कान्तिपुर सहरमा थुप्रै थकाली भान्छाघर खुलेका छन्, तर दाल–भात ख्वाउने सबै भान्छाघर आधिकारिक हिसाबले थकाली हुँदैनन् । आधिकारिक थकाली खाना र खाजा ख्वाउने भान्छाघर थोरै छन् कान्तिपुरमा ।
कान्तिपुर नेपालको राजधानी सहर मात्र नभएर एक प्रकारको आकर्षण हो । यो सहर नभएर उत्सव हो । परापूर्वकालदेखि यहाँ रहँदै–बस्दै आएका मानिसको आँखामा सधैं उमंगको ज्योति नाचिरहेको देखिन्छ । यहाँका मानिस भौतिक दुःखमा पनि रमाउँछन् र सुखमा पनि खुसी हुन्छन् । कान्तिपुर जात्रा मात्र होइन । यो प्रत्येक नेपालीका लागि उत्सवमय अवसर हो । ती नेपाली, जो अवसरको खोजीमा कान्तिपुरमा सहर भित्रिए, ती फर्किएर गएनन् । यहाँको तातो–चिसो तापक्रममा तात्दै, चिसिँदै र तात्दै ती यहींका आदिवासी भए । ती यहीं जन्मिए । यहीं मरे । फेरि, यहीं जन्मिए । सांस्कृतिक हिसाबले हेर्ने हो भने हामी एउटै धरातलमा उभिएका छौं । ललितपुरका राजा योगनरेन्द्र मल्लको सालिकको टाउको माथि उभ्याइएको चरो अहिलेसम्म पनि उडेको छैन । हामी सबैलाई थाहा छ, त्यो चरो कहिल्यै उड्दैन, तर देशमा त्यस्ता बित्पाते मानिसको पनि कमी छैन जो त्यो चरोलाई आकस्मिक उडाएर युरोप वा अमेरिकाको सयर गराउने र धनकमाउने ‘सुअवसर’ को खोजीमा छन् ।
कान्तिपुर सहरले बाहिरबाट आएका मानिसले ल्याएका कुनै पनि चलन, संस्कार, आनीबानी एवं सभ्यतालाई आत्मसात् गर्यो । देश सामाजिक तथा राजनीतिक हिसाबले खुला भैसकेपछि कान्तिपुर उपत्यकाले विशेष गरेर खानेकुरा र खानेकुरासँग सम्बन्धित ज्ञानको स्वागत गर्यो । उपत्यकामा ममचा थियो । त्यसको व्यवसायीकरण भयो । अहिले कान्तिपुरका कुनै गल्ली त्यस्ता नहोलान् जहाँ ममचा पसल नहोस् । ममचाका रूपहरू बदलिएका छन् । यसका किसिमहरू फरक छन् । आकार र नाम पनि फरक छन्, तर त्यो स्वाद नेपाली छ, नेपाली मनजस्तै । यस्तै अरू पनि खाना पाइन्छ सहरमा । तीमध्ये धेरै हराउन थालेका छन् भने धेरै देखिन पनि थालेका छन् । बारा, चटामरी, आलुतामा, सिम्पुजस्ता लोकप्रिय खानाहरू हराइसकेका छैनन् । ती परिकारको आधुनिकीकरण गर्नेतिर ध्यान दिने हो भने निश्चय पनि नेपाली परिवेश फराकिलो हुनेछ ।
पछिल्लो दशकमा कान्तिपुरमा लोकप्रिय भएको खाना हो— थकाली । थकाली खानामा विशेष आकर्षण छ । हिमालको काखमा आनन्दका साथ बसेका थकाली समुदायको विशेषता दाल–भातमा छ । कान्तिपुर सहरका बासिन्दाको मात्र होइन, मेचीदेखि महाकालीसम्म, देशका सातै प्रदेशका मानिसको स्वादमा टक बसेको खाना हो थकाली । खानामा दाल–भातलाई सजाउने कला थकालीबाट नै सिक्न सकिन्छ । तरकारी र अचारको विविधता थकाली भोजनको सुन्दर पक्ष हो ।
कान्तिपुर सहरमा थुप्रै थकाली भान्छाघर खुलेका छन्, तर दाल–भात ख्वाउने सबै भान्छाघर आधिकारिक हिसाबले थकाली हुँदैनन् । आधिकारिक थकाली खाना र खाजा ख्वाउने भान्छाघर थोरै छन् कान्तिपुरमा । यो अभावलाई पूरा गर्न र कान्तिपुर निवासीलाई थकाली खानाको स्वाद चखाउन पोखराका केही व्यवसायी सहर पसेका छन् । ‘क्रसरोड’ थकाली भान्छाघरले पोखरामा नाम कमाइसकेको छ । चिप्लेढुंगा र लेकसाइडमा थकाली भान्छाघरको सफल सञ्चालनपछि कान्तिपुरमा एक महिनाअघि खोलिएको यो नयाँ आउटलेटले गति लिंदैछ । कुलरत्नमार्ग, कमलादीमा थकाली भान्छाघरसम्म पुग्ने बाटो अलिकति अप्ठेरो हुन सक्छ, तर गुगल नक्साले ठाउँ ठम्याउन सहायता गर्छ । कमलादी कान्तिपुरको बिजनेस डिस्ट्रिक्ट हो । यो हिसाबले पनि थकाली भान्छाघर व्यवसायिक बिन्दुमा छ ।
थकाली भान्छाघरले आफ्नो स्वास्थ्यको चासो राख्ने अहिलेको पुस्ताका लाागि उपयोगी परिकारको व्यवस्था गरेको छ । यसको एउटा रोचक प्रस्तुति हो : तीन थरी खाजा सेट । फापरको रोटीका यी खाजासेट सस्ता एवं स्वास्थ्यवर्द्धक छन् । पहिलो खाजा सेटमा दुईवटा फापरको रोटी, आलु साँधेको, भुटुवा, गोलभेंडाको चटनी, अचार तथा सलाद हुन्छ । यसको मूल्य पर्छ २ सय २५ रुपैयाँ । दोस्रो सेटको मूल्य ३ सय ५० रुपैयाँ छ । यसमा फापरको रोटीका साथमा आलु तारेको र मसरुम चिल्ली दिइन्छ । तेस्रो सेटमा फापरको रोटी, कुखुराको मासु, ‘ङोशेल’ (राइस नुडल्स) दिइन्छ । यसको मूल्य ३ सय रुपैयाँ पर्छ । ङोसेल सागमा मिसाएर दही, टिम्बुर तथा चूक हालेर बनाइन्छ ।
थकाली खानाका सौखिन र यसमा रुचि राख्नेहरूका लागि थकाली भान्छाघरले ‘खा ढुंग’ ख्वाउँछ । खा ढुंग खसीको आन्द्रामा रगत, कलेजो, फोक्सो इत्यादि भरिएको ससेजजस्तै खाना हो । थकालीहरूले फागु पूर्णिमाका अवसरमा टिम्बुरको छोपमा चोपेर खान्छन् खा ढुंग । यसको मूल्य छ ३ सय ५० रुपैयाँ । थकाली भान्छाघरमा पाइने अर्को परिकार हो— ‘अलान्खू’ । यो भेजिटेबल सुपमा फापरको डम्पलिङ्ग हुन्छ । यसको मूल्य पर्छ २ सय रुपैयाँ । थकाली भान्छाघरको अर्को प्रस्तुति हो, ‘खिङ्गाप्ला’ । थकाली भाषामा ‘प्ला’भनेको तरकारी हो । दुर्गम लेकमा पाइने मेथीको सागबाट बन्ने यो स्वास्थ्यवर्द्धक तरकारीको मूल्य राखिएको छ २ सय ५० रुपैयाँ । ‘रा स्याप्ला’थकाली भान्छाघरको अर्को परिकार हो । खसीको सुकुटीको तरकारी र भात यहाँको विशेष परिकार हो । यसको मूल्य पर्छ ५ सय ५० रुपैयाँ ।
थकाली भान्छाघर खाजा पसल मात्र होइन, यहाँ मानिसहरूले आफूलाई मनपर्ने मदिरा पिउन सक्छन्, बियरको आनन्द लिन सक्छन् । भान्छाघर फराकिलो छ । भित्रबाहिर गरेर सय जना मानिसलाई थकाली भोजनको स्वाद चखाउन सक्छ भान्छाघरले । थकाली खानामा एउटा बिशेष आइटम हुन्छ चेली सेट । परिवार सहित भोजनका लागि भान्छाघर जानेहरूका लागि चेली सेट सर्वोत्तम चयन हुनेछ ।