साप्ताहिक संवाददाता
माता पाथीभरा फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्र रेशको सार्वजनिक प्रदर्शन आज शुक्रबार प्रारम्भ हुँदैछ । हस्त लिबाङ मुख्य निर्माता रहेको यो चलचित्रलाई किशोर सुब्बाले निर्देशन गरेका हुन् । यो चलचत्रिमा नीता ढुंगाना, पुष्पा लिम्बू, शुलेमान शंकर इकु, किरण केसी, रवीन्द्र खड्का, सुभाष गजुरेल, हस्त लिवाङ, रविन लिवाङ, जियान तथा एजेश सैंजुले अभिनय गरेका छन् ।
चलचित्र रेशको ट्रेलर अघिल्लो साता सार्वजनिक भएको थिए । यो चलचित्रमा हरेक मानिसले देख्ने सपना तथा त्यो सपनालाई पूरा गर्ने क्रममा गर्नुपर्ने संघर्ष चित्रण गरिएको छ । यो चलचित्रले संघर्ष गर्दागर्दै कसैको सपना चाँडै पूरा हुने तथा कसैको ढिलो पूरा हुने सन्देश दिन खोजेको छ । आनन्द राईद्वारा संगीतबद्ध गीतहरू समावेश यो चलचित्रका गीतमा उदित नारायण झा, अञ्जु पन्त, सुजाता उपाध्याय, दीपराज नियोङहाङ, सञ्जित लामा तथा मन्दिल श्रेष्ठको स्वर सुन्न सकिन्छ ।
आनन्द अधिकारी, कृष्ण थापा तथा सञ्जित लामाले ती गीतहरू रचना गरेका हुन् । चलचित्र रेशमा गोविन्द राईको नृत्य निर्देशन छ भने शंकर महर्जनको द्वन्द्व निर्देशन छ । यो चलचित्रको छायांकन झापा, इलाम, मोरङ तथा दुबईमा गरिएको थियो । चलचित्रका निर्माताले यो चलचित्रमा करिब एक करोड रुपैयाँ लगानी भएको बताएका छन् ।