साप्ताहिक संवाददाता
अभिनेता आमेश भण्डारी तथा अभिनेत्री नीता ढुंगानालाई कुनै बेला रोमान्टिक जोडीका रूपमा चिनिन्थ्यो । दुवैले आफ्नो प्रेमलाई विवाहको स्वरुप दिने घोषणासमेत गरेका थिए । यद्यपि, उनीहरूको प्रेम सम्बन्धले निरन्तरता प्राप्त गर्न सकेन । उनीहरूले सामाजिक सञ्जालमार्फत नै ब्रेकअप गरेको घोषणा गरे ।
दिनेश डिसीको चलचित्र फूलै फूलको मौसम तिमीलाईको छायांकनका क्रममै उनीहरूबीच ब्रेकअप भएको थियो । साधारण प्रेमी–प्रेमिकाझैं आमेश र नीताले पनि ब्रेकअपपछि एक–अर्काको अनुहार हेर्न चाहेनन् ।
सामाजिक सञ्जालमा एक–अर्कालाई ब्लक गरे । आजका मितिसम्म उनीहरू सिंगल नै छन् । यसबीच उनीहरूको जोडीलाई एक जना गायकले पुनः ब्यूँत्याउने प्रयास गरेका छन् । ब्रेकअपपछि नै नयाँ चलचित्रमा नदेखिएको उक्त जोडी लामो समयपछि एउटै म्युजिक भिडियोमार्फत प्रस्तुत भएको छ ।
गायक जितु श्रेष्ठ तथा गायिका अनु अधिकारीको ‘बेइमानी...’ गीतमार्फत आमेश र नीताबीच अनस्क्रिन रोमान्स गराइएको हो । उक्त गीत सार्वजनिक भएसँगै उनीहरूबीच प्याचअप भएको चर्चासमेत चलेको छ । यद्यपि दुवैले एक–अर्कालाई असल साथी मात्र बताइरहेका छन् । उक्त गीतपछि नीता र आमेशलाई चलचित्रमा अभिनय गराउन इच्छुक निर्माता–निर्देशकहरूका लागि बाटोसमेत खुलेको छ ।