साप्ताहिक संवाददाता
तत्कालिन गोर्खाका राजा पृथ्वीनारायण शाहले नेपाल एकिकरणको दौरान अठारौं शताब्दीको पूर्वार्द्धमा कीर्तिपुरमा गरेको आक्रमण विषयबस्तुमा बनाइएको ऐतिहासिक नेपाली चलचित्र ‘कीर्तिपुरः द लिजेन्ट अफ कीर्तिलक्ष्मी’ को सार्वजनिक प्रदर्शन असार १३ गतेदेखि प्रारम्भ हुने भएको छ ।
प्रदीप खड्गी यो चलचित्रका निर्देशक हुन् । फोकस पिक्चर्सको ब्यानरमा ५ वर्षअघि देखि नै निर्माण थालिएको यो चलचित्र लामो समयको प्रतिक्षापछि दर्शकमाझ आउन लागेको हो ।
‘ऐतिहासिक चलचित्र बनाउने वर्षौंको सपना अब साकार भयो । आफु कीर्तिपुरबासी भएकै नाताले पनि रहस्यको गर्बमा रहेको कीर्तिपुर आक्रमण घटनालाई चलचित्रकरण गर्न सफल भएकोमा उत्साही छु, चलचित्रका युवा निर्देशक प्रदीप खड्गीको भनाइ छ ।
साहित्यकार बासु पासाद्वारा लिखित ‘भैरवसिंह’ नामक उपन्यासमा आधारित चलचित्र ‘कीर्तिपुर’ मा विगत ८ वर्ष देखिको अध्ययन र सम्बन्धित व्यक्तित्वसँगको समन्वयमा निर्माण गरिएको चलचित्र हो ।
कला निर्देशक केके माननधरका अनुसार चलचित्रमा पुरानै जीवनशैली, भौतिक संरचना तथा परिवेश सन्तुलित गर्नको लागि निर्माण अवधि लामो हुन गएको हो । पछिल्लो समयमा उत्कृष्ट ऐतिहासिक चलचित्र निर्माण गर्न भिज्यूअल इफेक्ट अनिवार्य प्रायः छ ।
तत्कालिन अवस्थाको पुरानै शैली यो चलचित्रमा प्रस्तुत गर्ने काम विदेशी अंग्रेजी चलचित्रमा आवद्ध भएर काम गर्दै आउनु भएका भीएफएक्स सुपरभाइजर सन्तोष केसीले गर्नुभएको छ ।
चलचित्रको मूख्य भूमिकामा हिसिला महर्जन, यशराज गराच, मदनदास श्रेष्ठ, सुशिल राजोपाध्याय, लक्ष्मी गिरी, सूरवीर पण्डित आदि कलाकारहरु प्रस्तुत भएका छन् ।र
चलचित्रमा विरेन्द्र ताम्राकार कार्यकारी निर्माता, प्रेम खड्गी तथा अनन्त श्रेष्ठ निर्माता हुन् । शंकर महर्जन र नविन जोशीले चलचित्रको छायाकन गर्नु भएको हो ।
निर्देशक खड्गीका अनुसार केही वर्षअघि नै प्रदर्शन हुने पर्ने यो चलचित्रलाई राजनीतिक अस्थिरताका कारण विगतमा गृह मन्त्रालयले प्रदर्शनको अनुमति दिएको थिएन ।
राजा पृथ्वीनारायण शाहको नेपाल एकिकरणका क्रममा भएका घटनाक्रमलाई प्रभावशाली ढंगले चित्रण गरिएको यो चलचित्रलाई अहिले आएर गृह मन्त्रालयले पनि प्रदर्शनको अनुमति दिएको निर्देशक खड्गी बताउँछन् ।
सेन्सर बोर्डले यो चलचित्रलाई यूनिभर्सल सर्टिफिकेट दिएको छ ।