पाँचौं विश्वकपदेखि खलबलिएको विश्वकप आयोजना वर्षलाई चार–चार वर्षको अन्तरालमा मिलाउनका लागि पहिलो विश्वकप भएको वर्ष सन् १९७५ लाई आधार मानेर सातौं विश्वकप छैटौं विश्वकप भएको तीन वर्षमै सन् १९९९ मा आयोजना गरियो ।
यसै विश्वकपदेखि विश्वकपलाई कुनै खास व्यवसायिक संस्थाको ठाउँमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) आफैंले आयोजना गर्ने निर्णय ग¥यो र यो विश्वकपदेखि विश्वकप क्रिकेटलाई आईसीसी विश्वकप भन्न थालियो । यो विश्वकपको मुख्य आयोजक इंग्ल्यान्ड भए पनि स्कटल्यान्ड, आयरल्यान्ड, वेल्स र नेदरल्यान्ड सह–आयोजक थिए । एसोसिएट राष्ट्र भए पनि स्कटल्यान्ड पहिलो पटक विश्वकपको सहआयोजक हुन पुग्यो । यो विश्वकपमा ९ पूर्ण सदस्य सहित ३ एसोसिएट राष्ट्रहरूसहित १२ वटा देश सहभागी थिए भने कुल ४२ खेल भएका थिए । सन् १९९७ को आईसीसी ट्रफीमा उत्कृष्ट प्रदर्शन गर्ने केन्या, स्कटल्यान्ड र बंगलादेशले एसोसिएट राष्ट्रका रूपमा भाग लिएका थिए । यो विश्वकपका लागि सहभागी टोलीलाई दुई समँहमा विभाजन गरि शिर्षस्थ तीन टोली सुपर सिक्समा पुग्ने र त्यसैबाट सेमिफाइनलका लागि छान्ने नयाँ ढाँचा बनाइएको थियो ।
यो विश्वकपमा पाकिस्तानका सईद अनवर तथा भारतका राहुल द्रविडको दुई–दुई शतक सहित कुल ११ शतक बनेका थिए । यो विश्वकपका म्यान अफ दि सिरिज दक्षिण अफ्रिकाका लान्स क्लुजनर छनौट भएका थिए । भारतका राहुल द्रविडले सर्वाधिक ४ सय ६१ रन बनाएका थिए भने न्युजिल्यान्डका ज्योफ एलोट र अस्ट्रेलियाका शेन वार्नले समान रुपमा सर्वाधिक २० विकेट लिएका थिए ।
समूह ए बाट दक्षिण अफ्रिका, भारत र जिम्बावे तथा समूह बी बाट पाकिस्तान, अस्ट्रेलिया र न्युजिल्यान्डले सुपरसिक्समा प्रवेश गरेका थिए । सुपर सिक्स चरणबाट पाकिस्तान, अस्ट्रेलिया, दक्षिण अफ्रिका र न्युजिल्यान्ड सेमिफाइनलमा पुग्न सफल भए । सेमिफाइनलमा पाकिस्तानले न्युजिल्यान्डलाई ९ विकेटले हरायो भने अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकिएपनि (समान २१३ रन) सुपर सिक्समा दक्षिण अफ्रिकाभन्दा अगाडि भएका कारण अर्थात् सुपर रनरेटका आधारमा अस्ट्रेलिया फाइनलमा प्रवेश ग¥यो । दक्षिण अफ्रिका फेरि एक पटक अभागी साबित भयो । फाइनल खेलमा पाकिस्तानलाई ८ विकेटले हराई अस्ट्रेलिया दोश्रो पटक च्याम्पियन भयो । यसअघि समूह चरणमा पाकिस्तानले अस्ट्रेलियालाई १० रनले हराएको थियो ।
यो विश्वकपका लागि ड्युक नामक क्रिकेट बल प्रचलनमा ल्याइएको भए पनि कडा एवं बढी स्पिन हुने गरेकाले आलोचित भयो । यसै विश्वकपदेखि बीबीसी टेलिभिजनले पहिलो पटक क्रिकेट म्याच लाइभ प्रसारण गरेको थियो ।