पछिल्लो केहि दिनदेखि चलचित्र कलाकार संघका सदस्यहरुलाई निर्वाचनले मज्जाले छोएको छ । बागबजार, पुतलीसडक, दरवारमार्ग, अनामनगर, बानेश्वर लगायत कलाकारहरुको भिडभाड हुने स्थानका क्याफेहरुमा अहिले भोट माग्ने देखि आफ्ना पक्षका उमेद्धारलाई जिताउनुपर्छ भन्दै लागी परेको देखिन्छ ।
यहि जेठ २५ गते शनिवार हुन गैरहेको संघको निर्वाचनका लागी रविन्द्र खड्का र सरीता लामिछाने अध्यक्षको उमेद्धारको रुपमा उभिएका छन् । दुबै पक्षले बिभिन्न कारणले आफ्नो जित पक्का भएको दाबि गरेका छन् र आफुले जित्नुपर्ने भनिरहेका छन् ।
चुनावी सरगर्मी बढेसँगै कलाकारहरु पनि छुट्टिएका छन् । केहि दिनअघि अभिनेत्री सरीता लामिछानेले पत्रकार सम्मेलनको आयोजना गरेर आधिकारिक धारणा राखिन् भने अध्यक्ष पदका अर्का उमेद्धार रविन्द्र खड्काले आज मात्रै २१ बुँदे प्रतिवद्धता सार्वजनिक गरे ।
महत्वकाक्षी योजना
उमेद्धारको रुपमा उभिएका दुवै जनाले निकै महत्वकाक्षी योजना अगाडि सारेका छन् । उनिहरुका योजनामा यति धेरै महत्वका विषयहरु समेटिएका छन् की कार्यान्वयन हुनेमा शंका उत्पन्न हुन्छ । यसअघिका अध्यक्षहरुको कार्यकाल हेर्ने हो भने पनि चुनावमा अधिक धेरै तात्ने, सपना बाड्ने तर पछि कामबिहिन रुपमा कार्यकाल सकाउने प्रवृत्ती यो पटक दोहोरिन्छ की भन्ने संका समेत कतिपय कलाकारहरुमा छ । तर, उनिहरु दुवैले आफ्ना लक्ष र उदेश्य पुरा गर्ने प्रतिवद्धता भने सार्वजनिक गरेका छन् ।
आ–आफ्नै किसिमका प्रतिवद्धता
संघका उमेद्धार रविन्द्र खड्काले चलचित्र कलाकार संघको भवन निर्माण गर्नेदेखि कलाकारलाई पेन्सनको व्यवस्था गर्ने सम्मका प्रतिवद्धता सार्वजनिक गरे । उनले कलाकारको वर्गिय हक हित तथा सुरक्षा आफ्नो पहिलो प्राथमिकता रहेको बताए । उनले कलाकारको आर्थिक समृद्धीका लागि विशेष कार्यक्रम संचालन गर्ने, हालै सरकारले घोषणा गरेको समाजिक सुरक्षाको घेरामा कलाकारलाई ल्याउने, वृद्ध र अशक्त कलाकारको लागि आर्थिक स्तरोन्नतीको कार्यक्रमको पहल गर्ने समेत प्रतिवद्धता व्यक्त गरे । यस्तै, पुरानो पारिश्रमिकमा जिवन निर्वाह गरेकाहरुका लागि फरक किसिमको व्यवस्था गर्ने, कलाकर्मीहरुको वरिष्ठताक्रम निर्धारण गर्ने समेत उनले दाबी गरे । खड्काले कलाकार संघलाई सातै प्रदेशको पहुँचमा पुराउने समेत दाबि गरे । कलाकारीता क्षेत्रमा धेरै भाडभैलो भएका कारण म फेरी चुनावमा उठेको हुँ, अध्यक्ष भएर सबै मिलाउने काम समेत गर्नेछु ।
अभिनेत्री लामिछानेले चलचित्र कलाकार संघको आफ्नै भवन निर्माण गर्ने बताइन् । भोलीका दिनमा काम नै गर्न दिइएन भने पत्रकारहरुको अगाडि नै आएर माफी माग्नेछु, उनले भनिन्, ‘तर, मैले काम गर्ने वातावरण पाएको खण्डमा चलचित्र संघको आफ्नै भवन देख्न पाइनेछ ।’ उनले चलचित्र क्षेत्रमा नयाँ र पुराना कलाकारलाई मिलाएर लैजाने पनि बताइन् । उनले पेन्सनको योजना समेत अघि सारेकी छन् । उनले कलाकारहरुका लागि पेन्सनको पहल गर्ने समेत एजेन्डा अगाडि सारेकी छिन् । उनले आयोजना गरेको पत्रकार सम्मेलनमा अभिनेत्रीहरु गौरी मल्ल, करिश्मा मानन्धर र रेखा थापा समेत उपस्थित थिए । तिनै जना अभिनेत्रीहरुले सरितालाई साथ दिन आग्रह गरे ।
कस्ले जित्ला चुनाव ?
हल्लाकै आधारमा भन्नेहो भने यो चुनाव कस्ले जित्ला भनेर सहजै भन्न सकिन्न । दुवै पक्षलाई नजिकदेखि नियालेका एक अभिनेता भन्छन्, ‘अहिलेसम्म आधा–आधा जस्तै देखिएको छ । तर केहि दिनअघिसम्म सरीताको पक्षमा धेरै पटक थियो ।’ रवीन्द्र खड्का संस्थापक अध्यक्ष हुन् । सरीता यसअघिको चुनावमा महासचिवको रुपमा थिइन् । चलचित्र क्षेत्रका अब्बल एक निर्देशक भन्छन्, कलाकारहरुको समस्यामा सधै खड्का लागिरहेकाले यसपटक फेरी उहाँलाई नेतृत्व दिनुपर्ने बताउँछन् । उहाँ कलाकारहरुको हक–हितका लागी सधै बिहे–वर्तवन्धदेखि पशुपति आर्यघाटसम्म नियमित पुग्ने एक मात्रै कलाकार हो, उनले भने, ‘उहाँको पक्षमा अधिकांस पुराना कलाकारको साथ छ जस्तो देखिन्छ भने सरीताको पक्षमा केहि अभिनेत्री तथा अभिनेता र नयाँ कलाकारहरु देखिएका छन् ।’ तर उनले पनि कस्ले जित्छ चुनाव भन्ने दाबी गर्न सकेनन् ।
को कसको पक्षमा ?
कलाकारहरु खुलेरै भोट माग्न नहिडेपनि अप्रत्यक्ष रुपमा भोट मागिरहेका छन् । खुलेरै भोट माग्नेमा भने रविन्द्र खड्काको पक्षमा अभिनेता चेत राजा, रश्मी भट्ट, रेजीना उप्रेती, विनोद भट्टराई, चेत वहादुर सिंह, पन्ना अधिकारी, सुनील कटवाल, पवित्रा आचार्य लगायत छन् भने सरीताको पक्षमा अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह, करिश्मा मानन्धर, रेखा थापा, नीता ढुगांना, झरना थापा लगायत छन् । तिन बर्षको कार्यकाल रहेको संघको अध्यक्ष को हुन्छ ? त्यो भने २५ गतेनै थाहा हुनेछ ।