साप्ताहिक संवाददाता
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हुवावेका उत्पादन तथा टेलिकम्युनिकेसन उपकरणमाथि प्रतिबन्ध लगाएपछि यसका बारेमा विभिन्न प्रतिक्रिया आइरहेका छन् । अमेरिकाको राष्ट्रिय सुरक्षामा खतरा पुग्ने भनी लगाइएको उक्त प्रतिबन्धपश्चात् विभिन्न कम्पनीले हुवावेसँग सहकार्य नगर्ने घोषणासमेत गरेका छन् ।
सबैभन्दा पहिले गुगलले हुवावेका डिभाइसमा आफ्नो एन्ड्रोइड अपरेटिङ सिस्टमको सपोर्ट बन्द गर्ने घोषणा गर्यो । गुगलले एन्ड्रोइडको अफिसियल साइटबाट हुवावेका फ्ल्यागसिप स्मार्टफोन पी ३० प्रो तथा मेट एक्सलाई समेत हटाएको छ । ती स्मार्टफोलाई वेबसाइटको ‘लेटेस्ट एन्ड ग्रेटेस्ट’ सेक्सनमा स्थान दिइएको थियो ।
त्यसैगरी माइक्रोसफ्टले आफ्नो अनलाइन स्टोरबाट हुवावेका ल्यापटप हटाएको छ भने चिप निर्माता कम्पनी इन्टेल, क्वालकम तथा एएमडीले समेत हुवावेका लागि आफ्ना उत्पादन उपलब्ध गराउन बन्द गर्ने घोषणा गरेका छन् ।
अहिले वाइफाई स्ट्यान्डर्ड निर्धारण गर्ने संगठन वाइफाई एलाइन्सले समेत अस्थाई रूपमा हुवावेको सदस्यता स्थगित गरेको छ भने मेमोरी कार्डको स्ट्यान्डर्ड निर्धारण गर्ने संगठन एसडी एसोसिएसनले समेत हुवावेमाथि प्रतिबन्ध लगाएको छ । यसको अर्थ अब हुवावेका स्मार्टफोन तथा ल्यापटपमा आधिकारिक रूपमा एसडी र माइक्रो एसडी कार्ड प्रयोग गर्न सकिने छैन ।
अब हुवावेका नयाँ मोबाइल वा ल्यापटपजस्ता डिभाइसमा विभिन्न सफ्टवेयरको सपोर्ट हुनेछैन । यसका कारण हुवावेलाई निकै असर पुग्ने पक्का छ । यद्यपि पुराना र पहिले नै उत्पादन भैसकेका हुवावेका डिभाइसमा भने ती सफ्टवेयर प्रयोग गर्न सकिनेछ, तर आगामी दिनमा नयाँ अपडेट हुने सफ्टवेयर भने प्रयोग गर्न सकिने छैन ।