साप्ताहिक संवाददाता
प्रत्येक वर्ष वैशाख र जेठ महिनामा वर्षकै सबैभन्दा बढी चलचित्र फ्लोरमा जान्छन् । लामा दिन, उच्च हिमाली क्षेत्रको मौसमसमेत सफा हुने तथा पानी नपर्ने भएकाले यी दुई महिना अन्य महिनाको तुलनामा बढी चलचित्र छायांकनमा निस्कन्छन् ।
यो वर्ष पनि केही चलचित्र फ्लोरमा गैसकेका छन् । अशोक शर्माको रातो टीका निधारमा, दीपकराज गिरीको छ माया छपक्कैसहित करिब आधा दर्जन चलचित्र अहिले छायांकनमा छन् । अचम्मको कुरा के छ भने अघिल्लो वर्ष यही महिनामा करिब तीन दर्जन चलचित्र छायांकनमा गएका थिए ।
यो वर्ष उक्त संख्यामा झन्डै ७५ प्रतिशतले कमी आएको छ । यो वर्ष कम चलचित्र छायांकनमा निस्कनुको कारण के हुन सक्छ ? निर्माता तथा निर्देशक रोज राणाले यसको कारण प्रस्तुत गरेका छन् । राणाका अनुसार पछिल्लो एक वर्षमा करिब ९० प्रतिशत चलचित्र असफल भए । एकपछि अर्को चलचित्र असफल भएपछि निर्माताहरू चलचित्रमा लगानी गर्न डराइरहेका छन् ।
दोस्रो कारण हो चलचित्रका कलाकारले माग्ने चर्को पारिश्रमिक । चलचित्र निर्माता संघका महासचिव राणाका अनुसार कलाकारको बढ्दो पारिश्रमिककै कारण कम चलचित्र निर्माण हुन थालेका हुन् । ‘अहिले एउटा चलचित्र निर्माण गर्न पुग्ने बजेट एउटै कलाकारलाई दिनुपर्ने अवस्था छ, राणाको प्रश्न छ– ‘अनि कसैले किन चलचित्रमा लगानी गरोस् ?’