिँदै आएका छन् ।
४..सलमान खान
मोदीसँग चंगा उडाइसकेका सलमान खान पनि त्यो सूचीमा सामेल छन्, जो राजनीतिक वादविवादबाट पूरै टाढा रहे । मार्चमै उनले सोसल मिडियामार्फत आफू कुनै पनि पार्टीबाट चुनाव नलड्ने र कुनै पार्टीको प्रचारमा नलाग्ने घोषणा गरेका थिए । वास्तवमा उनको धारणा त्यतिबेला आएको थियो, जतिबेला सलमानलाई कांग्रेसले इन्दोरबाट चुनाव लडाउने अड्कल काटिँदै थियो । त्यसो त सलमानले पहिल्यै भनिसकेका छन कि उनी चुनावमा भोट गर्ने क्रममा पार्टी हेर्दैनन्, आफ्नो सम्बन्ध र सम्बन्धित उम्मेदवारको काम हेर्छन् ।
५..रणवीर सिंह र दीपिका पादुकोण
रणवीर सिंह र दीपिका पादुकोण पनि त्यस्ता सेलिब्रेटीमा पर्छन्, जो कुनै पनि पार्टीको समर्थन वा प्रचारबाट टाढा रहे । चुनाव प्रचारका दौरान उनीहरूको जोडीको एउटा तस्बिर भाइरल भएको थियो, जसमा दीपिकाको दुपट्टामा भोट फोर विजेपी लेखिएको थियो । यद्यपि त्यो तस्बिर फेक थियो । वास्तवममा उक्त तस्बिर ३० नोभेम्बर २०१८ मा खिचिएको थियो, जतिबेला उनीहरूको जोडी सिद्धिविनायकको दर्शनका लागि गएको थियो । कसैले फोटोसप गरेर उनको तस्बिरमा भाजपालाई समर्थन गरेको लाइन लेखेर भाइरल गरिदिएका थिए ।
६..अजय देवगन
अजय देवगनले पनि पूरै चुनावभर न कुनै पार्टीलाई समर्थन गरे न कुनै पार्टीको विरोधमा बोले । यद्यपि २३ मईमा जब चुनावी परिणाम घोषणा भयो र मोदीले भारी बहुमत हासिल गरे तब अजयले ट्विटरमा लेखे, ‘मानिसहरू थाहा छ कि उनीहरूका लागि के सही हो । उनीहरूले नरेन्द्र मोदीलाई मन पराए ।’