साप्ताहिक संवाददाता
यहि जेठको २५ गते हुन लागेको चलचित्र कलाकार संघको साधारण सभामा अध्यक्ष पदका लागि उम्मेदवारी दिएकी छन् । कलाकार सरिता लामिछानेले मंलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै आफ्ना एजेन्डाहरु सार्वजनिक गरेकी छिन् । उनले पत्रकार सम्मेलनमा पछिल्लो समय आफ्नो जीवनमा घट्दै आएका विभिन्न घटनाक्रमलाई पनि प्रस्तुत गरेकी थिईन् ।
यस अघि कलाकार संघमा महासचिव भएर काम गरिसकेकी लामिछानेले अध्यक्ष पदमा उम्मेलवारी दिएपछि उनी कलाकारनै होईनन् भनेर उजुरी परेको थियो । सो उजुरीपछि यस अघिनै हुने भनिएको कलाकार संघको चुनाव स्थगीत भएको थियो । उक्त उजुरी माथि पटक पटक बहस भएर कानुनी रुपमै उनी कलाकार भएको प्रमाणित भएपछि पुनः सरिताले अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएकी हुन् ।
उक्त उम्मेदवारी पछि पनि आफू विभिन्न खाले मानसिक यातनाको सिकार हुनु परेको सरिताले बताएकी छिन् । २५ बर्ष भन्दा लामो समयदेखि कलाकारिता क्षेत्रमा लागेपनि आफूलाई गैह्र कलाकारको आरोप लगाइएको बिषयमा उनले मन दुखेको बताइन् । सरिताको प्रश्न थियो–‘नेपाल चलचित्र कलाकार संघको अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय लिएपछि मैले धेरै किसिमका धाकधम्की र वेइजती सहिरहनु परेको छ । अझ विभिन्न घटनाक्रमहरुले आफ्नो ज्यान नै असुरक्षित भएको महसुस गर्न थालेकी छु ।’
उनले आफूलाई गैह्र कलाकार भन्नेहरुलाई उनले प्रश्न गरेकी छिन्–‘तीन बर्ष महासचिव म के हैसियतले भएँ ? देश वा विदेशमा जाँदा मलाई तमाम नेपालीहरुले सरिता लामिछाने भनेर के आधारमा चिन्नुहुन्छ, म ती मुद्दावालाहरुलाई सोध्न चाहन्छु ।’ उनले चुनावमा हार वा जीत हुने भन्दै आफ्नो प्रतिस्पर्धा गर्न पाउने अधिकार कसैले पनि खोस्न नपाउने बताइन् ।
यस्तै, आफ्नो एजेन्डा सार्वजनिक गर्दै सरिताले चलचित्र कलाकार संघको आफ्नै भवन निर्माण गर्ने बताइन् । उनले भनिन्–‘मलाई भोलीका दिनमा काम नै गर्न दिइएन भने म पत्रकारहरुको अगाडि नै आएर माफी माग्नेछु । तर, मैले काम गर्ने वातावरण पाएको खण्डमा चलचित्र संघको आफ्नै भवन हुनेछ ।’ यस्तै, उनले चलचित्र क्षेत्रमा नयाँ र पुराना कलाकारलाई मिलाएर लैजाने पनि बताइन् । सरिताले कलाकारहरुका लागि पेन्सनको पहल गर्ने समेत एजेन्डा अगाडि सारेकी छिन् ।
सरिताको पत्रकार सम्मेलनमा नायिकात्रय गौरी मल्ल, करिश्मा मानन्धर र रेखा थापा उपस्थित थिए । तिनै जना नायिकाले सरितालाई साथ दिन आग्रह गरे ।
सरितालाई साथ दिनका लागि आएकी नायिका गौरी मल्लले चलचित्र कलाकार संघमा यस्तो अवस्था आउनु आफैमा दुखद कुरा भएको बताइन् ।
नायिका करिश्मा मानन्धरले महिलो नेतृत्व कलाकार संघमा आउन लागेको भन्दै सबैलाई साथ दिन आग्रह गरिन् ।
नायिका रेखा थापाले चलचित्र क्षेत्रमा महिलामाथि विभेद भएको भन्दै यसका लागि महिला नेतृत्व आउनपर्ने बताइन् । जेठ २५ गते आयोजना हुन लागेको चलचित्र कलाकार संघको निर्वाचनमा सरिताको प्रत्याशी उम्मेदवारको रुपमा कलाकार रविन्द्र खड्काले उम्मेदवारी दिएका छन् ।