महिलामा भियाग्राको प्रयोग औषधी बनाउने कम्पनीहरूकै संलग्नतामा गरिएको एक अध्ययनले केही सकारात्मक कुरा देखाएका छन्, तर त्यसको निष्पक्षतामा स्वभाविक रूपमै प्रश्न उठ्ने भयो, त्यसैले अहिले ती अध्ययनले देखाएका सबै कुरामा विश्वास गरिहाल्नुपर्ने स्थिति छैन । यौनसम्पर्क गर्दा वा चलाएर उत्तेजित पार्दा योनि, भगोष्ठ तथा भगाङुरको संवेदनशीलतमा कुनै परिवर्तन आउँछ कि आउँदैन भन्ने कुरा केही अध्ययनमा हेरिएको थियो ।
भियाग्रा के हो र यसले कसरी काम गर्छ ? पुरुषको यौन जीवनमा यसको के महत्व छ ? यदि पुरुषका लागि भियाग्रा हो भने महिलाको यौनचाहना जगाउने औषधी के होला ?
- डी.अ.
यौनेच्छाको सञ्चालन
यौनचाहना मानवजीवनको अभिन्न पाटो हो । यौनसम्पर्क गरेर वंशजलाई निरन्तरता दिनुजस्तो प्राकृतिक नियमको पालना गर्नु मानवको दायित्व हो, तर अहिले पहिलेको जस्तो वंश निरन्तरताका लागि धेरै सन्तान जन्माउनुपर्ने आवश्यकता छैन, त्यसैले यौनसम्पर्कको प्रयोग यौन आनन्दका लागि निकै हुन थालेको छ ।
मोटामोटी रूपमा हेर्दा यौनेच्छाको सञ्चालनमा विभिन्न प्रणाली सक्रिय हुन्छन् । एक त endocrine system अन्तर्गतका रागरसहरूले त्यसमा महत्वपूर्ण भूमिका खेल्छन् भने अर्कातिर इन्द्रिय प्रणालीका साथमा स्नायुप्रणालीले । यौनेच्छा जाग्ने (विकसित हुने) वा त्यसको व्यग्रतामा रागरस अर्थात् हार्मोनको महत्वपूर्ण भूमिका हुन्छ । यौन क्रियाकलापले भन्दा पनि टेस्टेस्टेरोनले यौनेच्छा वा यौन व्यग्रतालाई बढी प्रभाव पारेको हुन्छ । महिलामा पनि टेस्टेस्टेरोनले नै यौनेच्छा वा यौन व्यग्रताका लागि महत्वपूर्ण भूमिका खेल्छ ।
भियाग्रा र यसको कार्य
भियाग्रामा सिल्डेनाफिल साइट्रेट (Sildenafil citrate) नामको रसायन हुन्छ । यो लिङ्गको उक्तेजनामा कठिनाइ हुने व्यत्तिको उपचारका लागि प्रयोग गरिन्छ । पुरुषमा पाइने समस्यामा यो वरदान नै सावित भएको छ । बुझ्नुपर्ने कुरा के छ भने यो औषधी यौन इच्छा वा क्षमता वृद्धि गर्ने (aphrodisiac) वा हार्मोनयुक्त औषधी होइन, त्यसैले यसले लिङ्ग उत्तेजनासम्बन्धी सबै समस्या समाधान नगर्न सक्छ । यही सन्दर्भमा के पनि भनौं भने यो औषधी खाँदैमा स्वःस्फूर्त रूपमा अर्थात् आफसे आफ लिङ्ग उत्तेजित हुने होइन । यदि कुनै पुरुष यौन उत्तेजित हुन पुगे लिङ्गमा रगत भरिने क्रम सामान्य अवस्थाको तुलनामा भन्दा बढी हुन्छ । त्यसैले लिङ्गमा राम्रोसँग उत्तेजना आउँछ । यौनसम्पर्क पछि लिङ्ग पुनः पुरानै अर्थात उत्तेजित नभएको अवस्थामा फर्कन्छ ।
हृदयरोग भएका व्यक्तिहरूले बढी शारिरीक परिश्रम गर्नुपर्ने स्थिति जस्तै यौनसम्पर्क राख्दा पनि विशेष ध्यान पुर्याउनुपर्ने हुन्छ । विशेष गरेर हृदयरोगका लागि nitratre भएका औषधी प्रयोग गर्ने व्यक्तिले यो औषधीको प्रयोग गर्नु हुँदैन । अचानक रक्तचापमा कमी भएर ज्यानमै खतरा पनि हुनसक्छ । हृदयरोग, रक्तचाप, कलेजो वा मृगौलासम्बन्धी खराबी भएका व्यक्तिहरूले विशेष गरेर यो औषधीको सेवन गर्नुअघि सावधानी अपनाउनुपर्छ । यो औषधी त्यसै बजारबाट किनेर खानु हुँदैन, चिकित्सकसँग सल्लाह गरेर उनकै सल्लाहमा मात्र प्रयोग गर्नुपर्छ ।
प्रयोगकर्तामध्ये कतिपयलाई टाउको दुख्ने, अनुहार रातो भएर आउने तथा पेटमा गडबडी हुने जस्ता असर देखा पर्न सक्छन् । कसैकसैमा नीलो र हरियो रंग छुट्ट्याउन नसक्ने, प्रकाशसंग बढी संवेदनशील हुने तथा धमिलो देखिने जस्तो समस्या हुन सक्छ । अति विरलै हुने भए पनि कसै कसैमा लिङ्गको उत्तेजना भए पनि पुरानै अवस्थामा नफर्किएर उत्तेजित अवस्थामै रहने हुनसक्छ । यदि चार घण्टासम्म पनि यस्तो भए तुरुन्तै चिकित्सकको मद्दत लिनुपर्ने हुन्छ अन्यथा लिङ्गमा स्थायी रूपमै खराबी देखा पर्न सक्छ ।
महिलामा भियाग्राको प्रयोग
औषधी बनाउने कम्पनीहरूकै संलग्नतामा गरिएको एक अध्ययनले केही सकारात्मक कुरा देखाएका छन्, तर त्यसको निष्पक्षतामा स्वभाविक रूपमै प्रश्न उठ्ने भयो, त्यसैले अहिले ती अध्ययनले देखाएका सबै कुरामा विश्वास गरिहाल्नुपर्ने स्थिति छैन । यौनसम्पर्क गर्दा वा चलाएर उत्तेजित पार्दा योनि, भगोष्ठ तथा भगाङ्कुरको संवेदनशीलतमा कुनै परिवर्तन आउँछ कि आउँदैन भन्ने कुरा केही अध्ययनमा हेरिएको थियो । यौन उत्तेजनामा समस्या हुने कतिपय महिलामा यसले फाइदा पुगेको पाइयो । महिलाको भगाङ्कुर लगायत यौनाङ्गमा बढी रगत भरिने र तुलनात्मक रुपमा सजिलै चरमसुख पाएको कुरा अध्ययनहरूले बताउँछन् । यौनेच्छा नै कम (Hypoactive Sexual Desire Disorder) भएका महिलामा त्यसको एकदम कम प्रभाव परेको देखियो । भावनात्मक वा मनोवैज्ञानिक कारणले यौन समस्यामा परेका महिलाहरूलाई यसबाट कमै फाइदा पुग्ने देखिन्छ । अर्को कुरा, Sildenafil citrate औषधीको अल्पकालीन वा दीर्घकालीन प्रभावका बारेमा महिलामा पुरुषको तुलनामा एकदमै कम अध्ययन भएकाले यसै भन्न सकिने स्थिति छैन ।
महिला भियाग्राको कुरा
बोलिचालीमा वा भनौं सञ्चारमाध्यममा महिला भियाग्रा भनिए पनि यो भियाग्रा भन्दा फरक किसिमको औषधी हो । प्रयोगका लागि सन् २०१५ अनुमति पाएको यो औषधीमा मुख्यतःflibanserin हुन्छ । यो अमेरिकामा Addyi व्यापारिक नाममा उपलब्ध छ ।
यो औषधी विशेष गरेर महिलामा जथउय(hypo-active sexual desire disorder]को उपचारमा प्रयोग गरिन्छ । भियाग्राको प्रभाव लिङ्गमा रगत भरिने किसिमको हुन्छ भने flibanserin को प्रभाव मानसिक । यो औषधीको प्रयोग गर्ने महिलाहरूले यौनेच्छा तथा यौन सुखमा वृद्धि भएको कुरा उल्लेख गरेका छन् तर यो औषधीको प्रयोगका कारणले नै यौन कार्यसम्पादनमा सुधार आएको भने देखिएको छैन । निराशा कम गर्ने औषधी खाइरहेका महिलामा यसको प्रभाव अरूको तुलनामा बढी परेको पाइन्छ । यसका पनि कतिपय नकारात्मक असर हुन्छन्, जस्तै : रिँगटा लाग्नु, झुम्म पर्नु, वाक्वाकी लाग्नु, थकाइ लाग्नु, निद्रा नलाग्नु, मुख सुक्नु, रक्त चाप कम हुनु, बेहोस हुनु आदि ।